२९ वैशाख २०७७, काठमाडौं
सत्तारुढ नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रभुख तथा वरिष्ठ नेता माधव कुमार नेपालले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा कुमारी अर्यालले २ सय वर्षदेखि नेपालको नक्सामा लिम्पियाधुरा छैन भनेर अनावश्यक अभिव्यक्ति दिएको बताएका छन् ।
उनले मन्त्री अर्याललाई त्यस्तो नबोल्न सुझाव पनि दिएका छन् । सोमबार (आज) संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै नेता नेपालले भने, ‘सरकारलाई विवादित बनाउने काम नगर्नुस् । तत्काल माफी मागिहाल्नुस् । शिक्षा मन्त्रालयले पनि आफ्ना सम्पूर्ण पाठ्यक्रममा नेपालको सम्पूर्ण भूभाग भएको नक्सा प्रकाशन गर्नुपर्यो ।’
यस्तै उनले तत्काल सम्पूर्ण भूभाग समेटिएको नेपालको नक्सा प्रकाशन गर्न आग्रह गरेका छन् । नेता नेपालले आवश्यक परे सिमानामा काँडेतार लगाउन समेत जोड दिएका छन् ।
यसैबीच नेता नेपालले सानो छिमेकी देशप्रति भारतको दृष्टिकोण नै ठीक छैन कि भन्ने देखिएको भन्दै भारतले गरेको सीमा अतिक्रमणले नेपाल भारतबीच भएको सम्झौता उल्लंघन भएको बताए ।
|फाइल तस्वीर|