सार्क राष्ट्रमा कोभिड १९ : संक्रमितको संख्या एक लाख नाघ्यो



२७ वैशाख २०७७, काठमाडौं

दक्षिण एशियाली राष्ट्रहरुमा कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित हुनेहरुको संख्या एक लाख नाघेको छ ।

दक्षिण एसियाका आठ देशमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ६ हजार ४ सय ८२ पुगेको छ भने २ हजार ९ सय ३९ जनाको मृत्यु भएको छ ।

दक्षिण एशियामा भारत सबैभन्दा प्रभावित बनेको देश हो । अहिलेसम्म भारतमा ५९ हजार ७ सय ६५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने १ हजार ९ सय ८६ जनाको मृत्यु भइसकेको त्यहाँको आधिकारिक अभिलेख छ ।

भारतपछि कोरोनाको प्रकोप पाकिस्तानमा सबैभन्दा बढी देखिएको छ । पाकिस्तानमा २७ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ सय १८ जनाले कोरोनाकै कारण ज्यान गुमाएका छन् ।

यस्तैगरी बंगलादेशमा हालसम्म कोरोना भाइरसबाट १३ हजार ७ सय ७० जना संक्रमित बनेका छन् भने २ सय १४ जनाको मृत्यु भएको छ । हालसम्म ३ हजार ७ सय ७८ जना कोरोना संक्रमित भेटिएको अफगानिस्तानमा १ सय ९ जनाले ज्यान गुमाएका छन् ।

श्रीलंकामा ८ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ जनाको मृत्यु भएको छ । दक्षिण एशियाकै सबैभन्दा सानो राष्ट्र माल्दिभ्समा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमति हुनेहरुको संख्या ७ सय ४४ पुगेको छ भने तीन जनाले ज्यान गुमाएका तथ्यांक छ ।

यसैगरी नेपालमा हालसम्म १ सय ९ जना र भुटानमा ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको विश्वव्यापी महामारीबाट हालसम्म ४० लाखभन्दा बढी मानिसहरु संक्रमति बनेका छन् भने २ लाख ७६ हजारभन्दा बढीले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् ।

|तस्वीरमा सार्क राष्ट्रको कोरोना ब्रिफिङ्ग। श्रोतः|

प्रतिक्रिया दिनुहोस्