सरकारलाई संसदीय समितिको तेश्रो निर्देशन : ‘नयाँ नक्सा छाप्नु’



‘३० वैशाख २०७७, काठमाडौं

प्रतिनिधि सभाअन्तर्गतको संसदीय समितिले नेपालको अतिक्रमित भूमिबाट भारतीय सेना फिर्ता पठाउन सरकारलाई तेस्रो पटक निर्देशन दिएको छ ।

यसअघि दुई पटक निर्देशन दिइसकेको पनि समितिले तेश्रो पटक पुनः निर्देशन दिएको हो । यसअघि दिइएको निर्देशनको सरकारले अटेर गरेकाले मंगलबार (आज) पुन दिइएको हो । अतिक्रमित नेपाली भूभाग समेटेर अविलम्ब नक्सा प्रकाशित गर्न समितिले सरकारको ध्यानाकर्षण गराएको हो ।

भारतले नेपालको भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानीसहितको नयाँ नक्सा ३ नोभेम्बरमा सार्वजनिक गरेको थियो । भारतले नेपाली भूमि आफ्नो नक्सामा पारेको र नेपाली भूमिमै सडक बनाएको भन्दै अहिले सडकदेखि सदनसम्म विरोध भइरहेको छ ।

नेपालको भूमिमा सडक बनाउनु अन्तर्राष्ट्रिय कानून, दुई देशबीचको सम्झौता र सहमति, असल छिमेकी नीतिविपरीत भएको पनि समितिले ठहर गरेको छ ।

भारतले तावाघाटदेखि नेपालको दार्चुलाको लिपुलेकसम्म सडक निर्माण गरी उद्घाटन गरिसकेको छ ।  समितिले लिम्पियाधुरा, लिपुलेकलगायत कालापानी क्षेत्रमा नेपालको सुरक्षा र प्रशासनिक उपस्थिति कायम गराउन सरकारलाई निर्देशनसमेत दिएको छ ।

त्यस्तै समितिले परासीको सुस्ता र कञ्चनपुरको पुनर्वास र बेलौरीलगायत ठाउँमा सीमा व्यवस्थापनको काम अविलम्ब गर्न पनि सरकारलाई निर्देशन दिएको छ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालसँगको छलफलपछि सरकारलाई समितिले ३ बुँदे निर्देशन दिएको हो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्