२२ बैशाख २०७७, काठमाडौँ
केहिदिन यता सामाजिक सञ्जालमा बलिउड अभिनेता आमिर खानको निकै नै तारिफ भैरहेको छ । उनले १ किलो आटाभित्र १५ हजार भारु राखेर कोरोनाका कारण समस्यामा परेकालाई सहयोग गरेको खबर सार्वजनिक भएको थियो ।
तर यसबारे आमिरले स्पष्टिकरण दिएका छन् । आमिरले पिठोभित्र पैसा राखेर सहयोग गर्ने व्यक्ति आफू नभएको बताएका छन् । यत्तिका दिनसम्म सबैले उक्त सहयोग गर्ने व्यक्ति आमिर नै भएको सोचिरहेका थिए । तर आमिरले उक्त व्यक्ति आफू नभएको बताएपछि सबैजना चकित भएका छन् ।
आमिरले ट्वीटर मार्फत यो कुराको जानकारी दिएका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘म त्यो मानिस होइन, जसले पिठोको प्याकेटमा पैसा राखेर बाँडेको थियो । यो कि त पूर्ण रुपमा झुट खबर हो, कि रविन हुड आफूलाई सार्वजनिक गर्न चाहँदैन । धेरै धेरै माया छ ।’
तर आमिरले कोरोना पिडितलाई विभिन्न संस्था मार्फत भने सहयोग गरिरहेका छन् ।