३१ बैशाख २०७७, काठमाडौं
नेपालमा मंगलबार एकैदिन ८३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जबकि कोरोना भाइरस संक्रमणको पहिलो केस देखिएको ५८ दिनपछि मात्र दोस्रो केस देखिएको थियो ।
त्यसपछि भने एकाएक संक्रमणको रफ्तार उकालो लाग्यो । वैशाख ५ गते उदयपुर र चितवनमा गरी १४ जनामा संक्रमण देखिएपछि संक्रमणको दर स्थिर रहेन । यो रफ्तार मंगलबार साँझसम्म आइपुग्दा संक्रमितको कुल संख्या २१७ पुगेको छ । जसमध्ये १८७ वटा केस यही महिना र ८३ वटा मंगलबारको मात्र हो ।
यो संख्या तीव्र गतिमा बढ्नसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूको आकलन छ । अहिले सरकारले उदयपुरको भुल्के, वीरगञ्ज, नेपालगञ्ज, रुपन्देही र कपिलवस्तुलाई कोरोनाको हटस्पट मानेको छ । यसबाहेक भारतसँग सिमाना जोडिएका सबै जिल्लालाई रेड जोनमा राखिएको छ ।
हालसम्म देखिएका नयाँ संक्रमितमध्ये धेरै भारतबाट लुकीछिपी नेपाल आएका व्यक्ति वा उनीहरुको सम्पर्कमा आएर संक्रमित भएको देखिएका छन् । उनीहरु लुकीछिपी आउँछन्, सरकारी निकायलाई कसैलाई जानकारी नदिइ सिधै घर पुग्छन्, गाउँघरमा निर्वाध डुल्छन् र त्यहीँबाट कोरोनाभाइरस फैलिएको छ ।
यससँगै काठमाडौं र भक्तपुरमा पनि संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन् ।