ज्ञानको ढोका अवश्य खुल्छ !



१४ बैशाख २०७७, काठमाडौं

स्कूल कहिले खुल्छ ? हाम्रो केटाकेटीहरुको नतिजा कहिले निस्कन्छ ? अब कसरी बिद्यालय पठाउने ? छोराछोरीको भबिष्य बर्बाद हुने भयो जस्ता यर्थाथवादी, निराशावादी र भबिष्यप्रतिको चिन्ता प्रकट भएका जिज्ञासायुक्त प्रश्नहरु शिक्षासँग सम्बन्धित ब्यक्तिहरु सामु आजभोलि तेर्सिएको पाइन्छ । यी वास्तविक लाग्दा प्रश्नहरु समयको सामुन्ने खडा भएका विषम् परिस्थितिका कारण उत्पन्न भएका हुन् ।

चीनको बुहान शहरबाट सुरु भएको कोरोना भाइरस (कोभिड–१९)को प्रभाव बिश्वब्यापी रूपमा फैलिएका कारण नेपाली जनतामा त्यसको प्रभाव पर्न नदिन नेपाल सरकारले पनि गत चैत्र ११ गतेदेखि बन्दाबन्दीको घोषणा गर्‍यो । स्वास्थ्य, सुरक्षा र अत्यावश्यक क्षेत्र बाहेक सबै क्षेत्र बन्द गरिए । चैत्र ५ गतेभित्र कक्षा ९ सम्मको परिक्षा सक्नको लागि पूर्वसूचना दिएको कारण बिद्यालयहरुले तोकिएको समय भित्र परिक्षा पनि सकायो । तर माध्यमिक विद्यालय तहको महत्वपूर्ण मानिएको एसइइ परीक्षा अन्तिम समयमा रोकियो । परीक्षा राम्रोसँग सम्पन्न गर्नको लागि विद्यार्थीले गरेको परिश्रम, अभिभावकको सक्रियता र विद्यालयको विशेष होशियारी पानीका फोकाझैं फुटे । १३ बर्षसम्म बिद्यालय गएर सिकेको ज्ञान परीक्षा मार्फत प्रस्फुटन गर्ने बिद्यार्थीको लक्ष्य अन्तिम घडीमा रोकिएकोले विद्यार्थी मनमा ठरुलो निराशा उत्पन्न भएको छ । त्यस्तै अन्य कक्षाका विद्यार्थीहरुमा परीक्षा दिएर पनि नतिजा हातमा नपरेका कारण र बिद्यालय नखुलेकाले अनौठो जिज्ञासा उत्पन्न भएको छ ।

