२४ वैशाख २०७७, काठमाडौं
बुधबार (आज) बसेको नेकपा सचिवालय बैठकबीच ‘म थाकें’ भनेर उठेर हिँडेका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली नफर्किएपछि बैठक अणिर्नित बनेको छ ।
प्रधानमन्त्री ५ बजेतिर चलिरहेका बैठक छोडेर ‘म थाकें’ भन्दै उठेर हिँडेपछि नफर्केका बताइएको छ । प्रधानमन्त्री उठेर हिँडेपछि अन्य सदस्यहरुले कुरेर बसेका थिए ।
बैठक सकिएपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भोलि बस्ने स्थायी समिति बैठकमा पेस गर्ने प्रस्तावबारे दुई अध्यक्षबीच छलफल भइरहेको बताए ।
यस्तै उनले बिहीबार (भोलि) स्थायी कमिटी बैठक बस्ने वा नबस्ने भन्नेबारे पनि अध्यक्षद्वयबीच नै छलफल तथा निर्णय हुने बताए । “स्थायी कमिटी बैठकमा लैजाने प्रस्तावबारे दुई अध्यक्षहरूबीच अझै पनि गृहकार्य गर्न बाँकी रहेको बैठकलाई जानकारी गराइएको थियो ।” उनले भने, ‘दुई अध्यक्षले सल्लाह गरेर बैठकका कार्यसूची र बैठकको बारेमा निर्णय गर्नुहुन्छ ।’
भोलि बस्ने पार्टीको स्थायी कमिटी बैठकमा पेस गर्ने प्रस्तावलगायत अन्य विषय छलफल गर्न नेकपा सचिवालय बैठक बसेको थियो । गत शनिबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीले आत्मआलोचना गर्दै सबै जना मिलेर अघि बढ्ने बताएका थिए ।
भोलि बस्ने स्थायी कमिटी बैठकका लागि दुबै अध्यक्षले प्रस्ताव तयार गर्ने भनिएको थियो । तर प्रस्ताव तयार गर्ने विषयमा दुई अध्यक्षबीच सहमति हुन सकेको छैन ।
शनिबार भएका सहमतिबाट प्रधानमन्त्री पछि हटेको आरोप प्रचण्ड र माधवकुमार नेपाल खेमाले लगाएका छन् । पहिला सहमति भएअनुसार कार्यकारी अध्यक्षका रूपमा प्रचण्डको भूमिकालाई थप प्रष्ट्याउने गरी स्थायी समितिमा प्रस्ताव लैजाने, मन्त्रिमण्डल पुनर्गठन गर्ने र केही मुख्यमन्त्रीहरू फेरबदल गर्ने सहमतिबाट प्रधानमन्त्री ओली पछि हटेको प्रचण्ड नेपाल खेमाको आरोप छ ।
|तस्वीरः प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापा|