भारतलाई नेपालको सुझाव, ‘नेपाली भूभागमा केही गतिविधि नगर्न’



२७ वैशाख २०७७, काठमाडौं

नेपालले भारत सरकारलाई नेपाली भूभागमा कुनै पनि किसिमको गतिविधि नगर्न भनेको छ ।

परराष्ट्र मन्त्रालयले शनिबार (आज) एक विज्ञप्ति जारी गर्दै भारतलाई उक्त विषयमा सचेत गराएको हो ।

भारतीय रक्षामन्त्री राजनाथ सिंहले २६ वैशाखमा धार्चुला- लिपपुलेक सडकको उद्घाटन गरेको घटनाप्रति खेद व्यक्त गर्दै नेपालले भारतलाई नेपाली भूभागमा कुनै किसिमको गतिविधि नगर्न भनेको हो ।

“नेपालले धेरै पहिलेदेखि यो अडान राख्दै आएको हो । केही अघि भारतले राजनीतिक नक्सा जारी गरेपछिको अवस्थामा २० नोभेम्बर २०१९ मा पठाएको डिप्लोम्याटिक नोटमा त्यसलाई दोहोर्याएको छ ।” विज्ञप्तिमा भनिएको छ ।

यसैगरी विज्ञप्तिमा नेपाल सरकारले सुगौली सन्धीअनुसार काली नदीदेखि पूर्वको लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको सबै भाग नेपालको हो भन्नेमा निरन्तर अडान राख्दै आएको उल्लेख गरिएको छ ।

साथै नेपालले भारतको यस्तो एकतर्फी कामले दुई देशबीच प्रधानमन्त्रीस्तरमा भएको ‘सीमा विवाद छलफलद्वारा टुंगो लगाउने’ समझदारीको पनि उल्लंघन हुने ठहर गरेको छ।

प्रतिक्रिया दिनुहोस्