बन्दाबन्दीमा आशाको केन्द्र बन्यो राप्ती प्रादेशिक अस्पताल



२५ बैशाख २०७७, दाङ

तुलसीपुर उपमहानगरपालिका–१७ की १८ वर्षीया सीता चौधरीलाई कोरोना भाइरस (कोभिड–१९) को जोखिम रोकथामका लागि जारी बन्दाबन्दी (लकडाउन) मा अस्पतालबाट प्रसूति सेवा कसरी प्राप्त होला भन्ने चिन्ता लागेको थियो । गत आइतबार गर्भवती सीताको पेट दुख्न थालेपछि घरमा एम्बुलेन्स बोलाइयो र उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याइयो । एम्बुलेन्सले प्रसूति कक्षमा पुर्याएपछि उहाँले बल्ल आफू अस्पताल पुगेको थाहा पाउनुभयो ।

सीताले धेरै सञ्चारमाध्यममा यतिखेर अस्पतालहरुमा बिरामीले उपचार नपाउने गरेको गुनासो सुन्नुभएको थियो । देशमा कोरोना भाइरसको सङ्क्रमण बढेपछि त्यसबाहेकका अरु बिरामीको उपचार हुँदैन भन्ने उहाँलाई लागेको थियो । अर्कातर्फ सुत्केरी हुने आफ्नो यस्तो बेला आइसकेकाले यो बन्दाबन्दीका समयमा अस्पतालसम्म कसरी पुग्ने भन्ने त्रास पनि थियो ।

अस्पताल पुगेपछि पनि कोरोनाको त्रास बढिरहेको अहिलेको अवस्थामा चिकित्सक तथा नर्सले आफूलाई राम्रोसँग हेरचाह गर्लान् भन्ने अझै लागेको थिएन । भन्नुहुन्छ, “दुविधा थियो, तर पछि जसरी मैले यस अस्पतालबाट सेवा पाएँ, यसले निकै खुशी भएँ ।” अस्पतालको प्रसूति विभागमा पुग्नेबित्तिकै स्वास्थ्यकर्मी र प्रसूति विशेषज्ञ चिकित्सकले गरेको व्यवहार तथा निगरानीले उहाँको मनको दुविधा सबै हट्यो । मनोबल उच्च भयो, प्रसव पीडाले च्याप्दै जाँदा पनि स्वास्थ्यकर्मीले गरेको व्यवहार तथा रेखदेखले सबै डर भाग्यो । यस्तै अनुभव सुनाउनुभयो उहाँले ।

“झण्डै १० घण्टासम्म सुत्केरी ब्यथा लाग्यो । सामान्यरूपमा प्रसूति गराउने धेरै प्रयास गयौँ तर सानै उमेरमा गर्भवती भएकाले शल्यक्रिया नै गर्नुपर्ला भनेर तयारी पनि गयौँ । तर पछि भने सामान्यरूपमा भ्याकुम अर्थात् औजारको सहायताले सुत्केरी गराउन सफल भयौँ । अहिले आमा र शिशुको स्वास्थ्य राम्रो छ” राप्ती प्रादेशिक अस्पतालको प्रसूति विभागका नर्सिङ अधिकृत रमा पराजुलीले भन्नुभयो ।

सीताले दुई वर्षअघि कक्षा ८ मा पढ्दापढ्दै गाउँमा आफ्नै समुदायका एक युवासँग प्रेम विवाह गर्नुभएको थियो । उहाँका श्रीमान् अहिले सार्वजनिक सवारीमा मजदुरको काम गरिरहनुभएको छ । “घरको आर्थिक अवस्था कमजोर छ, हामीले त धेरै चाहेर पनि कहाँ पढ्न पाइने हो र ? अब त बच्चा भइहाल्यो यसको लालनपालनका लागि पनि झन् धेरै दुःख गरेर काम गर्नुपर्छ”, अस्पतालको श्ययाबाट उहाँले भन्नुभयो । सानै उमेरमा गर्भवती हुँदा सुत्केरी हुन निकै गाह्रो हुने अनुभव उहाँले सुनाउनुभयो । “तर पनि यस्तो बन्दाबन्दीको समयमा पनि अस्पतालसम्म आएँ, अस्पतालले सुरक्षित तवरले प्रसूति गरायो, ढुक्क भएकी छु, अब त जहिले डिस्चार्ज गरे पनि केही छैन”, उहाँले खुशी हुँदै भन्नुभयो ।

