२८ वैशाख २०७७, काठमाडौं
आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेट र नीति तथा कार्यक्रमका बारेमा आइतबार (आज)देखि संघीय संसदमा प्रि बजेट छलफल शुभारम्भ हुँदै छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको दुवै सदनमा छलफलका लागि प्रस्ताव पेश गर्नेछन् । सम्भावित कार्यसूचीका अनुसार अर्थमन्त्री खतिवडाले आव २०७७ र ७८ का लागि विनियोजित विधेयकका सिद्धान्त र प्राथमिकता कर प्रस्ताव बाहेक पेश गर्नेछन् ।
त्यसमा सांसदहरुले आआफ्नो धारणा राख्नेछन् । उक्त छलफलका लागि प्रतिनिधि सभा बिहान ११ बजे र राष्ट्रिय सभा दिउँसो २ बजेका लागि बैठक डाकिएको छ । दुवै सदनमा बजेटका सिद्धान्त र प्राथमिकताबारे अर्थमन्त्री खतिवडालाई सुझाव दिइनेछ ।
संघीय संसदका सुझाव समेट्दै अर्थमन्त्री खतिवडाले नीति तथा कार्यक्रम ल्याउनेछन् । उक्त नीति तथा कार्यक्रमको आधारमा बजेट आउनेछ । १५ जेष्ठमा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।
जसका कारणले कोरोना महामारीबीचमा पनि स्वास्थ्य सावधानी अपनाउँदै संसद बोलाइएको हो ।
|फाइल तस्वीर|