२ बजे बोलाइएको मन्त्रिपरिषद् बैठक ५ बजेका लागि सर्‍यो



१४ वैशाख २०७७, काठमाडौं

दिउँसो दुई बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक सरेको छ ।

बैठक बेलुका ५ बजेका लागि सारिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको उनका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आजको बैठकले लकडाउनका बारेमा निर्णय गर्ने छ । लकडाउन लम्ब्याउने सरकारको तयारी छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन लकडाउन नै उपयुक्त विधि भएकाले अझै कम्तीमा एक हप्ता लकडाउन लम्ब्याउने तयारी गरेको हो ।

तर, लकडाउन अहिलेको भन्दा केही खुकुलो बनाउने कि कडाइ गरेरै लम्ब्याउने भन्नेबारेमा छलफल पछि निर्णय हुनेछ । कोरोना सङ्क्रमण नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समितिको कार्यदलले लकडाउन एक हप्ता थप्न र सङ्क्रमणको अवस्था हेरेर केही ठाउँमा खुकुलो गर्न सकिने सुझाव दिएको छ ।

पछिल्लोपटक थपिएको लकडाउनको अवधि भोलि सकिंदैछ । यस्तै उच्चस्तरीय समन्वय समितिले आन्तरिक तथा अन्तराष्ट्रिय उडान जेठ २ गतेसम्म बन्द गर्ने निर्णय गरिसकेको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्