लोकतन्त्रमा स्वतन्त्र मिडिया : उज्यालो यात्राको निर्विकल्प सहयात्री
च्याउ होस् या भ्रष्टाचार, उज्यालोमा कहिल्यै फस्टाउँदैन । त्यसैले यो सधैं अँध्यारोमा रमाउँछ । सत्तामा सधैं विधि विधान लत्याएर एकलौटी चाहनेहरु आफ्नो आलोचना नहोस्, विरोध नहो्स, आफ्ना कर्तूत जनताले थाहा नपाउन भनेर सधैं चिन्तामा हुन्छन् ।
त्यसैले जहिले पनि अँध्यारो, अनुदार र अधिनायकवादी सत्ताहरु सधैं आफ्ना विरोधी, आलोचक, खबरदारीकर्ता र सत्य साधकविरुद्ध सुनियोजित षड्यन्त्रदेखि कत्लेआम सम्मका तानावाना बुनिनै रहेका हुन्छन् ।
अँध्यारोमा रमाउने अर्थात् अँध्यारोमा कमाउनेहरु, कर्तुतमा सलबलाउनेहरु जहिले पनि उज्यालोविरुद्ध, प्रकाशविरुद्ध, आशाविरुद्ध एक तमास लागिरहेका हुन्छन् । अँध्यारोमा मौलाउनेहरुका लागि सबैभन्दा ठूलो अवरोध भनेको स्वतन्त्र सञ्चारमाध्यम नै हुन् ।
लोकतन्त्र र मिडिया
लोकतन्त्र विना जसरी मिडिया फैलन पाउँदैन त्यसैगरी स्वतन्त्र मिडिया विना लोकतन्त्र संस्थागत हुनै सक्दैन । अभिव्यक्ति स्वतन्त्रता, प्रेस स्वतन्त्रता, मानव अधिकार, मताधिकार, बहुलता, विधिको शासन, सामाजिक न्याय र मानव मर्यादा लोकतन्त्रमा सबैभन्दा बढी अभ्यास गरिने सवालहरु अर्थात् लोकतन्त्रको प्रमुख अंग नै हुन् ।
यीमध्ये पनि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई लोकतन्त्रको धमनी नै भन्ने गरिन्छ । अर्थात् प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विनाको लोकतन्त्र निर्जीव हुन्छ आत्मा विहीन ।
विकृति, विसंगती विरुद्ध मिडिया
जब स्वतन्त्र मिडियाहरुले भ्रष्टाचार, हत्या, अपराध, जालझेल, लूट, दलाली, काला बजारी, वेथिति, विकृति र विसंगतिविरुद्ध बोल्न थाल्नेछन् । जनताका समस्याहरु खोतल्न थाल्छन् । उज्याला पाटाहरु औंल्याउन थाल्छन् । अँध्यारोमा रमाउने सत्ता, विकृतिमा मौलाउने दलाली, वेथितिमा फैलने कालाबजारी, वेलगाम हिँडन चाहने भ्रष्टाचारीहरु तिल्मिलाउँछन् । तिनको जिहजुरी नगर्ने, चाकरी नबजाउने, बरु देखेको सत्य–तथ्य लेख्ने उनीहरुको शैली, एकाधिकारवादी शासकहरुलाई मन पर्दैन, भ्रष्टाचारमा निर्लिप्त भएर रमाउनेहरुलाई औडा उकुसमुकुस हुन्छ ।
जसरी अँध्यारोमा रमाउने च्याउका लागि उज्यालो छर्दै हिँड्ने प्रकाश सबैभन्दा ठूलो विरोधी हुन्छ । त्यसैगरी भ्रष्टाचारी, हत्यारा, बलात्कारी र विभेदकारीहरुका लागि स्वतन्त्र मिडिया प्रमुख शत्रु हुने गर्छन् ।
नेपाल जस्तो देश जहाँ पाइलैपिच्छे सम्भावनाको निधि निरीह भएर गुम्सिरहेको छ । प्राकृतिक, सांस्कृतिक, सामरिक सबै हिसाबमा अब्बल मुलुक छ । जसलाई विश्वकै सम्वृद्धि देश बनाउन सकिने अपार सम्भावना छ । त्यो देशको हालत तपाईँ हामीले भोगिरहेका छौं ।
यदि यो मुलुकमा स्वतन्त्र मिडियाले आफ्नो भूमिका निर्वाह नगरेको भए, मिडियाको प्रभावकारी हस्तक्षेप नहुने हो भने यो देश भ्रष्टाचारको अझै सबैभन्दा माथिल्लो ग्राफमा पुग्नेमा कुनै शंका छैन । नेपालको हरेक लोकतान्त्रिक, अग्रगामी आन्दोलनमा नेपाली मिडियाले खेलेको उल्लेख्य भूमिका अतुलनीय छ, नमनीय छ, उदाहरणीय छ ।
मिडियामा सुधार जरुर, सहयात्रा अत्यावश्यक
हो नेपाली मिडियामा अझैं धेरै समस्याका चुलीहरु छन् । विकृतिका पोकाहरु छन, चुनौतीका चौगुना प्वाँलहरु छन् । श्रमजीवि पत्रकारहरुको सामाजिक सुरक्षा, भौतिक सुरक्षाका समस्याहरु छन् । त्यसलाई चिर्न सकिन्छ, सुधार्न सकिन्छ, समेट्न सकिन्छ । अझ बढी उज्यालो यात्रामा पाइला बढाउन सकिन्छ ।
मिडियालाई उसको कर्म, मर्म र धर्म अनुसार काम गर्न दिउँ, मैमत्त, अराजकता र गैर जिम्मेवार हुनबाट जोगाऔं । त्यसका लागि मिडियालाई शत्रुका रुपमा दमन होइन । सहयात्रीका रुपमा नियमन गरौं । विरोधीको रुपमा व्यवहार होइन । ऐनाको रुपमा अवलम्बन गरौं । उज्यालो यात्राको सहयात्रीका रुपमा श्रद्धा गरौं । अँध्यारो विरुद्धको अभियानको सहयात्रीका रुपमा सहकार्य गरौं । राष्ट्र निर्माण अभियानको सहयात्रीको रुपमा सम्मान गरौं ।
भ्रष्टाचार, विभेद, असमानता, हत्या, हिंसा, अपराध, जालझेल, लूट, दलाली, काला बजारी, वेथिति, विकृति र विसंगतिविरुद्ध खबरदारी गर्न मिडियासँग जहिल्यै साथ, सहयोग, सद्भाव र सहकार्यको हात फैलाऔं ।
विकास, समानता, सुशासन र सम्वृद्धिको महान अभियानमा मिडियासँगको हातेमाले बढाऔं । अँध्यारोविरुद्ध उज्यालो यात्रको विकल्प छैन ।
विश्व प्रेस स्वतन्त्रता दिवसको हार्दिक शुभकामना !
प्रकाशित मिती : २१ वैशाख २०७७, काठमाडौं
-लेखक साझा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वपत्रकार हुन् ।