भारतीय र चिनियाँ सैनिकबीच झडप : ११ जना घाइते



२८ वैशाख २०७७, काठमाडौं

भारतको उत्तर सिक्किमस्थित ना कुला क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच झडप भएको छ ।

ना कुला क्षेत्रको दुई देशको सीमामा भारतीय र चिनियाँ सेनाबीच झडप भएको भारतीय सैनिक स्रोतलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

चार भारतीय सेना र सात चिनियाँ सेना झडपको क्रममा घाइते भएको जनाइएको छ । उनीहरुलाई सामान्य चोट लागेको र अवस्था खतरामुक्त रहेको बताइएको छ ।

उक्त झडप शनिबार (हिजो) हिजो शनिबार भएको थियो । नियमित गस्तीको क्रममा दुवै पक्षको फौजको बीच झगडा भएको हो । अहिले स्थानीय स्तरमै छलफल गरी सो समस्याको हल गरिएको बताइए पनि यसबारे दुवै देशले औपचारिक प्रतिक्रिया जनाएका छैनन् ।

अति विकट हिमाली क्षेत्रका रुपमा रहेको यो क्षेत्र सडक सञ्जालले जोडिएको छैन । भारत र चीनको सीमा विवादलाई लिएर त्यहाँ यसप्रकारका घटना हुँदै आएका छन् ।

गत वर्ष पनि लद्दाखमा गस्तीका क्रममा दुई देशका सैनिकबीच झडप भएको थियो । त्यस्तै सन् २०१७ मा पनि यसै स्थानमा दुवै पक्षका सेनाबीच झडप भएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्