‘कोरोना संक्रमण जतिसुकै नराम्रो हमला गरेपनि राष्ट्रपतिको चुनाव रोकिँदैन’ – ट्रम्प



२५ बैशाख २०७७, काठमाडौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले अमेरिकामा  सबैभन्दा नराम्रो हमला गरेको भनेर टिप्पणी गरेका छन् ।

उनले कोरोना भाइरसबाट भएको क्षतिलाई दोस्रो विश्वयुद्धको बेला जापानी बमवर्षक विमानबाट पर्ल हार्बर द्वीपमा भएको आक्रमण र वर्ल्ड ट्रेड सेन्टरमा भएको आतंकवादी हमलाबाट भएको क्षतिसँग तुलना गरेका छन् ।

पत्रकारहरुसँग कुरा गर्दै उनले समयमै कोरोना संक्रमण रोकथामका लागि चीनले कदम नचालेकोले विश्वभर महामारी फैलिएको बताए ।

चीनको आलोचना गर्दै उनले भने, ‘हामी चीनसँग खुसी छैनौं । हाम्रो पूरै परिस्थिति खुसी छैन । किनभने यसलाई त्यहीँ रोक्न सकिन्थ्यो, जहाँबाट सुरु भएको थियो ।’

ट्रम्पले आगामी नोभेम्बरमा हुने अमेरिकाको राष्ट्रपतिको चुनाव स्थगित नहुने पनि बताए ।
चुनाव स्थगित गर्नु हुन्छ कि हुँदैन भनेर पत्रकारले सोधेको प्रश्नको जवाफमा ट्रम्पले भने, ‘मैले चुनावको मिति सार्ने विषयमा कहिल्यै पनि सोचेको छैन । मैले त्यस्तो किन गर्ने ? ३ नोभेम्बर एक राम्रो अंक हो ।’

प्रतिक्रिया दिनुहोस्