२० बैशाख २०७७, काठमाडौं/सम्झना श्रेष्ठ
गाउँबाट पढाइको शिलशिलामा काठमाडौं आउनु प्रायः उपत्यका नजिकको जिल्लाका बिद्यार्थीको बाध्यता हो । एस.एल.सी उत्तिर्ण भएपछि बुबा–आमाले मलाई पनि सानो ममीसँगै काठमाडौं बसेर पढ्ने वातावरण मिलाईदिनु भयो । सामान्य परिवारमा जन्मिएको हुनाले कलेज लाइफसँगै केही न केही काम गर्नुपर्ने बाध्यता ममा थियो । त्यही भएर काठमाडौं आउनुभन्दा पहिलै काम गर्दै कलेज पढ्न मानसिक रुपमा तयार भए । मैले सोचेको भन्दा धेरै फरक रहेछ काठमाण्डौ, सुरुका दिनमा घरपरिवारको यादले साह्रै सताउँथ्यो । आमाले पकाएको मिठो खाना । आँगनमा बाँधिएका गाईवस्तु र बाख्रा । बाख्राका पाठासँग खेलेको त्यो पल, सजिलै कहाँ विर्सिन सकिने रहेछ र ? परन्तु, बाध्यताका अगाडि अरु सबै फिका हुँदोरहेछ । यो बीचमा जीवनमा काफी उत्तरचढाब नआएका होइनन् तर त्यसका बाबजुद पनि व्यवस्थापन संकायमा स्नात्तकोतर पास भएको दिन साच्चिँकै हर्षका आँशु बगे । दिन, महिना र वर्ष हुँदै काठमाडौं बसेको आज झण्डै १० वर्ष वितेछ । निरन्तर काठमाडौं बसाइको यो अवधिमा डिग्रीसम्मको पढाइ मात्र सकिएन शहर, राष्ट्रिय राजनीति र राज्यका काम–कारवाहीलाई नजिकबाट बुझ्ने पर्याप्त अवसर पनि मिल्यो । मैले जिल्लाकै क्याम्पसमा पढेको भए सायद आजको जस्तो देश–काल बुझ्ने अवसरबाट बञ्चित हुनेरहेछु । यसर्थ, संघर्षपूर्ण नै किन नहोस्, तर काठमाडौंको बसाई उपलब्धीमूलक नै भएको महसुस हुन्छ ।
यो १० वर्षको अवधिमा मलाई अत्यास लाग्दा तीनवटा मुख्य घटनाको साक्षी हुने तितो अवसर मिल्यो । पहिलो, २०७२ सालको भुकम्प । दोस्रो, २०७२ सालमा भारतले नेपालमाथि लगाएको नाकाबन्दी र तेस्रो, आज विश्वमा नै आतंक मच्चाइरहेको कोभिड–१९, अर्थात् कोरोना भाइरस नियन्त्रणका लागि गरिएको लकडाउन । आपत्कालिन लकडाउनकै कारण म पनि आफ्नो घर जान सकिन् । जीवनमा पहिलो पटक यसरी घरभित्रै थुनिनु परेको छ । जेष्ठ नागरिकका भनाई सुन्दा यस्तो खतरनाक महामारी सय बर्षमा एकपटक आउँछ । यसरी आउने महामारीमा कतिले आफ्नो परिवारको सदस्य गुमाउँछन् । देशले भयावह स्थितीको सामना गर्नुपर्छ । प्रायः पिडादायी घटनाले मान्छेको जीवनमा नमिठो अनुभव छोडेर जान्छ । आज विश्व समुदायले त्यही तितो अनुभवको साक्षी हुन परिरहेको छ, जसरी विगतका महामारीमा हामी भन्दा अगाडिको पुस्ता भएका थिए । त्यस्ता कुराहरु पढ्दा र सुन्दा सपना जस्तै लाग्ने भएपनि आज प्रत्यक्ष आफैंले भोगीरहेका छौं । संसारभरका लाखौं मानिस कोरोना भाइरसबाट संक्रमित भइरहेका छन्, कतिको त मृत्यु भइसकेको छ भने कतिपय निको पनि भइसकेका छन् । संक्रमित र मृत्युको कोणबाट हेर्दा हामी कहाँ आत्ति हाल्नुपर्ने अवस्था नभए पनि यसलाई बेवास्ता गर्नु विल्कुलै बुद्धिमता हुँदैन ।