त्यसैगरी सोही अस्पतालमा गत शनिबार तुलसीपुर नगरपालिका–१४ की २३ वर्षीया आशा चौधरीले पनि शल्यक्रिया गरेर छोरी जन्माइन् । राप्ती प्रादेशिक अस्पताल तुलसीपुरको प्रसूतिकक्षमा आइतबार भर्ना भएकी उहाँलाई पनि लकडाउनको यस्तो अप्ठ्यारो बेलामा अस्पताल कसरी जाने होला भन्ने चिन्ता नै थियो । घरमा बस्दा मनमा अनेक सोचाइ आएको र कोरोना भाइरसको सङ्क्रमण बढेको समाचार आएसँगै आफूलाई पनि डर लाग्ने गरेको उहाँले सुनाउनुभयो ।

सीताको जस्तै यस्तो बन्दको बेलामा अस्पताल कसरी पुग्ने र अस्पताल पुगेपछि पनि अहिले कोरोनाको त्रास छ यहाँ बच्चा जन्माउन सकिँदैन अन्यत्रै लैजानु भन्ने जवाफ अस्पतालले दियो भने के गर्ने भन्ने नै थियो आशाको डर पनि । तर अहिले भने आफ्नै ठाउँको अस्पतालमा बच्चा जन्माउन पाएकोले उहाँ खुशी हुनुहुन्छ । अस्पतालको श्ययाबाटै मलिन स्वरमा उहाँले भन्नुभयो, “हुन त शरीर चिरेको घाउ छँदैछ, तर पनि मलाई त्यसको कुनै दुखाइ छैन, देशको यस्तो अवस्थामा पनि अस्पतालसम्म आएर बच्च जन्माउन पाएँ मलाई खुशी लागेको छ ।”

“बुहारीले मलाई अलि बिसञ्चो भयो भनेपछि वडा कार्यालयमा जानकारी गराएँ, वडाबाट एम्बुलेन्स बोलाइदिनुभयो, सजिलैसँग अस्पताल आयौँ”, आशाकी सासु मैनी चौधरीले भन्नुभयो । “अस्पातलमा नर्सहरुले औषधि खुवाउनुहुन्छ र चिकित्सकले पनि पटक–पटक आएर स्वास्थ्य जाँज गर्ने गर्नुभएको छ, अब घर जाँदा सुत्केरी खर्च भत्ता पनि दिन्छ रे आशाले भन्नुभयो ।”

त्यस्तै तुलसीपुर उपमहानगरपालिका–१ की २० वर्षीया शान्ति विकले पनि गत आइतबार नै राप्ती प्रादेशिक अस्पतालमा शिशु जन्माउनुभएको छ । “प्रसव व्यथा लागेपछि वडाले एम्बुलेन्स पठायो र अस्पताल आयौँ, सामान्यरूपमा सुत्केरी भएँ, खुशी लागेको छ”, उहाँको भनाइ छ । उहाँलाई पनि गाउँघरका दिदीबहिनीले अहिले कोरोनाको त्रास छ, अस्पतालमा स्वास्थ्यकर्मीले राम्रोसँग हेर्दैनन् भन्ने सुनाएका थिए । अस्पतालमा कोरोनाको उच्च सतर्कता अपानाएर बिरामी अर्थात् प्रसूति सेवाका लागि आउने गर्भवती, सुत्केरी र बच्चाहरुको राम्रो सेवा दिने गरेको आफूले पाएको उहाँले बताउनुभयो ।

यसरी अहिलेको लकडाउनको असहज परिस्थितिमा पनि सुत्केरी तथा महिलाहरुको आशाको केन्द्र बन्न सफल यस राप्ती प्रादेशिक अस्पताल तुलसीपुरबाट यस अवधिमा मात्र ३७१ जनाले प्रसूति सेवा लिएको अस्पालतका प्रसूति विभाग प्रमुख नर्सिङ अधिकृत रमा पराजुलीले जानकारी दिनुभयो । यसमा ७२ जनाको शल्यक्रिया गरिएको र पाँच जनाको औजारको सहायताले तथा अन्यको समान्यरूपमा नै सुत्केरी गराइएको पराजुलीले जानकारी दिनुभयो । अस्पतालको तथ्याङ्कअनुसार सुत्केरी हुन आउनेमध्ये केही १८ वर्षदेखि २० वर्षमुनिका छन् भने अन्य २० वर्ष माथिका छन् ।

