बन्दाबन्दीकैबीच बजेट अधिवेशन शुरु



२६ वैशाख २०७७, काठमाडौं

संघीय संसदको बजेट अधिवेशन आज (शुक्रबार) अपरान्ह ४ बजेदेखि शुरु भएको छ ।

कोरोना भाइरस रोकथामका लागि सरकारले लकडाउन गरे पनि विशेष सावधानी अपनाएर संसद सञ्चालन गरिएको हो । जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने र त्यसअघि नीति तथा कार्यक्रम पारित र प्रिबजेट छलफल गर्नुपर्ने बाध्यताका कारण लकडाउनकै बीच संघीय संसदको अधिवेशन बोलाइएको हो ।

सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ भएको हो । वैशाख २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबारका लागि संसदको छैठौं अधिवेशन आह्वान गर्नुभएको थियो।

अधिवेशन सुरु हुनुअघि स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपायहरु अपनाइएको छ। संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार वैशाख २८ गते अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटका सिद्धान्त र प्राथमिकता (प्रि बजेट) प्रस्तुत गर्ने कार्यक्रम छ। जेठ २ गते राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ।

त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ। यसैगरी जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत कार्यक्रम रहेको छ। सांसदहरुको तापक्रम (ज्वरो) नापेर मात्रै संसद भवनभित्र प्रवेश दिइएको छ ।

भित्र छिर्नु अघि सांसदहरुलाई स्यानिटाइजर दिइएको छ। सांसदहरुले मास्क र पञ्जा लगाएका छन्।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्