१६ बैशाख २०७७, काठमाडौँ
कोरोनाको त्रास बढ्दै गएपछि फागुनबाट नै नेपाली चलचित्रका प्रदर्शनहरु रोकिन थाले । बहुप्रतिक्षित चलचित्र म यस्तो गीत गाउँछु २ फागुन ३० गतेबाट प्रदर्शनमा आउने भनिएको थियो । तर कोरोनाको कारण चलचित्रको प्रदर्शन पछाडी धकेलियो ।
म यस्तो गीत गाउँछु २ को सबै काम सम्पन्न भैसकेको थियो । साथै चलचित्रको पब्लिसिटिको लागि सुदर्शनले ३२ लाख खर्च गरिसकेका थिए । अब चलचित्र रिलिज गर्ने बेला पुनः पब्लिसिटिको लागि त्यति नै खर्च लाग्नेछ । जसकारण चलचित्रका निर्माता पूजा र सुदर्शन यतिबेला तनावमा छन् ।
थापाले भने– ‘चलचित्रमा लगानी गरिएको साढे २ करोड अहिले फ्रिजजस्तो छ । हामी हलमा दर्शक आउने माहोल नभएसम्म चलचित्र रिलिज गर्ने पक्षमा छैनौ ।’
चलचित्र प्रदर्शन गर्ने अवस्था आएपछि फेरि प्रमोसनमा जानुपर्ने हुन्छ र उत्तिकै खर्च लाग्छ । सुदर्शनका अनुसार कोरोनाको सन्त्रास विश्वमा छरिएका कारण चलचित्रको ओभरसिज विक्री पनि भएको थिएन । त्यसैले पनि यत्रो लगानी कसरी सुरक्षित गर्ने भनेर टाउकोदुखाई बनिरहेको छ ।