नेकपा सचिवालय बैठक बालुवाटारमा शुरु



२४ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपाको सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको छ ।

भोलिका लागि डाकिएको स्थायी कमिटी बैठकको तयारी र एजेण्डा तय गर्न आजको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । सचिवालय बैठक ३ बजेका लागि बोलाइएको भए पनि केही ढिला गरी शुरु भएको हो ।

आजको बैठक पनि शनिबार नै तय भएको थियो । शनिबारको बैठकले उत्कर्षमा पुगेको आन्तरिक विवाद केही हदसम्म साम्य बनाएको थियो । तर, विवाद कायमै रहेको नेताहरु बताउँछन् ।

विवाद जारी रहँदा भोलि बस्ने भनिएको सचिवालय बैठकमा प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन समेत तयार नभएको नेताहरु बताउँछन् । स्थायी कमिटी बैठकको रणनीति तय गर्न नेताहरुको गुटगत छलफल भइरहेको छ ।

सचिवालय बैठकअघि बिहान नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच भेटघाट भएको थियो । शनिवारको सचिवालय बैठकपछि स्थायी कमिटीका विषयमा ओलीले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसँगपनि छलफल गरेका थिए ।

|तस्वीरः प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा|

प्रतिक्रिया दिनुहोस्