लकडाउन हुनुभन्दा अगाडि गाउँमा रहनु भएका बुवा–ममीले घर आउन कर गरिरहनु भएको थियो । केही आफन्त र साथीभाई भने गाउँ फर्किसकेका थिए । तर म भने ४८ घण्टा पनि समय नदिँइ गरिएको लकडाउन र अफिसको कामको जिम्मेवारी छाडेर तत्काल जान मिलेन । पहिले जाने आफ्नो परिवारसँग रमाउन पाए तर हामी भने काठमाण्डौमै भयौं । मलाई लाग्छ, हामी जस्तै अप्ठेरोमा परेर घर फर्किन नसकेका धैरै मानिस होलान् । यो दुःखको समयमा पनि आफ्नो परिवारसँग हुन नपाउँदा नरमाइलो त अवश्य लाग्छ तर प्रकृतिले खडा गरेको चुनौतीलाई दृढताका साथ सामना गर्नुको विकल्प छैन । शहरमा लकडाउनको प्रभाव भए पनि गाँउ–घरमा नियमित हुने काम भइरहेको छ । लकडाउनका कारण घर पुगेकालाई घर र खेतीपातीको काम गर्न भ्याइ नभ्याई छ । मेरो बुवा–ममीलाई पनि घर र खेतीपातीको कामले सास फेर्ने फुर्सद छैन । यसरी भित्रै बसिराख्नु भन्दा त आफू जान पाएको भए, बुबा–ममीलाई काममा त सघाउँन पाउँथे भन्ने लाग्छ । तर घरप्रतिको माया जती नै भएता पनि अव जहाँ छौं, त्यही सुरक्षित भएर बस्नु एक मात्र विकल्प हो । फेरी यस्तो विपद्को समयमा हामीले असल नागरिक हुनुको कर्तव्य पूरा गर्न चुक्नु पनि त भएन, अहिलेको अवस्थामा त झनै हुँदैहुँदैन। किनकी, यो सबै हाम्रै लागि त हो । आज वुहानमा कोरोना नियन्त्रण भएर चीन सरकारले क्रमिक रुपमा लकडाउन हटाउँदैछ र त्यहाँको अवस्था सामान्य बन्दै गइरहेको छ । त्यो सफलता केवल सरकारले मात्र गर्दा प्राप्त भएको होइन्, त्यसमा वुहानका नागरिकको पनि उत्तिकै भूमिका छ ।
सायद मलाई मात्र होइन, लकडाउनपछि कुन दिन, कुन बारसँग कसैलाई मत्लब छैन । हतार के को छ र ? कहाँ जानु छ र ? आधा रात भएपछि सुत्नु र बिहान ढिला उठ्नु दैनिकी भएको छ । उठेर सुरुमा त साबुन पानीले हात धुने बानी पहिलादेखि नै थियो । झन् कोरोनाको कारण केही छुनुभन्दा अगाडि र छोइसकेपछि साबुन पानीले मिचिमिचि हात नधोई चित्त बुझ्दैन । अलि बढी नै सतर्क भइएको हो की जस्तो पनि लाग्छ कहिलेकाही त । मिचिमिचि हात धुन भनेर भाईलाई पनि भनिराखेको हुन्छु । हात धुन र सरसफाईमा ध्यान दिन बुवा ममीलाई फोनमै भएपनि सुझाइराखेको हुन्छु । सधैंझैं घरको काम गर्नै पर्यो, मोवाईल खोलेर देश–दुनियाँका ताजा समाचार हेर्नैपर्यो ।
किताब पढ्ने, लेख्ने र चाहेको परिकार बनाएर खाँदा दिन वितीहाल्छ । मलाई कुकिङमा पनि औधी शोख भएकोले, फुर्सदको यो समयमा मन लागेका परिकार इन्टरनेट, युट्युबको साहरा लिएर पनि बनाएर खाने गरेकी छु । युट्युब भिडियो हेरेरै मःम पनि बनाए । घरमै भएको सामानले मन लागेका काफी खानेकुरा बनाउन सकिन्छ। खानेकुरा बनाउनका लागि भाइको पनि सहयोग लिन्छु । घरमा बनाएर खानुको फाइदा त छदैछ साथै उत्तिकै स्वस्थ पनि हुन्छ । इन्टरनेटमा हेर्ने धेरै कुरा छन्, ती मध्येमा सकारात्मक सामग्रीलाई प्राथमिकता दिएर हेर्ने र ज्ञान आर्जन गर्ने गरेकी छु । हरेक दिन डा. योगी विकासानन्दका साथै अरु जीवनोपयोगी र प्रेरणादायी भिडियो हेर्छु । यसबाट सकारात्मक सोच, जीवन जीउने कला, जीवनलाई सफल बनाउने थुप्रै उपाय र समाजका लागि नयाँ केही गर्ने उत्साह मिल्छ । लकडाउनले जुराएको यो फुर्सदको समयलाइ जतिसक्दो सदुपयोग गरी आफूलाई बुझ्ने र आफ्ना कमजोर पक्षलाई सुधार्न प्रयासरत छु ।
