बामदेव गौतमको प्रेस नोट : ‘प्रधानमन्त्रीलाई त्यस्तो भनेको छैन’



१४ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाका उपाध्यक्ष बामदेव गौतमले आफ्नो प्रेस नोटमार्फत् आफू र प्रधानमन्त्री केपी शर्मा ओलीबीच बाहिर आएजस्तो कुनै संवाद नभएको दावी गरेका छन् ।

उनले आफूले दिएको सुझाव र सल्लाह भन्दा फरक ढंगले बाहिर समाचार सम्प्रेषण भएकोसमेत बताएका छन् । गौतमले आफूले पार्टी अध्यक्ष समेत रहेका केपी शर्मा ओलीलाई प्रधानमन्त्री र अध्यक्ष पद छोडेर बालकोटमा गएर बस्नु भन्ने शब्द नै प्रयोग नगरेको प्रेस नोटमा उल्लेख गरेका छन् ।

उनले दुवै अध्यादेश खारेज भएपनि बाहिर नकारात्मक प्रचार भएकाले यस विषयमा पार्टीभित्र छलफल गर्नु आवश्यक भएको सुझाव प्रधानमनत्रीलाई दिएको बताएका छन् ।

नेता गौतमले पछिल्लो समयमा जारी भएका दुई अध्यादेशलाई लिएर पार्टीभित्र र बाहिर सरकार र पार्टीका विषयमा धेरै प्रश्न उठेका र पार्टी कै नेताहरुले समेत स्थायी कमिटीको बैठक बोलाउन माग गरेकाले चाँडो बैठक डाक्न सुझाएको बताएका छन् ।

उनले पहिले सचिवालयमा छलफल गरी स्थायी कमिटी बोलाउने र त्यसमा पनि कुरा नमिले केन्द्रीय कमिटी बोलाउन प्रधानमन्त्रीलाई सुझाव दिएको दावी गरेका छन् ।

गौतम र ओलीबीच शनिबार (हिजो)को भेटघाटमा भनाभन भएको समाचारहरु मूलधारका सञ्चारमाध्यमले समेत लेखेका थिए ।

प्रतिक्रिया दिनुहोस्