३१ वैशाख २०७७, काठमाडौं
राष्ट्रिय सभाको आजको बैठकले ‘राष्ट्रिय खेलकूद विकास विधेयक, २०७५’ माथि प्रतिनिधि सभाबाट भएको संशोधनउपर विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।
युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले उक्त प्रस्ताव प्रस्तुत गरेका थिए । आजकै बैठकले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६’ र ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने निर्णय गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले प्रस्तुत गर्नुभएको उक्त विधेयक विधायन व्यवस्थापन समितिमा पठायोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो ।
यस्तै राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘बीउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५’ र ‘बिरुवा संरक्षण (पहिलो संशोधन) विधेयक, २०७५’ टेबुल गरे ।
राष्ट्रिय सभाको अर्को बैठक आगामी जेठ २ गते साँझ ६ बजे बस्नेछ ।
|फाइल तस्वीर|