आफ्ना पिताका लागि गायक प्रकाश सपुतले लेखे यस्तो मनछुने कविता



२८ बैशाख २०७७, काठमाडौँ

प्रकाश सपुत अहिलेका निकै नै चर्चित लोकगायक हुन् । उनले गाएका धेरै गीतहरु सफल छन् । यस्तै अब त प्रकाश गायक बाट नायक समेत बन्ने भैसकेका छन् । लकडाउनका अघि उनी चलचित्र परदेशी २ को छायांकनमा व्यस्त थिए ।

अहिले लकडाउनका कारण चलचित्रको काम रोकिएको हो । प्रकाश अहिले परिवारसँग समय बिताइरहेका छन् । यसैबिच उनले सामाजिक सञ्जालमा एक तस्बिर सेयर गरे । जहाँ उनी आफ्ना पिताको हजाब बनेर कपाल काटिदिइरहेका छन् ।

छोराले कपाल काट्दै गर्दा विगत सम्झिएर प्रकाशका बाबुले भने, कपाल बाहिर काटेर खर्च हुने पैसाले बालबच्चाको कापीकलम किन्न पुग्छ भनेर जोगाउन साथिलाई काट्न लगाउँथे । बाबुको यस्तो कुराले प्रकाशको मनमा चिसो पस्यो । त्यसपछि उनले बाबुको लागि एक कविता लेखेका छन् ।

हेरौ उनको कविता :

“ बा र दशै “
हरेक ३/४ सालमा एकपटक
आउथे एक ज़ोड गहिरो आखा
र चुपचाप प्रश्न गर्थे मलाई
छोरा,
कहिले हुन्छन ठुलो ?
कहिले बाड्छस दु:ख ?
कहिले सक्छस साउको सावा ?
कहिले ठोक्काउछस म संग गिलास
र बन्छस बाउको साथी ?
उत्तरमा अर्का एक जोड़ निर्दोष आखाहरु
प्रश्नै फर्काउथे ।
बा,
कति पोल्दो हो अरबको घामले ?
कति पोल्दो हो हाम्रो यादले ?
कति पोल्दो हो साउको सावाले ?
कति पोल्दो हो आफ्नै अधुरा रहर
र कहिल्यै नसकिने दुखले ?
३/४ सालमा एकपटक
आउथ्यो , एउटा खदिलो ज्यानको गम्भिर अनुहार
र बनाउथ्यो घरै उजेलो
थपिन्थ्यो, आमाको सिन्दुर टिका र पोतेमा नया चमक ।
भिजाउथ्यो, भाईहरुको मुख गुलियो थुकले ।
सजिन्थ्यो , सबैको हरमा एक एक ज़ोर नया लुगा ।
पाक्थ्यो , अगेनामा बडो प्यारले पालेको रातों भाले ।
बस्थ्यो , पुरानो बाक्सामा केहि हज़ार नया नोटहरु ।
त्यो दिन,
दिन दशै हुदैनथ्यो
मन दशै हुन्थ्यो ।
किनकि
बा आएको साल
आएकै दिन दशै आउथ्यो
बा नआएको साल
दशैको दिन पनि दशै आउदैनथ्यो ।

 

प्रतिक्रिया दिनुहोस्