कोरोना डायस्पोरा र रोकथाममा नेपाल



२१ बैशाख २०७७, काठमाडौं/डा. पद्मप्रसाद खतिवडा

सन् २०१९ को अन्त्यदेखि चीनको वुहानबाट शुरू भएको कोरोना भाइरस सङ्क्रमणका कारण विश्वका २१० भन्दा बढी देश तथा क्षेत्रहरू आक्रान्त भइहेका छन् । सङ्ख्यात्मक हिसावले अमेरिका र यूरोपियन मुलुकहरू सबै भन्दा प्रभावित छन् भने जोखिमका आधारमा विकासोन्मुख तथा नेपाल जस्ता अल्पविकसित भनिने देशबाट उच्च शिक्षाको शिलशिलामा अष्ट्रेलिया, अमेरिका तथा यूरोपका विभिन्न मुलुक तथा कामदारको रूपमा मलेशिया र खाडी मुलुकका आप्रवासीहरू नराम्रोसँग प्रभावित छन् ।

प्रारम्भिक आँंकडा अनुसार नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण लकडाउनको शुरू समयमा भारतबाट मात्र ३ लाख नेपालीहरू भरतमा उत्पन्न कोरोना संकटका कारण भित्रिएको अवस्था छ । हजारौंको सङ्ख्यामा नेपाल सीमापारी भारतीय भूमिमा लकडाउनको स्थितिमा बस्न वाध्य छन् । सन् २०२० को अन्त्य सम्ममा भारतबाट भित्रिने यो सङ्ख्या थप ५ लाख हुने अनुमान छ । त्यसैगरी सोही अवधिमा मेलशिया र खाडीमुलुकबाट यसरी नै नेपाल भित्र्याउनु पर्ने यस्तो सङ्ख्या २ लाख ५० हजार देखि ३ लाखको हाराहारीमा हुने अनुमान रहेको छ । उता पढाइ र कामकै शिलशिलामा विकसित भनिएका देशहरूबाट फर्कन वाध्य हुने नेपालीको सङ्ख्या १ लाख नाघ्ने अनुमान छ । यसरी आगामी ९ महिना भित्र अर्थात सन् २०२० को अन्त्य सम्ममा कोरोना सङ्क्रमणबाट विभिन्न कामले विदेशीएका १२ लाख भन्दा बढी नागरिक नेपाल फर्कन वाध्य हुने अनुमान गर्न सकन्छ जो राज्यका लगि सबै भन्दा चुनौतिको विषय बनेको छ ।

यता देश भित्रै सङ्क्रमण शुरू भएको चार महिना लाग्दा नेपालमा सङ्क्रमित हुनेहरूको सङ्ख्या ३२ पुगेपछि अब यो देश पनि कारोना महामारीबाट सितिमिति उम्कन सक्ने अवस्थामा रहेन । सङ्क्रमण तीव्र हुने देखेपछि सरकारले २०७६ फागुन १८ गते नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको गठन गरी कोरोना रोकथाम र नियन्त्रण सम्बन्धी जनचेतना फैलाउने, सीमा वन्द गर्ने, संक्रमितको पहिचानका लागि चेकजाँच गर्ने, पहिचान भएकाहरूलाई उपचार गर्ने, विदेशबाट आएकालाई आइसोलसनमा राख्ने शंकास्पदलाई क्वारेन्टिनमा राख्ने तथा सङ्क्रमण नफैलियोस् भनेर लकडाउन र यसैका आधारमा अत्यावश्यक काम वाहेकका कार्यहरूको स्थगन जस्ता व्यवस्थाहरू भई आएका छन् ।

