प्रधानमन्त्री ज्यू, नेकपा तपाईको विर्ता होईन ! हजारौँ शहिदको बलिदानी र लाखौँ कार्यकर्ताको भविष्य हो 



२० बैशाख २०७७, काठमाडौं

दुई ठूला कम्युनिष्ट पार्टीको एकीकरणपछि देशकै शक्तिशाली नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष र देशको शक्तिशाली प्रधानमन्त्रीको रुपमा केपी शर्मा ओलीलाई देख्दा आम नागरिकमा आशाको संचार थियो । लाखौँ कार्यकर्ता र हजारौँ शहिदको सपनाले उचाईमा पुगेको नेपाली कम्युनिष्ट आन्दोलन सफल हुनेमा अधिकांश कार्यकर्ता र मतदाताहरु आशावादी थिए ।

एउटा जमाना थियो । तपाईको भाषण सुन्न मान्छेहरु लालायित हुन्थे । पाठक र दर्शकहरु तपाईको विचारलाई निकै महत्व दिन्थे । तपाईले प्राप्त गरेको सम्मान र जनमत घटाउन तपाईका व्यक्तिगत कदम र स्वार्थ समूहहरु निरन्तर कारक बनिरहे । लोकतान्त्रिक विधिवाट निर्वाचित तपाईलाई केहि समयमा अभिव्यक्ति स्वतन्त्रता राम्रो लागेन त्यसलाई फेर्न लाग्नुभयो । पार्टी भित्र फरक मत राख्नेहरु तपाईका विरोधी हुन पुगे । तपाई प्रधानमन्त्री हुन पाएको जनमत कम्युनिष्ट पार्टीको लागि थियो । तपाई भन्दा अनुभवी ३ पूर्व प्रधानमन्त्रीहरु मात्र होईन । पार्टीबाट लडेका अधिकांश केन्द्रिय सदस्यहरु निर्वाचित भए । यसको प्रमुख कारण पार्टीको एकीकरण थियो भने तपाईका योजनाहरु समेत सहायक कारण थिए ।

प्राप्त जनमतमा तपाईले आफ्नो छवी मात्र देख्नुभयो । जनताको भावना, दुई ठूला कम्युनिष्ट पार्टी बीचको एकता बिर्सनुभयो । पार्टीका लाखौँ सदस्यहरु र मतदाताहरुको योगदान गौण देख्न थाल्नुभयो । यहि दृष्टिकोणको जगमा उभिएर तपाईले जे जति गर्नुभयो । तपाईका सहयोद्धाहरुले स्वीकार्दै जान बाध्य भए । त्यहि अहंकारको आगोमा अष्टलक्ष्मी शाक्यहरु जल्न पुगे । तपाईको कहिल्यै क्षय नहुनेजस्तो देखिएको शक्तिलाई सिमित स्वार्थ समूहले आफ्नो हितमा प्रयोग गरे । त्यसैले पार्टी एकताको विशिष्ठ अवस्थामा देशको कार्यकारी प्रमुखले चाल्ने कदमहरु दुई अध्यक्ष, पार्टी सचिवालय र स्थायी कमिटीमा पर्याप्त छलफल गरी अनुमोदन गर्ने पार्टी संरचना पूर्ण रुपमा ध्वस्त भयो । सिंगो पार्टी संगठनलाई कमजोर बनाउनु तपाई र तपाईकाहरुको जित ठानियो । यहि श्रृंखलाबाट तपाईको व्यक्तित्वमा क्षयीकरण शुरु भयो । तपाई पार्टी र सत्ता संचालन गर्दा पार्टी र देश बन्ने भन्दा बिग्रने देखेर अधिकांश नेताहरु तपाईको विकल्पमा केन्द्रित भए त्यसैको वरिपरि अहिलेको राजनीति घुमिरहेको छ ।

