२० वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेकपाका सांसद रामनारायण बिडारीले बामदेव गौतम प्रधानमन्त्रीका लागि योग्य व्यक्ति नभएको बताएका छन् ।
उनले कानूनी र व्यवहारिक दुवै किसिमले बामदेवको प्रधानमन्त्री बन्ने सम्भावना नरहेको बताए । एक रेडियोमा अन्तरवार्ता दिँदै उनले बामदेवको प्रधानमन्त्री बन्ने इच्छालाई मृगतृष्णाको संज्ञा दिए । ‘बामदेव गौतम मलाई मन पर्ने नेता पनि हुन् । उहाँ नेकपालाई आवश्यक पर्ने नेता नि हो । तर संविधान संशोधन गरेर राष्ट्रिय सभा सदस्य बनाएर उहाँलाई ज-जसले प्रधानमन्त्री बनाउछु भन्नुभएको छ, त्यो सजिलो यात्रा छैन। अत्यन्तै कठिन छ।’ उनले भने, ‘पहिलो कुरो जनमत विपरित हुन्छ, दोश्रो हाम्रो पार्टीको दुई तिहाई पुग्दैन । बामदेवलाई प्रधानमन्त्री बनाउन अरु दलले सहयोग गर्छन् भन्ने कुरो पत्यार लाग्दैन ।’
सांसद बिडारीले माधव नेपाललाई पार्टीमा तेस्रो अध्यक्ष बनाउने प्रस्ताव गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक रुपमा नेपाललाई उडाउन खोजेको पनि टिप्पणी गरे ।
उनले भने,, ‘माधव नेपाललाई तेश्रो अध्यक्षको प्रस्ताव गरेर व्यङ्ग्य गर्नुभाको हो । माधव नेपाललाई उडाउनुभाको हो।’ अध्यादेश ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको भन्दै बिडारीले पार्टीले गरेको निर्णय सबैले मान्नुपर्ने बताए ।
|फाइल तस्वीर|