बुद्धका उपदेश पालन गरे राष्ट्रिय एकता सुदृढ बन्ने राष्ट्रपतिको विश्वास



२५ वैशाख २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले शान्तिदूत बुद्धका प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालन गर्न सके राष्ट्रिय एकता सुदृढ हुने बताएका छन् ।

२५६४औँ बुद्धजयन्तीका अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति भण्डारीले धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र आपसी सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गरेका हुन् ।

बुद्धजयन्तीमा विविधताबीच एकताको खोजी गर्दै आपसी मेलमिलापका साथ शान्ति र प्रगतिका पथमा अघि बढ्न सबैलाई उत्साह, उमङ्ग र प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

साथै राष्ट्रपति भण्डारीले नेपालका आदिवासी किराँत समुदायको पवित्र एवं महान् उभौली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण राई, लिम्बू, सुनुवार, याक्खालगायत सम्पूर्ण किराँतमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्