अमेरिकामा देखाईएको भन्दा दुई गुणा बढि मृत्यु, मृत्युदरका बारेमा सल्लाह दिने विशेषज्ञले गरे सनसनीपूर्ण खुलासा



३० बैशाख २०७७, काठमाडौं

अमेरिकी एक विशेषज्ञले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको वास्तविक संख्या दोब्बर भएको बताएका छन् । अहिलेसम्म अमेरिकामा ८१ हजार ७ सय २४ जनाको मृत्यु भएको र संक्रमितको संख्या अहिले १३ लाख ८४ हजार ६ सय ८१  पुगेको आधिकारीक तथ्याङ्कमा उल्लेख छ ।

युनिभर्सिटी अफ टेक्ससका प्रा.मार्क हेइवार्डले अमेरिकाको वास्तविक तथ्याङ्क फरक रहेको बताएका छन् । हेइवार्ड अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी)लाई मृत्युदरका बारेमा सल्लाह दिने व्यक्ति हुन् ।

द इन्डिपेन्डेन्टसँगको कुराकानीका क्रममा उनले अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट १ लाख ६० हजार मानिस मरिसकेको दावी गरेका छन् । उनले अहिले सार्वजनिक भएको संख्या भन्दा दुई गुणा संख्यामा मृत्यु भएको दावी गरेका हुन् । मृत्युदरका विषयमा सल्लाह दिने व्यक्तिबाटै यस्तो प्रतिक्रिया आएपछि अमेरिकी नागरिक त्रसित भएका छन् ।

अमेरिका अहिलेसम्म संसारमै सबैभन्दा धेरै प्रभावित मुलुक हो । प्रा. मार्कले कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको ठोस तथ्याङ्क पत्ता लगाउन निक्कै कठिन भएको बताएका छन् । उनले कोरोना भाइरसको संक्रमण भएका व्यक्तिको उपचार र परीक्षणमा पनि प्रश्न उठाएका छन् ।

अहिलेसम्मको अध्ययनमा गम्भीर बिरामीको उपचार गर्न समस्या भएको छ । मुटु रोगी, स्ट्रोक्स र कयान्सर जस्ता रोगको संक्रमणमा परेका व्यक्तिहरुमा थप चिन्ताले सताएको मार्कको भनाइ छ । उनीहरुले थप उपचार पाउन पनि समस्या भएको उनको तर्क छ ।

अमेरिकी विशेषज्ञहरुले यसअघि पनि पटक पटक कोरोना भाइरसको संक्रमण र मृत्युदरका विषयमा विभिन्न प्रश्न उठाएका छन् । रिपोर्टिङको तरिका र टेस्टिङको कमीलाई अमेरिकी विशेषज्ञहरुले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्