यो समेत गरी यस आर्थिक वर्षको हालसम्म अस्पतालमा प्रसूति सेवा लिन आउनेको सङ्ख्या दुई हजार ७४५ रहेको छ । सेवा लिन आउनेमा दाङसहित पूर्वी रुकुम, रोल्पाको पश्चिम भेग र कर्णाली प्रदेशको सल्यान जिल्लाका रहेका छन् । त्यस्तै बन्दाबन्दी शुरु भएदेखि हालसम्म सो अस्पतालबाट २७ जनाले सुरक्षित गर्भपतन गराएको पनि पराजुलीले जानकारी दिनुभयो ।

यस अस्पतालमा प्रसूति सेवा लिन दैनिक पाँचदेखि सात जना आउने गरेको अस्पतालका स्त्रीरोग विशेषज्ञ डा विनोद सिंहले जानकारी दिनुभयो । उहाँले प्रसूति सेवा लिन आउने बढेपछि ठाउँ र जनशक्तिको कमी भए पनि व्यवस्थापन गरी सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले कोरोनाको त्रास बढिरहेको अवस्था भए पनि अस्पतालमा प्रसूति सेवा लिन आउने या जो–कोही बिरामीलाई पनि उच्च सतर्कताका साथ सुरक्षित तवरले सेवा दिइरहेको बताउनुभयो । प्रसूति सेवा लिन आउनेमध्ये केही १८ वर्षका पनि रहेको र यसरी सानै उमेरमा आमा बन्ने महिलालाई बच्चा जन्माउँदा पनि समस्या हुने र शल्यक्रिया गर्नुपर्ने भएकाले पनि अस्पतालको ध्यान सुरक्षित सेवामा हुने गरेको उहाँ बताउनुहुन्छ । पाठेघर खस्नेलगायतका धेरै प्रसूतिजन्य जटिलता हुने भएकाले उमेर पुगेपछि मात्र बच्चा जन्माउन उहाँले सुझाउनुभयो ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा विसं २०६५ मा जनस्तरबाट स्थापना गरिएको अस्पताल हो । सो अस्पताल स्थापनाका लागि यहाँका नागरिकले निकै लामो सङ्घर्ष गर्नुका साथै महायज्ञको आयोजना पनि गरिएको थियो । उक्त यज्ञबाट रु तीन करोडभन्दा बढी रकम सङ्कलन गरिएको थियो । यसबाट अस्पतालको भौतिक पूर्वाधार निर्माण गरेपछि सरकारले तत्कालीन तुलसीपुर हेल्थपोष्टलाई स्तरवृद्धि गरी राप्ती अञ्चल अस्पतालका रुपमा विकास गरेको थियो ।

तुलसीपुर क्षेत्रमा रहेको यो नै एक मात्र सरकारी अस्पताल हो । यसलाई गत वर्ष प्रदेश नं ५ सरकारले स्तरवृद्धि गरी प्रदेशको मातहतमा ल्याएर राप्ती प्रादेशिक अस्पतालका रुपमा विकास गरेको हो । हाल यस अस्पतालमा १७ विशेषज्ञ चिकित्सक, ११ मेडिकल अधिकृत गरी कूल १४५ जनाका स्वास्थ्यकर्मी तथा कर्मचारी कार्यरत छन् । सो अस्पतालबाट प्रसूतिबाहेक चैतदेखि हालसम्म एक हजार २७५ जनाले इमर्जेन्सी सेवा लिएको र १५ हजार एक ७१ जनाको ल्याब टेष्ट गरिएको अस्पतालका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिनुभयो ।

अस्पतालका मेसु सर्वेश शर्माले लकडाउनको अवधिमा अस्पतालले अत्यावश्क सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँले प्रसूति सेवा, सुरक्षित गर्भपतन, मिर्गाैलाको डायलासिसलगायतका सेवा दिइरहेको बताउनुभयो । त्यस्तै अहिले खोप सेवा, गर्भवतीको नियमित स्वास्थ्य जाँच पनि शुरु गरिएको बताउनुभयो । उहाँले राप्ती प्रादेशिक अस्पतालको जनशक्तिलाई बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा परिचालन गरी सेवा दिइरहेको पनि बताउनुभयो । लकडाउनको अवधिमा अस्पतालले आपतकालीन सेवा पनि प्रवाह गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्