यूएईमा नेपाली : एकैदिन २२ नेपालीमा कोरोना संक्रमण, कम्पनीकै क्वारेन्टाइन राखियो



२७ वैशाख २०७७, काठमाडौं

संयुक्त अरब इमिरेट्स (यूएई)मा एकै दिन २२ नेपाली कामदारहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भेटिएको छ ।

ती सबै नेपाली महिला कामदार हुन् । यूएईको शारहजास्थित एक क्लिनिङ कम्पनीमा कार्यरत नेपाली महिला कामदारहरुमा संक्रमण देखिएको एनआरएनए युएईले जनाएको हो ।

उक्त कम्पनीमा एकैदिनमा ६१ जना महिला कामदारहरुमा कोरोना पोजिटिभ देखिएको थियो । संक्रमित हुनेहरुलाई कम्पनीले आफ्नै क्वारेन्टाइन बनाएर अलग राखेको छ ।

तर क्वारेन्टाइनमा अलग्गै बाथरुम र शौचालय नभएकोले संक्रमण नभएका अन्य कामदारहरु समस्या रहेको बताइएको छ । उक्त कम्पनीमा सयको हाराहारीमा नेपाली महिला कामदारहरु कार्यरत छन् ।

उनीहरु स्कुल, कलेज, बैंक, विभिन्न अफिसहरुमा हाउस किपिङको काम गर्छन् । एनआरएनए युएईका अध्यक्ष प्रकाश कोईरालाका अनुसार हाल सम्म युएईका सबै राज्यमा गरी एकसय ४९ जना नेपाली कोरोना संक्रमित भएका छन् ।

जसमा २७ जना उपचारपछि निको भएका छन् भने ६ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्