आम कार्यकर्ता र जनता तपाई प्रधानमन्त्री बनेपछि मन्त्रीहरुको छनोटमा को पर्छन पर्दैनन् चासो राख्दैनन् । शुरुवाती समयमा जे गर्नुभयो, सबैले स्वीकारे ! तपाईको मन्त्रीमण्डलमा निकै काम गरेका, अत्यन्त लोकप्रिय, जनजाति भएपनि कहिल्यै जातीय राजनीतिलाई नबोक्ने, पूर्व पञ्च लगायत काँग्रेस समेत मिल्दापनि जनताबाट निर्वाचित भएका शेरबहादुर तामाङ सत्य बोल्दा, माफी माग्दा पनि हट्नु पर्‍यो । त्यो बेला मन्त्री तामाङले बोलेको कुरा सत्य थियो तर सान्दर्भिक थिएन । उनले आफ्नो गल्तिको प्रायश्चित गर्दा समेत राजिनामा दिन बाध्य पारियो किनभने शुरुदेखि उनी तपाईको गुटका थिएनन् ।

कार्यशैलीको आधारमा मन्त्रीहरु कामको मापन गर्ने नीति ल्याउनुभयो । कम नम्बर ल्याउने मन्त्रीलाई बिदा गर्ने रणनीति साँच्चै राम्रो थियो । सबैले स्वीकार गरे तर जब तपाईकै मूल्यांकनमा उत्कृष्ट मानिएका गोकर्ण विष्ट र कर्मचारी समायोजन जस्तो जटिल विषय सफल बनाएका लालबाबु पण्डितलाई फाल्नुभयो । तब आम नेता, कार्यकर्ता र जनताले रुचाएनन् । तपाई आफैंले बनाएको मापदण्डमा उत्कृष्ट ठहरिएका मन्त्रीहरुलाई फाल्दा आम नागरिक र कार्यकर्ताले स्वीकार्नुपर्ने कारण थियो र ?

त्यतिमात्र होईन, देशकै राष्ट्रपतिले विश्वास गरेर जिम्मेवारी पाएकी महिला आन्दोलनकी ईतिहास थममाया थापा जस्तो ईमान्दार महिला नेतृले आफ्नै मन्त्री मण्डलको प्रधानमन्त्रीसँग छुट्टै गफ गर्न आधा वर्ष कुर्दा समेत सम्भव भएन भन्ने सुनियो । तपाईको आफ्नै मन्त्रीमण्डलको सदस्यले भेट्न पाएनन् भने नेताहरुले कसरी पाए होलान् ?

पूर्ववत सरकारले नियुक्ति दिएका प्रदेश प्रमुखहरुको नियुक्तिमा नगरपालिकामा पराजित नगरप्रमुख मात्र होईन एक तिहाई प्रमुख आफ्नै जिल्लाका मात्र योग्य देख्नुभयो । थोरै सल्लाह मानेपनि त्यो बेला पक्कै आफ्नै हात जगन्नाथ गर्नु नै भयो ।

पार्टी लाईनको हिसाबले शुरुदेखि सहयोग गरेका गोमा देवकोटा र महेश बस्नेत जस्ता विश्वाशिला र शक्तिशाली नेताले भेटेर मात्रै होईन सार्वजनिक रुपमा निजी सचिवालय हेरफेर गर्न दिएको सुझावलाई तपाईले धोती लगाईदिनु भयो । त्यस विपरित डा. कुन्दन अर्याल जस्तो वैद्धिक व्यक्तिलाई हटाएर सूर्य थापा जस्तो उट्पट्याङलाई प्रेस सल्लाहकारमा नियुक्ति गर्नुभयो । जसले प्रधानमन्त्रीको प्रतिष्ठा बढाउनुपर्नेमा आफ्नै चर्चा र विज्ञापन गर्न थाले, मानौँ उनी एकतिहाई प्रधानमन्त्री आफैं हुन् । तपाईकै सल्लाहकारको रवाफ र छुद्र शब्द प्रहारले तपाईलाई स्थापित गर्नुपर्नेमा थप बद्नामी बनायो । सिङ्गो संचार जगत टाढा भयो । सोहि कारणले धेरै हदसम्म प्रेस र प्रधानमन्त्रीको सुमधुर सम्बन्ध विच्छेद भयो ।

