अमेरिकामा रहेका गायक हिमाल सागरको नेपाल सरकारसँग अपिल- ‘अलपत्र परे, नेपाल फर्कन पाउँ’



३१ बैशाख २०७७, काठमाडौँ

चर्चित गायक हिमाल सागरले अमेरिकामा आफू अलपत्र भएको बताएका छन् । नेपालमा लकडाउन सुरु हुनु अघि नै सांगितिक कार्यक्रमको लागि १ महिनाका लागि अमेरिका गएका थिए  । सुरु सुरुमा उनले अमेरिकाका धेरै स्थानमा आफ्नो प्रस्तुती दिए ।

त्यतिबेला सम्म अमेरिकामा कोरोनाको महामारी कत्तिपनि थिएन । नेपाल पनि सुनसान नै थियो । चैत्र १२ गते उनले नेपाल फर्कने योजना बनाएका थिए । तर चैत्र ११ बाट नै नेपाललाई पूर्ण रुपमा लकडाउन गरियो भने सबै हवाई उडानहरु पनि रोकिए ।

सुरु सुरुमा त उनलाई त्यस्तो केही लागेको थिएन । नेपालमा कोरोनाको संक्रमण त्यति नदेखिएकाले उनलाई चाडै नै लकडाउन खुल्ने र विमानहरु पनि खुल्ने कुरामा विश्वास लागेको थियो । तर उनले सोचेजस्तो भएन ।

नेपालमा कोरोना संक्रमित बढेसँगै लकडाउन पनि बढ्दै गयो । अब त झन् नेपालमा लकडाउन निकै कडाई रुपले गरिने बताइएको छ । यस्तो अवस्थामा हवाई उडान खोल्ने सम्भावना कत्तिपनि छैन ।

अब भने हिमाललाई अत्यास लाग्न थालिसकेको छ । अमेरिकाको स्थिति भयावह छ । अहिले उनी आफ्ना एक साथीको घरमा बसिरहेका छन् । तर धेरै समय बसिसकेकाले उनलाई त्यहाँ बस्न असहज महसुस हुन थालिसकेको छ ।

आफूजस्तै अभरमा परेका धेरै नेपालीहरु अमेरिकामा रहेको भन्दै उनले स्वदेश फर्किने वातावरण मिलाइदिन सरकारसँग आह्वान गरे । हिमालका अनुसार एनआरएनए अमेरिकाले अप्ठेरोमा परेका नेपालीहरुलाई प्लेन चार्टड गरेर नेपाल फर्काउन पहल गरे पनि सरकारबाट स्वीकृति पाएको छैन ।

उनी भन्छन्, ‘हामी नेपाल फर्किएपछि तीन सातासम्म कडा आइसोलेसनमा बस्न तयार छौं । ‘सरकारले स्वीकृति दिन डराउनुपर्ने कारण छैन ।’

केही दिनअघि भुटानले आफ्नो देशकी एक अभिनेत्रीलाई प्लेन चार्टर गरेर नेपालबाट फर्कायो । यो खबर सुनेका हिमालले नेपालको सरकारले पनि आफ्ना नागरिकहरुप्रति जिम्मेवारी वहन गर्ने आशा राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्