बालबालिका स्वाभाविक रुपमा जिज्ञासा राख्ने बर्ग हुन् । मुहारमा कोमलता, ब्यबहारमा चञ्चलता र हृदयमा जिज्ञासा राख्ने गुण उनीहरुमा हुन्छ नै । बाहिरी वातावरणको प्रभावले उनीहरुको मस्तिष्कलाई उम्लिएको पानीझैँ छचल्क्याई रहेको देखिन्छ । लामो घर बसाइले विद्यालयको गतिविधिप्रतिको आकर्षण उनीहरूको स्मृतिमा चलिरहेको हुन्छ । नयाँ पुस्तकको पाना पल्टाउन नपाएको अवस्थामा आजका बालबालिका छन् । नयाँ जोश, उत्साह र सक्रियता देखाउने अवस्थाको अभावमा घरभित्रको साँघुरो परिवेश उनीहरुको लागि कष्टपूर्ण बनेको छ । यो कठोर समय हो भनेर बुझाउन र उनीहरुको मन र मुहारमा रमाइलो हुने वातावरण सिर्जना गर्न नसकिए आफ्नै घरको वातावरण पनि उनीहरुको लागि अप्रिय हुन सक्छ । यो समयमा घरका जेष्ठ अभिभावकले बडो सचेततापूर्वक बालबालिकाप्रतिको कर्तव्य पुरा गर्नुपर्ने हुन्छ । भनेको मान्नुपर्छ, अरु के नै काम छ र ? जस्ता आदेशात्मक ढङ्गले यो समयको दैनिकी अगाडि बाढाउनु हुँदैन । बालबालिकाहरुको मनमा पनि लुकेको, दबिएको र अब्यक्त खालको पीडा हुन्छ नै । तसर्थ अभिभावकहरुले बालबालिकामाथि निर्देशन गर्न छोड्नुपर्छ । परिवार बीचमा स–साना मत्भेद भए पनि बालबालिका सामु राक्नु हुँदैन । छोराछोरीका बीचमा तुलना गरेर कसैलाई राम्रो र कसैलाई नराम्रो भनी अपमान गर्नु हुँदैन । गल्ती हुन गयो भने राम्रो गर्दागर्दै यस्तो भएको भनि सम्झाउनुपर्छ । सामूहिक सहभागितामूलक विधि अपनाउनु पर्छ । आफ्नो चाहना भन्दा पनि उनीहरुको भित्री भाव बुझ्दै सकारात्मक मार्गमा लैजाने प्रयास जरुरी हुन्छ । चञ्चल र जिज्ञासु मनका धनी बालबालिकाहरुलाई बशमा राख्न सजिलो छैन । उनीहरुको क्षमताको सम्मान गर्नुपर्छ । बालबालिकाभित्रको जिज्ञासायुक्त प्रश्नलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । निराशाले युक्त कुरामा अल्झिनु हुँदैन । आजका बालबालिका भोलिको समाज हुन् । भोलिको समाजका सामु पनि यस्ता महामारी आउन सक्ने हुँदा आजको ज्ञान भोलिको समाधान हुन सक्छन् । बालबालिका प्रतिको आजको प्रयास नै भोलिको सफल समाज पनि हो । तसर्थ यस घडीमा प्रत्येक दिनको सुरुवातसँगै कार्यको तालिका आवश्यक हुन्छ । बिहानदेखि साँझसम्मको तालिकाले समयमा काम गर्ने बानीको बिकास गराउन सहयोग गर्दछ । बालबालिकालाई आफ्नो बंश र पुर्खाको इतिहास बताउन सकिन्छ । बंशको कथा सुनाउन सकिन्छ । जीवन यात्राका अनुभुतिको साथमा समाज र कर्तव्यको कुरा राख्न सकिन्छ । बालबालिकासँग टाढिएर होइन नजिक रहेर मनोबल उच्च बनाउने कार्यमा साथ दिनुपर्ने हुन्छ । कुलत र नशाजन्य पदार्थबाट टाढा नरहनेहरुको जीवन यथार्थ बताएर त्यसबाट सदैव जोगिन आवश्यक छ भन्ने सन्देश दिनुपर्छ । करेसाबारी, फुलबारी, कौशी खेती र बोटबिरुवाको महत्व बताएर श्रमप्रतिको सम्मानको बोध गराउन जरुरी हुन्छ नै । प्रबिधिमैत्री बन्नका लागि समय ब्यबस्थापनमा साथ दिन सकिन्छ । प्रबिधिबाट पनि प्रशस्त सिक्न सकिन्छ । भान्छाकोठा, शयन कक्ष, पूजा कोठा, अध्ययन कक्षका सजावटका साथमा सिङ्गो घरको सरसफाइमा पनि साथ र सहयोग दिदै जीवनोपयोगी शिक्षामा सक्रिय बनाउन आबश्यक देखिन्छ । तरकारी काट्ने र पकाउने कर्ममा, लुगा धुने कार्यमा र ज्ञानमुलक पत्रपत्रिका र पुस्तक पढ्ने सुनाउने कार्यमा लगाउन सकिन्छ । विभिन्न खेलमा परिवारका सदस्यहरु मिलेर खेल्न पनि आवश्यक हुन्छ नै ।

