२७ वैशाख २०७७, काठमाडौं
नेपालमा रहेका सबै चिनियाँ नागरिकले नेपालको नियम कानूनको अनिवार्य रुपमा पालना गर्नुपर्ने काठमाडौंस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।
सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन तथा प्रहरीसँगको झडपका क्रममा शुक्रबार (हिजो) अपराह्न पक्राउ परेका चिनियाँ नागरिकका सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिँदै दूतावासका प्रवक्ताले उत्पन्न समस्या समाधान गर्न नेपाल प्रहरी र चिनियाँ दूतावासबीच राम्रोसँग परामर्श र सहकार्य भएको बताएका हुन् ।
नेपालमा रहेका चिनियाँ नागरिकले नेपालको कानून र नियमको अधिनमा रही व्यवहारिक र उचित माग राख्न सक्ने उल्लेख गर्दै यहाँको कानून र नियम अनिवार्य रुपमा पालना गर्न चिनियाँ पक्षले उनीहरुका नागरिकलाई आग्रह गर्दै आइरहेको प्रवक्ताको प्रश्नोत्तर नोटमा उल्लेख छ ।
पक्राउ परेका चार दर्जन चिनियाँ नागरिकमध्ये प्रहरीमाथि हातपात गर्ने चार जनाविरुद्ध अभद्र व्यवहारको कसूरमा मुद्दा दर्ता गरी हिरासतमा राखिएको र बाँकी ४३ जनालाई रिहा गरिएको प्रहरीले जनाएको छ ।
|फाइल तस्वीर|