२४ बैशाख २०७७, काठमाडौँ
आज बलिउड अभिनेता ऋषि कपुरको निधन भएका ५ दिन बितिसकेको छ । अझैपनि ऋषिको यादमा तड्पिरहेकी ऋषिकी श्रीमती नितू सिंहले सामाजिक सञ्जाल मार्फत ऋषिको हरदम ख्याल गरेकोमा अम्बानी परिवारलाई धन्यवाद दिएकी छिन् ।
अम्बानी परिवार ऋषि कपुरको परिवारसँग नजिक छ । जसका कारण ऋषिको अम्बानी परिवारले पनि निकै नै ख्याल राखेका थिए । जब ऋषि उपचारको लागि अमेरिका गएका थिए, त्यतिबेला पनि अम्बानीले उनलाई सान्त्वना दिएका थिए ।
नितूले अम्बानीको परिवारलाई देवदूत भन्दै आभार व्यक्त गरेकी छिन् । उनले ऋषि, अम्बानी दम्पत्ति र आफूसहितको तस्बिर सेयर गर्दै लेखेकी छिन्, ‘एक परिवारको रुपमा पछिल्लो दुई वर्ष निकै लामो यात्रा रह्यो जसमा राम्रा दिनका साथै थुप्रै नराम्रा दिन पनि आए । यहाँ भन्न आवश्यक छैन कि ती पूर्ण भावनाले भरिएका थिए । तर यो एउटा यस्तो यात्रा हो जुन हामी अम्बानी परिवारको असिम प्रेम र समर्थनबिना पूरा गर्न सक्दैनथ्यौं ।’
नीतूले थपिन्, ‘मुकेश ‘भाइ’, नीता ‘भाभी’, आकाश, श्लोका, अनन्त र ईशा तपाईंहरु सबै यो लामो र मुश्किलले भरिएको यो अनुभव यात्रामा हाम्रा लागि देवदूत अभिभावक हुनुभयो । हामीले तपाईंका लागि जे महसुस गरिरहेका छौं, त्यसको मापन गर्न सकिँदैन । हामी निःस्वार्थ समर्थन र हेरविचारका लागि तपाईंलाई भित्री हृदयदेखि नै धन्यवाद दिन चाहन्छौं । हामी तपाईंहरुलाई आफ्नो सबैभन्दा निकटस्थ र सबैभन्दा प्रिय व्यक्तिको रुपमा पाएर अत्यधिक धन्य महसुस गरिरहेका छौं ।’