हरेक दिन बुबा–ममीसँग कुरा हुन्छ । जतिपटक कुरा हुन्छ त्यती पटक पहिले घर आउभन्दा नमानेको गुनासो गर्नुहुन्छ । त्यो भन्दा पनि बढी हामी कसरी बसेका छौं, के खान्छौं भनेर चिन्ता गर्नुहुन्छ । बुवा आमाको मन न हो, जति नै सुखसुविधामा छोराछोरी वसेता पनि आफ्ना सन्तानको चिन्ता गरिहाल्नु हुन्छ । बुबा–ममी, आफन्त, साथीभाईसँग फोन, च्याटमा कुरा भइरहन्छ, त्यसमा नी टेलिकम र एनसेलको बोनस अफरले केही सहयोग पुर्याएको छ। अफिस पनि लगभग बन्दै छ । अफिसको कामको चिन्ता त लाग्छ, यस्तो बेलामा चिन्ता गरेर नी के गर्ने, सिमित विकल्प मात्र छ, त्यो भनेको धैर्यता नै हो ।
बसन्त क्रतु भएकाले रुख विरुवाले नयाँ पाउला हालेको छ । रंगीविरंगी फुलहरु फुलेको छ । केही महिना अगाडि गाँउबाट ल्याएर गमलामा रोपेको एलोभेराको बोट पनि हलक्क बढेको छ । मेरो कोठाको झ्यालसँगै रहेको फुलको बोटमा भमराहरु चिरविर गर्दै खेलेको सुन्न र हेर्न रमाइलो लाग्छ । काठमाण्डौको आकाश त सफा छ तर केही दिनदेखि छिनछिनमा चर्को घाम र एकैछिनमा हावाहुरी सहित आकाश गर्जीएर पानी पर्न थालेको छ ।
कोठा भित्र बसिराख्दा त्यही दर्केर परेको पानीमा भिजु झैं लाग्छ । धेरै भयो त्यसरी नभिजेको, गाउँमा हुँदा बिजुली चम्किदै चट्याङ सहित पर्ने पानीमा कतीपटक निथ्रुक्क हुने गरी भिजियो । अझ बिजुली चम्किदा त गरिरहेको काम बिचमै टक्क छोडेर फोटो खिच्ने भन्दै पोज दिन हतार गरिन्थ्यो । ‘मेरो फोटो कस्तो आयो‘ ?’भन्दै आकाश तिर फर्केर सोध्न पनि भ्याउथ्यौं । साँच्चै त्यतिबेला हामीलाई बिजुली चम्किदा फोटो खिच्नचाहिँ कसले सिकाएको होला…..? जबकी, अहिले आकाश गड्याङगुडुङ् गरेर बिजुली चम्किदा बाहिर हिड्न डर लाग्छ । रोचक त के छ भने अचेल मान्छेको भन्दा थरी थरिका चरा चुरुंगीको आवाज बढी सुनिन्छ । बिहानीपख तिनै चरा चुरुंगीकै आवाजले बिउझीन थालिएको छ । मान्छेको आवाज त केवल लुडोमा पोट, दुवा, चौका, पञ्जा, भनिएको मात्र सुनिन्छ । नेटमै गेम खेल्न मिल्ने सुविधाले पनि यो समयमा मान्छेलाई व्यस्त राख्न सकेको छ । हुनत घरमै पनि भाई प्रायः लुडो खेलिरहको हुन्छ । अरु के–के क्लब जस्तै यो लुडोको पनि क्लब छ रे । मलाई चाहिँ किन पो हो लकडाउनको यतिका दिन हुँदासम्म पनि लुडोप्रति आकर्षण भएन ।
