रिस पनि कति उठ्छ के, आँखै नदेख्ने गरी !



रिस पनि कति उठ्छ के, आँखै नदेख्ने गरी !

हो…
मलाई साह्रै रिस उठछ !!!
कसैले आँखा तर्‍यो कि
कसैले तल झार्‍यो कि
रिस उठ्छ
मैले बोलेको बेला प्याच्च
कसैले भएन, मिलेन
भन्यो भने रिस उठ्छ
…जीको बङ्गारा झार्दिन मन लाग्छ
मलाई राजा हुँदैमा ठूलो भा’को पनि
मन पर्दैन
अनि
मलाई
झासेझुसे ठूलो भई टोपलेको पनि मन पर्दैन ।

मलाई कोही पनि जान्ने भा’को मन पर्दैन
जान्ने सबैको सेँखी झारिन्छ
त्यो होला पढ़ेको लेखेको जानेको
मैले त्यसलाई मान्नैपर्छ भन्ने छ ?
म आफ्नै सिद्धान्तमा हिँड्छु
मलाई अरु …जीहरुको बाल !
जसले मलाई गल्ती सुधार्न भन्छ
त्यसको गती म सुधारिदिन्छु
मैले त्यसको बाउको त कोइ खा छैन नी
त्यसले सक्छ भने मेरो ठाउँमा आएर
खाएर देखाओस् !
मलाई ह्यानत्यान भन्ने त्यो …जीले !
मलाई अति रिस उठ्छ
मलाई अति प्रतिशोध जाग्छ
बदला..
कुनै हालतमा बदला
त्यो …जीको करङ्ग नभाँचेसम्म
पटक्कै मन मान्दैन
मलाई हेप्ने ?
देख तँ …जीलाई के गराउँछु
…जी
होइन यार सायद
यो कुरा ती कुईरे अङ्गे्रजले उहिले बुझेरै
हामीलाई लडाइँको मैदानमा लगेका त होइनन् ?
हामी वीर गोरखा यहीँ रिसले भा’को त होइन ?
अँ मैले बुझें
त्यत्रो विक्टोरिया क्रस यहीँ रिसले पा’को त हानी ?
अहिलेसम्म ब्रिटिश
ईन्डियन आर्मीमा हामीलाई खोज्या छ !
सानो कुरा हो यो ?
साला गोराले उहिले बुझ्या रैछन्
र त
अहिले पनि भर्तीमा लग्छन्
के हामी अहिले पनि उस्तै छौं त ?
उनीहरुको नजरमा !
साला रिस पनि कति उठ्छ के
आँखै नदेख्ने गरी !
रिसले आफूलाई खा
बुद्धिले अरुलाई खा
सायद मेरी आमा ठीक भन्छिन्
हाम्रो देश रिसले खायो
प्रतिशोधले खायो
बदलाले सक्यो !

–आशीष अविरल

लेखक गायक तथा संगीतकासमेत हुन् ।
प्रकाशित मिती : १४ वैशाख २०७७

प्रतिक्रिया दिनुहोस्