स्पेन : ११३ वर्षीया वृद्धा कोरोनामुक्त



३१ वैशाख २०७७, म्याड्रिड

स्पेनकै सबैभन्दा वृद्ध ठानिएकी एक ११३ वर्षीया वृद्धा काभिड १९ (कोरोना भाइरस)मुक्त भएकी छन् ।

अवकाश जीवन बिताउने केअर होममा बस्दै आएका अरू धेरैजना वृद्धवृद्धाको मृत्यु भए पनि ११३ वर्षीया वृद्धाले कोरोना भाइरसलाई परास्त गर्न सफल भएकी एएफपीले जनाएको छ ।

अमेरिकामा जन्मिएकी मारिया ब्रानयासलाई गत अप्रिलमा कोरोना संक्रमण भएको थियो । उनी विगत २० वर्षदेखि स्पेनको पूर्वी शहर ओलोटको सान्टा मारिया डेल टुरा केअर होममा बस्दै आएकी थिइन् ।

उनीमा श्वासप्रश्वासको समस्या देखिएको थियो । केअर होमकी प्रवक्ताले मारियाको अहिले स्वास्थ्य अवस्था निकै राम्रो रहेको बताइन् । उनले भनिन्, “मारियाको गत साता स्वास्थ्य परीक्षण गरिएको थियो र नतिजा नेगेटिभ देखिएको थियो ।”

तीन सन्तानकी आमा मारियालाई केही साता उनकै कोठामा आइसोलेसनमा राखिएको थियो । उनको हेरचाहका लागि एकजना कर्मचारीलाई व्यक्तिगत सुरक्षा सामग्री लगाएर खटाइएको थियो ।

क्याटालान टेलिभिजन टिभी ३ ले शताब्दी वृद्धाको समाचार कथा प्रशारण गरेको छ । टेलिभिजन फुटेजमा मारियाले आफूलाई केअर होमका कर्मचारीले निकै माया गरेको बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्