आफ्नै सहयोगी टोलीमा जन निर्वाचित संस्थाको प्रमुखले छनोट गर्ने व्यक्तिमा विषयविज्ञता मात्र होईन । जनसम्बन्ध पनि दरिलो भएको व्यक्ति हुनुपर्ने थियो । अझ प्रमुख राजनीतिक सल्लाहकारले त नेतृत्व बीचको सन्तुलन मिलाउने क्षमता राख्नुपर्ने थियो । तपाईको वरिपरि देखिनेहरु सहि सल्लाह दिनेभन्दा तपाईको तारिफ र प्रसंशा गर्नमा ब्यस्त थिए । जुन सत्य भन्दा बढी नाटकीय थियो ।

अहिले प्रधानमन्त्री ओलीको उचाई नघटेको ठाउँ भनेको अन्तर्राष्ट्रिय जगत मात्र हो । त्यसको लागि परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र परराष्ट्रमन्त्री प्रदीप ज्ञावलीको योगदान निकै महत्वपूर्ण कारण हो भन्ने सबैले बुझेकै छन् । प्रधानमन्त्रीको सबैभन्दा बिग्रिएको क्षेत्र भनेको राजनीतिक र संचार जगत हो । त्यसको थोरै हिस्सा स्वयम् प्रधानमन्त्री भएपनि धेरै हिस्सा सम्बन्धित क्षेत्रका सल्लाहकार नै हुन् । यो तर्फ सोच्ने फुर्सद कहिले होला प्रधानमन्त्रीज्यू ?

सत्ता संचालनको आधा समय तपाईले गरेका स्वेच्छाचारी निर्णयहरु मान्ने सचिवालय, स्थायी कमिटी र केन्द्रिय कमिटीमा अहिलेको शक्तिशाली अध्यक्ष अल्पमतमा पर्नुमा आफ्नै कमजोरी कारण हुन् भन्ने चेत फर्किन्छ कि फर्किदैन होला ?

मलाई लाग्छ, पार्टीका केन्द्रिय निकायहरु (दुई अध्यक्ष, सचिवालय, स्थायी कमिटी, केन्द्रिय कमिटी)का बैठकहरु पद्धतिसंगत ढंगले  नियमित चल्ने र कमिटीमा रहेका सबै नेताहरुले मन माझेर आफ्ना धारणा राख्न पाउने र प्राप्त सुझावहरु प्रधानमन्त्रीले स–सम्मान ग्रहण गर्ने हो भने अहिले देखिएका ९५ प्रतिशत समस्याहरु समाधान हुन्छन् । आफ्नै पार्टीभित्र दुई अध्यक्षहरु बिचमा पर्याप्त छलफल गर्न आवश्यक नठान्ने । दुई अध्यक्ष बीच गरिएका समझदारीहरु कार्यान्वयन नहुने । स्थायी कमिटिको बैठक बोलाउन पनि पार्टी विधान अनुसार नगरी अधिकांश सदस्यले लिखित माग गर्दा समेत बेवास्ता गरिने । ६/६ महिनामा बस्नुपर्ने केन्द्रिय कमिटि बैठक बस्न २२ महिना कुर्नुपर्ने भएपछि केन्द्रिय नेताहरुले कसरी तपाईलाई मान गरिरहन सक्लान त प्रधानमन्त्री ज्यू ?

तपाईले बुझ्नै पर्छ, राष्ट्रिय राजनीतिमा तपाईको छवी निकै खस्किएको छ । नयाँ विधेयक, बहुमत लिने नाममा सांसदहरुले खेपेको भनी संचारमाध्यमबाट सुनिएको यातना । सम हैसियती नेताहरुलाई गर्नुपर्ने सम्मान तपाईले सच्याउनै पर्छ । आफूले गरेको गल्ति स्विकार गरी कमिटीमा आत्मालोचना गर्नु नै पर्छ । आफ्नै कमिटीका सदस्यहरुको भावना जितेर अगाडि बढ्न सक्दा आफूमात्र होईन–सिंगो पार्टी र नेपाली जनताले फाईदा लिनेछन् ।

अन्यथा व्यक्तिगत स्वार्थ समूहहरुको हितको लागि आफैँ परिचालित हुँदै जाने हो भने सिंगो देश बर्वादी तिर जानेछ । कम्युनिष्ट आन्दोलन र पार्टीको अस्तित्व समाप्त हुनेछ । समय र जिम्मेवारीमा हुँदै प्रधानमन्त्रीको चेतना जागोस् । यसैमा हामी सबैको कल्याण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्