लिपुलेकबारे भारतलाई नेपालले भन्यो, ‘कोरोनाको अन्त्यसम्म पर्खिन सक्दैनौं’



२९ वैशाख २०७७, काठमाडौं

नेपालले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी भारतले बनाएको सकडबारे वार्ताको लागि कोभिड १९ (कोरोना भाइरस)को अन्त्यसम्म पर्खिन नसक्ने भनी प्रतिक्रिया दिएको छ ।

भारतले नेपाली भूमि अतिक्रमण गरेर लिपुलेकमा सडक बनाएपछि नेपालले आपत्ति जनाएको छ भने, त्यसलाई यथास्थितिमा राख्न मागसमेत गरेको छ ।

जवाफमा भारतले आफ्नै भूमिमा सडक बनाएको दावी गरेर त्यसबारे वार्ता कोरोना सकिएपछि गर्ने भनेको छ । तर नेपालले त्यसबेलासम्म पर्खिन नसक्ने परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको सोमबार (आज) बसेको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘अस्ती भारतीय विदेश मन्त्रालयका प्रवक्ताको वक्तव्य हेरें । कोरोनापछि वार्ता गर्न तयार छौं भन्नुभएको रहेछ । हामी त्यति पर्खिने पक्षमा छैनौं । छिटो वार्ता शुरु हुनुपर्छ ।’

यसअघि नेकपाका अन्तर्राष्ट्रिय विभाग प्रमुख तथा वरिष्ठ नेता माधवकुमार नेपालले कोरोनाको अन्त्यसम्म नपर्खि तत्काल भिडिओ वार्ता गर्न सुझाएका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्