पत्रकारसँग मुखामुख : पत्रकार सम्मेलन छाडेर हिँडे ट्रम्प



३० वैशाख २०७७ अमेरिका

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प फेरि पत्रकारसँग भड्किएका छन् ।

पत्रकारहरुसँग लगातार वादविवाद भएपछि पत्रकार सम्मेलन नै कटौती गरेका ट्रम्प सोमबार (हिजो) को पत्रकार सम्मेलनमा पनि भड्किए र प्रेस ब्रिफिङ्ग नै छाडेर हिँडेका हुन् ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसको रोज गार्डेनमा आयोजित पत्रकार सम्मेलनमा पत्रकारलाई ओठे जवाफ फर्काएका ट्रम्प दुई पत्रकारसँग दाहोरो विवादमै ओर्लिए ।

अमेरिकी टेलिभिजन नेटवर्क सीबीएस न्यूजकी पत्रकारले सोधेको प्रश्नको बटारिएको उत्तर दिएका ट्रम्पले सीएनएनकी पत्रकारसँग विवादमा उत्रिए र अन्त्यमा सम्मेलन नै छाडेर हिँडे ।

२७ अप्रिलपछि पत्रकार सामुन्ने आएका ट्रम्पलाई सीबीएस न्यूजकी पत्रकार वइजी जियाङ्गले हरेक दिन अमेरिकीले ज्यान गुमाएका छन् र संक्रमण पनि बढिरहेको छ तर तपाईँ धेरै परीक्षणको सन्दर्भ मात्र जोडिरहनु हुन्छ यसको के महत्व छ भन्ने प्रश्न गरेकी थिइन् ।

जवाफमा ट्रम्पले ‘यो कुरा मलाई नसोध । चीनसँग सोध ।’ भन्दै पन्छिन खोजे । विश्वभरी मानिस मरिरहेको जिकिर गर्दै ट्रम्पले जियाङ्गलाई भने, ‘शायद यो प्रश्न मलाई होइन तिमीले चीनसँग सोध्नुपर्छ । मलाई नसोध । चीनलाई सोध त्यो प्रश्न । यो प्रश्न चीनलाई सोधे शायद तिमीले अति असामान्य जवाफ पाउने छौ ।’

यति भन्दै ट्रम्पले सीएनएनकी पत्रकार केटलन कोलिन्सलाई प्रश्नका लागि पालो दिए । तर जियाङ्गले तपाईं मलाई किन यस्तो भनिरहनु भएको भन्दै प्रतिप्रश्न गर्दा ट्रम्पले ‘मैले तिम्लाई नै मात्र भनेको होइन त्यस्तो दुष्ट प्रश्न गर्ने सबैलाई भनेको हो ।’

पत्रकार जियाङले आफुल खराब वा दुष्ट मनसायले प्रश्न नसोधेको बताइन् । त्यही बेला पालो कुरेर बसिरहेकी सीएनएनकी पत्रकार कोलिन्सले प्रश्न गर्न खोज्दा ट्रम्पले तिम्ले आफ्नो समयमा प्रशन नसोधको भन्दै अर्कै पत्रकारलाई प्रश्नका लागि आग्रह गरे ।

कोलिन्सले आफ्नो पालो रहेकाले प्रश्न गर्न पाउनुपर्ने बताएपछि ट्रम्पले भने पत्रकार सम्मेलन नै छोडेर हिँडे । ट्रम्पको बारम्बार पत्रकाहरुसँग विवाद परिरहन्छ ।

|तस्वीरमा पत्रकार सम्मेलन। श्रोतः|

प्रतिक्रिया दिनुहोस्