दक्षिण एसियामा कोरोनाको प्रभाव
कोरोना सङ्क्रमणका हिसावले दक्षिण एसियाका ८ मुलुकहरूमा भारत सबैभन्दा बढी प्रभावित भइरहेको मुलुक हो । एक महिना अघि सम्म सामान्य आवस्थामा नै रहेको भारतमा यो लेख तयार पार्दा सम्म करिव ४० हजार नागरिक संक्रमित भएका छन् । जति बढी टेष्ट, त्यति नै बढी संक्रमित भन्ने तथ्यलाई भारतले सावित गरेको देखिन्छ जहाँ ९ लाख ७६ हजार भन्दा बढी नागरिकको कोरोना टेष्ट भएको पाइएको छ । यदपि जनसङ्ख्याका हिसावले प्रति १० लाखमा यो दर केवल ७०८ मात्र हुन आउछ । यस क्षेत्रमा भारतपछि सबैभन्दा बढी कोरोना प्रभावित नागरिकहरू पाकिस्तानमा रहेका देखिन्छन् जहाँ १९ हजार भन्दा बढी प्रभावित हुँदा ४४० ले ज्यान गुमाएका छन् ।

सङ्क्रमण फैलावटका आधारमा तेस्रो प्रभावित मुलुक वंगलादेशमा ८ हजार ७०० भन्दा बढी नागरिक संक्रमित रहँदा ७६ हजारमा कोरोना टेष्ट भएको देखिन्छ भने यस देशको प्रति १० लाख टेष्ट दर ४६२ मात्र छ जो जनसङ्ख्याका आधारमा अत्यन्त न्यून हो । चौथो मुलुक अफगानिस्तानमा २ हजार ४ सय भन्दा बढी कोरोना संक्रमित रहँदा यस देशले केवल ११ हजारका हाराहारीमा टेष्ट गरेको छ । त्यस्तै श्रीलंकामा ७०५ संक्रमित भइसक्दा पनि केवल २३ हजार ५०० मा मात्र टेष्ट भएको पाइएको छ  ।

नेपालको कोरोना रोकथाम र नियन्त्रण अवस्था
नेपालमा भने उदयपुरमा समुदायस्तर सम्म कोरोना सङ्क्रमण फैलेको सन्देश दिदै ५९ जना सङ्क्रमित पाइदा ६१ हजार ५०० भन्दा बढी नागरिकहरूको टेष्ट भइसकोको छ जो नेपालमा सङ्क्रमण शुरू हुँदा भित्रिएका लाखौं नागरिकको सङ्ख्याका आधारमा निकै कम हो । यद्धपि दक्षिण एसियाका अन्य मुलुकका तुलनामा प्रति १० लाखमा टेष्ट दर २११५ देखिनुले प्रगति भन्न सकिन्छ । जनसङ्ख्याको हिसावले भारतको हकमा प्रति १० लाखमा यो दर केवल ७०८ हुनु, वंगलादेशमा ४६२ र पाकिस्तानमा प्रति १० लाख सङ्क्रमित दर ९१९ हुनुुले नेपालमा भन्दा ठूला जनसङ्ख्या भएका यी देशको टेष्ट दर निकै कम हो भन्न सकिन्छ । नेपाल भन्दा कम जनसङ्ख्या भएको श्रीलंकाकोे प्रति १० लाख टेष्ट दर केवल १,०९९ देखिनुले स्रोत र साधनका अभावबीच नेपालको टेष्टमा सन्तोष गर्न पर्ने देखिन्छ । जनसङ्ख्याको हिसावले १० लाख भन्दा कम नागरिक रहेका भुटान र माल्दिभ्समा भने टेष्ट दर उच्च रहेको देखिनु स्वभाविक मानिन्छ ।

उच्च सङ्क्रमित तीन देशको कोरोना सङ्क्रमण दर हेर्दा सबैभन्दा प्रभावित भएको मुलुक अमेरिकामा प्रति १० लाख टेष्ट दर २० हजार ९४० छ तर अमेरिकाको तुलनामा इटलीको सङ्क्रमण कम भए पनि यस देशको टेष्ट दर भने अमेरिकाको भन्दा झण्डै डवल रहेको देखिन्छ । उता स्पेनको यो दर ३२ हजार माथि छ । प्रति १० लाख मृत्युदरमा स्पेनको सबैभन्दा बढी ५३७ छ भने अमेरिकाको मृत्युसङ्ख्या बढी भए पनि यो ुदर २०४ मात्र देखिन्छ । उता इटलीको ४७५ रहेको छ । दक्षिण एसियामा सबै भन्दा बढी प्रति १० लाख मृत्युदर भारतको १.० देखिनुले कारोना सङ्क्रमणका कारण मृत्यु हुनेमा युराेिपयन र अमेरिकन मुलुकको तुलानामा दक्षिण एसियाको मृत्युदर निकै कम हो भन्न सकिन्छ तथापि यो अवस्था स्थायी रूपमा रही रहन्छ भन्ने चाहिँ होइन ।

