भारतीय हस्तक्षेपविरुद्ध तुरुन्त कूटनीतिक पहल गर्न माग गर्दै संयुक्त वक्तव्य जारी



२७ वैशाख २०७७, काठमाडौं

नेकपा क्रान्तिकारी माओवादीसहित विभिन्न जनवर्गीय संगठन तथा मोर्चाले भारतीय हस्तक्षपविरुद्ध तुरुन्त कुटनीतिक पहल गर्न सरकारसँग माग गरेका छन् ।

संयुक्त वक्तव्य जारी गर्दै उनीहरुले भारतीय हस्तक्षेप, एमसीसी सम्झौतालगायत कोरोना भाइरसको महामारीसँगै उत्पन्न समस्याप्रति सरकारको गैरजिम्मेवारीपनको विरोध गर्दै यस्तो माग गरेका हुन् ।

उनीहरुले हालै भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपाली भूभाग गुञ्जी, नावीढाङ, लिपुलेक हुँदै धार्चुला र मानसरोवर जोड्ने सडकको उद्घाटन गर्नु नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताका विरुद्धको ठाडो हस्तक्षेप भएको उल्लेख गरेका छन् ।

‘हामी भारतीय विस्तारवादद्वारा गरिएको यो अतिक्रमणको कडा विरोध तथा भत्र्सना गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपालको भूमिबाट एकलौटी रुपमा सडकको ट्र्याक खोलेर उद्घाटन गर्दा समेत त्यसको अनदेखा गर्ने नेपाल सरकारको लाचारीप्रति खेद व्यक्त गर्दै सो काम रोक्नका लागि तुरुन्त भारतीय सरकारसँग कुटनीतिक पहल गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं ।’

विज्ञप्तिमा नेपालको भौगोलिक अखण्डतामाथि गरिएको भारतीय हस्तक्षेप र नेपाल सरकारको राष्ट्रिय आत्मसमर्पणवादी रवैयाका विरुद्ध सशक्त आवाज उठाउन सम्पुर्ण देशभक्त तथा आम जनसमुदायमा विशेष आह्वान समेत गरिएको छ ।

उनीहरुले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पारित नगर्न पनि खबरदारी गरेका छन् । यस्तै, कोरोना भाइरसजन्य प्रकोपको रोकथामका लागि खुला सिमाना नियन्त्रण गर्नुपर्ने माग प्रायः सबैतिरबाट र मुख्यतः भारतसँग सिमाना जोडिएका प्रदेशबाट उठ्न थालेको उल्लेख गर्दैै विज्ञप्तिमा निश्चित नाकाहरु खुला राखेर बाँकी सिमानामा तारबार लगाई सँधैका लागि सीमा बन्द गर्ने दिशामा पहल थाल्न सरकारसित जोडदार माग गरिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्