बिन्ती कोसेली कोरोना नलिएर आऊ !
दशैंमा समेत बिरलै गाउँ आउने तिमी
कहिले दशैं आउला भनेर
सिरानीमाथि तिम्रो तस्वीरसँगै झुन्डिएको क्यालेन्डरमा चिनो लाउँदै बस्थे
मेरा आँखा तिमी आउने बाटो हेर्दाहेर्दै
युद्धमा हारेको सिपाही जस्तै निराश हुन्थे
कोही विरानो मान्छे बाटोमा हिँडेको देख्दा
तिमी नै पो हौकी भनेर
आशा भरिएर आउँथ्यो मनमा
अँगेनोमा आगो भर्भराउँदा
धुवाँले समेत नरसाउने मेरा आँखा
जलमग्न हुन्थे तिम्रो यादले
शहरबाट छिमेकीको छोरो आउँदा
तिम्रो खबर सुन्न
काम छोडेर जान्थें छिमेकीको घर
तिमी आउँदैनौ रे भन्ने थाहा पाएपछि
कयौं दशैं दशा सम्झिँदै
मुटुमा मायाको भोटे ताल्चा मारेर
बिताएकी थिएँ समय
चाहिँदैन थियो कोसेली
चाहिँदैन थियो सम्पत्ति
लाग्दथ्यो–
तिमी…मात्र तिमी आइदिए हुन्थ्यो
केवल दुई दिन मात्र भए पनि
तर आज–
यो बेमौसमी समयमा
कोरोनाको त्रासले विश्व झस्किरहेको बेला
सामाजिक दूरी बढिरहेको बेला
भौतिक दूरी बढिरहेको बेला
सेल्फ क्वारेन्टाइनमा बस्नु पर्ने बेला
माया बचाउन पनि ज्यान जोगाउनु पर्ने बेला
जो जहाँ छौं त्यहीँ सुरक्षित बस्ने बेला
देश लकडाउनमा लडिरहेको बेला
समय सङ्कटसँग जुझिरहेको बेला…
प्रियतम !
तिमी गाउँ आउन लागेको खबर सुन्दा
झस्किएको छ यो मन
धरमराउँदै छ माया
डरले काँप्दै छ मेरो मुटु
‘प्राण रहे पराक्रम’ भनेझैँ
अहिले ज्यान जोगाउनु नै
पहिलो प्राथमिकता हो
किनकि–
सेल्फ क्वारेन्टाइनमा बस्न
छुट्टै कोठा छैन यो झुप्रोमा
छुट्टाछुट्टै शौचालय, बाथरुम छैन
सेनिटाइजर र साबुन कहाँ पाउनु
त्यो मनले मान्ला र ?
मलाई नछोइ बसौं भनेर…
प्रियतम बिन्ती छ मेरो
तिमी जहाँ छौ
त्यहीँ बस, सुरक्षित बस
समय फेरिएपछि रमाऔँला
ज्यानै रहेन त सक्किगो
प्रियतम !
तिम्रो मनले मान्दै मानेन भने
आऊ, तिमी आऊ !
नियम मान्ने गरी आऊ
क्वारेन्टाइनमा बस्ने गरी आऊ
मन नदुखाई आऊ
तर, बिन्ती–
कोसेलीमा कोरोना नलिएर आऊ !
-केशव गिरी
महासचिव
सगरमाथा प्रतिभा प्रतिष्ठान
प्रकाशित मितीः १४ वैशाख २०७७, काठमाडौं