विषाक्त ग्याँस चुहावट हुँदा ८ को मृत्यु : हजारौं घाइते, केहीको अवस्था गम्भीर



२५ वैशाख २०७७, काठमाडौं

भारतको आन्ध्र प्रदेश राज्यको विशाखापटनममा राति विषाक्त ग्याँस चुहावट हुँदा कम्तीमा ८ जनाको ज्यान गएको छ ।

पाँच हजारभन्दा बढी मानिसमा विषाक्त ग्याँसले असर गरेको र उनीहरुलाई अस्पताल भर्ना गरिएको स्थानीय अधिकारीहरुले जनाएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार एलजी पोलिमर्स इन्डिया प्रालिको केमिकल प्लान्टबाट विषाक्त ग्याँस चुहावट भएको हो ।

सन् १९६१ मा स्थापित यो प्लान्ट सुरुमा हिन्दुस्तान पोलिमर्सको स्वामित्वमा थियो । सन् १९९७ मा यो प्लान्ट दक्षिण कोरियाली कम्पनी ‘एलजी’ ले लिएको थियो ।

बिहीबार बिहान करिब तीन बजेतिर एलजी पोलिमर कम्पनीबाट अचानक विषाक्त ग्याँस फैलिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयबासी घरमै सुतिरहेको समयमा ग्याँस फैलिएको बताइएको छ ।

एक्कासी श्वास फेर्न कठिनाई हुने, बान्ता हुने, आँखा पोल्ने जस्ता लक्षणसहित मानिसहरु घरबाहिर निस्कन थालेका थिए । सोही क्रममा कयौं मानिस सडकमै बेहोश भएर ढलेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

निजी स्रोतलाई उद्धृत गर्दै भारतीय टेलिभिजन च्यानलहरुले जनाएअनुसार ५ हजारभन्दा बढी मानिस अस्वस्थ भएर विभिन्न अस्पताल भर्ना भएका छन् ।

उनीहरुमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । एजेन्सीको सहयोगमा-

प्रतिक्रिया दिनुहोस्