प्रकृति पठनयोग्य सामग्री हुने गर्दछ । मानिसको विधि व्यवहार, चिन्तन र लक्ष्य भिन्न–भिन्न हुनसक्छ तर प्रकृतिको गतिमा कुनै परिवर्तन हुँदैन । स्वार्थको पोखरीमा चुर्लुम्म डुबेर कुनै काम गर्नु हुँदैन भन्ने शिक्षा दिलाउने कार्य गर्नुपर्छ । प्रकृतिका सामु मानिस कमजोर हुने हुनाले प्राकृतिक बिपत्तिसँग जोगिनुपर्ने कुरा बताएर कोरोना भाइरस पनि यस्तै महामारी हो भन्ने बोध गराउनुपर्ने हुन्छ । कोरोना भाइरसको कुनै औषधी पत्ता नलागेकोले बन्दाबन्दीको अवस्थामा हामी रहनु परेको अवस्था बताउनुपर्छ । संसारभर यो कोरोना भाइरसको प्रभावका कारण लाखौं मानिसहरुले दुःख पाएको र झण्डै दुईलाख मानिसहरु मृत्युको मुखमा पर्नु परेको वास्तविक कुरा बताएर भौतिक दुरी कायम गर्न, घरमा बस्नु परेको, विद्यालय नखुलेको र नयाँ पुस्तकको पाना पल्टाउन नपाएको कुरा बुझाउनुपर्छ । घर पहिलो पाठशाला भएकोले यो समयको सदुपयोग गरि बालबालिकाहरुलाई नैतिक, अनुशासित, कर्तव्यमुखी, धैर्यवान र लक्ष्यमुखी नागरिक निर्माणको अवसर अभिभावकवर्गलाई पनि मिलेको देखिन्छ । तसर्थ मनमा उत्साह र कर्तव्यमा इमानदारिता देखाउने एउटा अवसर अभिभावकहरुलाई पनि प्राप्त छ । घररुपी पाठशालाले सिकाउने ज्ञान पनि त जीवन उपयोगी हुन्छ नै । तर पनि आफ्ना छोराछोरीलाई विद्यालयको मैदानमा नउतार्ने चाहना कसलाई नहोला र ?

आफ्ना कलिला बालबालिका पढ्ने शैक्षिक संस्था खुलेको हेर्ने इच्छा सबै अभिभावकमा हुनु स्वभाविकै हुन्छ । छोराछोरीले पुस्तकको झोला बोकेर मुस्कुराउदै विद्यालयको ढोकाबाट भित्र प्रवेश गरेको दृश्य अाँखामा सजाएर कर्मक्षेत्रमा सक्रिय रहने इच्छा मनमा आउनु पनि स्वभाबिकै हो । तर यो कोरोना भाइरस जति सोचिन्छ त्यो भन्दा पनि डरलाग्दो रहेछ भन्ने कुराको प्रमाण बिश्वका महाशक्तिशाली राष्ट्रहरुको अवस्थालाई नियाल्दा नै स्पष्ट हुन्छ । भौतिक अस्त्रशस्त्र नालायक बनेको अवस्था छ । शक्ति, सम्पत्ति र सत्ता पनि निरर्थक साबित भएको अवस्था छ । अकल्पनीय प्रगति भएका राष्ट्र पनि बिश्व परिवेशमा खुम्चिनु परेको अवस्था छर्लङ्ग देखिन्छ । यही अवस्थाका कारण नेपालका शैक्षिक सस्थाहरु महिनौं बन्द छन् । यही बन्दको कारण नेपाली आमाका सन्ततिहरु भाइरस लागेर पनि निको भै घर फर्केका छन् । जोखिम बढन पाएको छैन । साधन र श्रोतको कमी हुने हाम्रो देश अति उच्च जोखिमबाट केही सुधार हुने अवस्थामा देखिनु हामी सबै नेपालीको खुशीको विषय पनि हो । यो महामारीबाट उम्कने प्रयासमा सरकार सचेत देखिन्छ नै । शैक्षिक सत्र सुरु हुने समय भए पनि साहै्र नोक्सानी हुने अबस्थामा हामी छैनौं । शैक्षिक सत्र ढिलो हुने अबस्था आए शिक्षा मन्त्रालयले बौद्धिक जनसमुदायको परामर्शमा गर्मी बिदा, चाडपर्ब बिदा र अन्य बिदा घटाएर पनि वार्षिक कक्षाभार पुरा गर्ने योजना अघि सार्छ नै । तसर्थ अहिलेको यो भाइरसरुपी महामारीबाट मुक्त हुने उपायमा प्रतिबद्ध बनौं । नेपाली नागरिकले यो भाइरसलाई पराजित गरिरहेको अवस्था छ । यसले निरन्तरता पाओस् । जीवन रहे पछि मात्र अन्य कुराको महत्व रहने हुनाले उच्च मनोबल बोकेर बालबालिकाको मनको असन्तुष्टिको कालो वादल हटाउन कम्मर कसौं ! मानव जातिमाथिको यो महासङ्कटबाट मुक्त रहन भौतिक दुरी कायम गरौं । एक न एक दिन स्कूल खुल्छ नै । कालो बादल हट्छ् नै । ज्ञानको ढोका खुल्छ नै ! धर्तीमा सूर्यको किरण आउन कहिले पो रोकिएको छ र ?

गणेश कुमार मिश्र
प्राचार्य
त्रि–ज्योति मा वि

प्रतिक्रिया दिनुहोस्