संसदमा सांसदका एउटै स्वर : ‘सीमामा अलपत्र नेपालीलाई भित्र्याऔं’



२९ वैशाख २०७७, काठमाडौं

प्रतिनिधि सभाको सोमबार (आज)को बैठकमा भारतको सीमामा अलपत्र नेपालीलाई भित्र्याउनुपर्ने आवाज बारम्बार उठ्यो ।

बैठकको शून्य समयमा सांसदहरुले कोभिड १९ (कोरोना भाइरस)को जोखिम र मजदूरी कामसमेत प्रभावित भएका बेला स्वदेश फर्कन चाहने नेपालीलाई स्वास्थ्य परीक्षण गरी क्वारेन्टाइनमा राख्ने सर्तमा नेपाल ल्याउन माग गरेका हुन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद डा. अमरेशकुमार सिंहले प्रश्न गर्दै भने, “के सीमामा बसेका नेपाली नागरिक होइनन् ? तिनीहरुलाई स्वदेश ल्याउनु सरकारको दायित्व होइन ?”

यस्तै कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले जनताको व्यथालाई ध्यान नदिएको बताए । व्यङ्ग्यात्मक बाल कविता भनेका उनले सरकारको घुमाउरो पारमा व्यङ्ग्य गरे । यस्तै उनले सरकारले सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याउनुपर्ने बताए ।

यस्तै राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीले भारतको विहार राज्यमा १४ दिन क्वारेन्टाइनमा बसिसकेका नेपालीलाई पनि नेपाली सीमामा आफ्ना नागरिकलाई आउन नदिनु कहाँको नियम हो भनी प्रश्न गरे ।

यसैगरी अर्की कांग्रेस नेत्री उमा रेग्मीले सीमामा आएका नेपालीलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काउन सरकारले कदम चाल्नुपर्नेमा जोड दिइन् ।

तर, सत्तारुढ नेकपाका सांसद खेमप्रसाद लोहनीले कोरोना रोकथाममा सरकारको प्रयास प्रशंसनीय भएकाले सीमा नाकामा अझै कडाइ गर्नुपर्ने र विदेशमा रहेका नागरिकको उपचारमा आवश्यक पहल गर्न आवश्यक रहेको बताए ।

|तस्वीरमा बैठक। श्रोतः|

प्रतिक्रिया दिनुहोस्