सङ्क्रमण रोकथामका लागि तत्काल गरिनु पर्ने
सङ्क्रमणका हिसावले नेपालको स्थान समुदायमा फैलिएर तेस्रो स्थानमा पुगेपछि अबका दिनमा भयाभह अवस्था आउने तर्फ सचेत हुन अझ सम्म पनि जरुरी देखिन्छ । सङ्क्रमण रोक्ने उत्तम उपाय लकडाउन त हुँदै हो तथापी यसका साथसाथमा गरिनुपर्ने अन्य कार्यहरू उत्तिकै महत्वपूर्ण छन् । भारत लगायतका विदेशबाट आएका नागरिकहरूको स्वास्थ्य परीक्षणलाई जतिसक्दो चाँडो सम्पन्न नगरेसम्म हाम्रोमा सङ्क्रमण अवस्था कस्तो छ भन्ने बारे यकिन गर्न अझै गारो छ । राहात वितरण, बाटामा अलपत्र परेका नागरिकलाई गन्तव्य स्थानसम्म सुरक्षित तवरले पुुर्‍याउने व्यवस्था, जोखिमका हिसावले अति सम्वेदनशील ज्येष्ठ नागरिकको विशेष निगरानी पुर्‍याउने संयन्त्र निर्माणका साथै अपाङ्गता भएका व्यक्ति, एकल महिला, विद्यालयको पठनपाठन छोडेर घर बस्न वाध्य बालबालिकाका लागि मानोसामाजिक परामर्श लगायतका कार्यको व्यवस्था मिलाउने तर्फ स्थानीय, प्रदेश र संघीय तिनै तहको समन्वायत्मक भूमिका आवश्यक छ । यसमा पनि विशेष गरी अनाथ आश्रम, बाल गृह, ज्ोष्ठ नागरिक आश्रम तथा सेफ हाउसमा रहेका बालबालिका, जेष्ठ नागरिक, महिलालाई सो क्षेत्रमा कार्य गर्ने सङ्घसंस्थासँग समन्वय गरी समस्याको स्थिति हेरेर स्वास्थ्य र राहात व्यवस्थापनका कार्यले प्राथमिकता पाउनु पर्दछ ।

जिविकाको आधारशिलाको रूपमा रहेको खेतीप्रणाली नरोकिने वतावरण सिर्जना गर्न अभियान नै चलाउनु पर्दछ । यसमा विदेशबाट आएका नागरिकहरूलाई मुख्य मानवस्रोत मानी सरकारले उनीहरूलाई तलवी रूपमा बाँझो रहेका जग्गाजमीनमा सामुहिक तथा उद्योग खेतीको अवधारणा अघि सार्न आवश्यक छ । कृषि, बीऊबीजनको व्यवस्था सहित कृषि क्षेत्रमा कार्य गर्ने सामाजिक तथा निजी संघसंस्थाहरूसँग समन्वय गरी स्रोतसधाधनको व्यवस्थापन र परिचालन गरिनु पर्दछ । सामाजिक क्षेत्रमा कृयाशील संघ संस्थाहरूलाई दातृ संस्थाको अभावमा आउन सक्ने सम्भावित समस्या र तिनमा कार्यरत पाँच लाखभन्दा बढी जनशक्तिलाई ती संस्थाहरूमा टिकाइराख्नका लागि सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत जम्मा भएको रकमलाई सामाजिक उद्यमशीलताको क्षेत्रमा खर्च गर्न पहलकदमी लिनुपर्दछ । यी सबै कार्य गर्न स्थानीय, प्रदेश र संघीय तिनै तहका सरकारहरूको समन्वय अझै पनि खड्केको विषय छ ।

(लेखक त्रिभुवन विश्वविद्यालयमा जनसङ्ख्या विषयका सहप्राध्यापक हुनुहुन्छ)
इमेल : [email protected]

प्रतिक्रिया दिनुहोस्