कोभिड १९ विरुद्ध स्पष्ट रुपमा लड्न सक्ने औषधि पत्ता लाग्यो !



१८ वैशाख २०७७, काठमाडौं

अमेरिकी बायोफर्मास्युटिकल कम्पनी (औषधि उत्पादक) गिलियाड साइन्सेजले उत्पादन गरेको एन्टिभाइरल औषधि रेमडिसिभिरले कोभिड १९ (कोरोना भाइरस) का संक्रमितको उपचारमा सकारात्मक काम गरेको अमेरिकी अधिकारीले बताएका छन् ।

कोरोना भाइरसबाट संक्रमित भएका बिरामीलाई भाइरससँग लड्नका लागि सो औषधिले सहयोग गरेको स्पष्ट रुपमा देखिएको विज्ञले बताएका छन् । गिलियाडले उत्पादन गरेको औषधिको प्रयोग गर्दा संक्रमित चाँडो निको हुने गरेको देखिएको हो ।

सो औषधिको मानवीय परीक्षणमा अति सकारात्मक प्रभाव देखिएको बताए पनि त्यसको विस्तृत तथ्यांक भने सार्वजनिक गरिएको छैन । विज्ञले गिलियाडले उत्पादन गरेको औषधिले कोरोना भाइरसविरुद्धको युद्धमा केही आश जगाएको भए पनि कोभिड–१९ का लागि ‘म्याजिक बुलेट’ भने नहुने स्पष्ट पारेका छन् ।

सो औषधिले संक्रमितको जीवन रक्षा गर्न, बिरामीको अस्पताल बसाई कम गरी अस्पतालमा चाप कम गर्न तथा अहिले लागु गरिएको लकडाउन खुकुलो पार्न भने सहयोग गर्ने देखिएको छ ।

गिलियाडले रेमडिसिभिर इबोलाको उपचारका लागि उत्पादन गरेको औषधि हो । यो औषधिले मानव शरीरमा प्रवेश गरेपछि भाइरलाई फैलिनका लागि चाहिने इन्जाइममा आक्रमण गर्छ, जसबाट भाइरस शरीरमा विस्तार हुन पाउँदैन ।

यो औषधिको मानवीय परीक्षण अमेरिकाको नेशनल इन्स्टिच्युड अफ एलर्जी एण्ड इन्फेक्सस डिजिज (एनआइएआइडी) ले गरेको हो । सो परीक्षणमा एक हजार ६३ जनाको सहभागिता थियो ।

केही बिरामीलाई औषधि दिइएको थियो भने केहीलाई प्लासेबो (कोभिड–१९ का बिरामीलाई गरिँदै आएको हालको अस्थायी उपचार विधि) गरिएको थियो ।

एनआइएआइडीका प्रमुख डा. एन्थोनी फाउचीले भनेका छन्, ‘तथ्यांक हेर्दा गिलियाडले उत्पादन गरेको औषधिको प्रभाव स्पष्ट र महत्वपूर्ण छ, जसबाट संक्रमितलाई निको हुन लाग्ने समय छोटिएको छ ।’ एजेन्सीको सहयोगमा–

|तस्वीरमा फाउची। श्रोतः एपी|

प्रतिक्रिया दिनुहोस्