साँझपख स्कीपिङ र चुंगी खेल्ने गरेकी छु । यो कुरा ममीलाइ सुनाउँदा हाँस्दै अब गट्टा पनि खोजेर खेल्नु भन्नुहुन्छ । स्कीपिङ र चुंगी एक्लै पनि खेल्न सकिन्छ, लुडोमा जस्तो साथी चाहिन्न । यो सँगै बसिराखेको शरीरलाई एक्सरसाइज पनि हुने । स्कीपिङ र चुंगी खेल्दै हुर्कीयांै । हाम्रो पालामा अहिलेको जस्तो आधुनिक खेल कहाँ थियो र ! उ बेलामा स्कीपिङ र चुंगी खेल्दा कतिकती लगाइन्थ्यो । साथीसँग प्रतिस्पर्धा हुन्थ्यो, कसले बढी लगाउने भन्ने । अहिले यहाँ कोहीसँग प्रतिस्पर्धा नभएकाले जति लगाए पनि हार्ने भन्ने भएन । यद्यपि, जति गरेता पनि चुंगीमा १० र स्कीपिङमा ५० कटाउन सकेकी छैन । पहिला हामी रबरको चुंगी पाइएन भने बनमाराको पात बटुलेर भए पनि खेल्थ्यौं । वनमाराको गन्ध नमिठै भए पनि खेल्न पाउदा खुशी हुन्थ्यौं । कसम, यो डोरी खेल्ने खेललाइ स्कीपिङ भन्छ भन्ने पनि काठमाण्डौ आएर थाहाँ भको हो, नत्र त हामी सधैं डोरी खेल्ने भन्थ्यौं । स्कीपिङ भनेको पहिले सुनेकै थिएन । सम्झिन्छु, चुंगी र डोरी प्रतिस्पर्धा गर्दै खेल्ने उतीवेलाका साथी कहाँ पुगे होलान् ? उनीहरुले पनि मैले जस्तै यो लकडाउनमा चुंगी र डोरी खेल्दा हुन् की त्यही लुडोमा रमाउँदा हुन् ! चुंगी र डोरी खेल्दा हुन् भनेचाहिँ मलाई सम्झिदा हुन् की नसम्झिदा हुन् ? यी सब लेखिराख्दा बालापनको यादसँगै सबै साथीसँग बिताएका एकएक पलको सम्झना आइरहेको छ । आखिर मानिस सधैसँगै नभए पनि सम्झना त रहिरहने रहेछ ।
खैर, लकडाउनको अवधी १ महिना भइसकेको छ । छिट्फुट खुल्ने पसलबाट सामान र तरकारी किनेर खादै बाँचिएको छ । लकडाउनको समय लम्बिदै गइरहेको परिप्रेक्षमा अझैं कति समय घरको सीमित घेरामा बस्नुपर्ने हो, अन्योल छ । नागरिक ’सेल्फ क्वारेन्टाइन‘ अर्थात् घरमा बसेर सरकारलाई सहयोग गरिरहेका छन् । सरकारले पनि यो प्रतिकुल अवस्थामा नागरिकलाई कोरोनाबाट बचाउन तदारुकताका साथ विवाद रहित काम गरेर कुशल अभिभावकत्व दिन सके नागरिकमा सरकारप्रति विश्वास बढ्ने थियो ।
अन्तमा, आज हामीले मात्र होइन, विश्व नै जतिसक्दो चाँडो कोरोना मुक्त भएको समाचार सुन्ने व्यग्र प्रतिक्षामा छ । यही अवस्था त पक्कै रहदैन । रात जतिसुकै निष्पट अन्धकार किन नहोस्, त्यसलाई छिचोलेर अवश्य बिहानी आउँछ । प्रकृतिको नियम नै हो, सधैं एउटै अवस्थामा दुनियाँ रहिरहन नै सक्दैन, जसरी क्रतुहरु बद्लिरहन्छन् । यो अवस्थामा हामी सबैले आफ्नो मनोबललाई उच्च राख्नु पर्दछ । लकडाउनपछि पनि त जीवन छ । सहयोगको आवश्यकता भएकालाई आफ्नो ठाँउबाट सकेको सहयोग गर्न सबै तयार हुनुपर्दछ । सामाजिक सञ्जालको उपयोग गरी साथीभाई र आफन्तलाई सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्दछ, ता कि अफवाहालाई चिर्न सकियोस् । यद्यपि, कोरोनाबाट बच्न विश्व स्वास्थ्य संगठनले तोकेको सबै नियमलाई कडाईका साथ पालना गरौं । सकारात्मक सोच र उच्च मनोवल नै हरेक समस्या माथि विजयको आधार हो । यसलाई सबैले मनन् गर्दै, होम क्वारेन्टाइनको यो वसाँइलाई सुरक्षित र सार्थक बनाऊँ ।