‘कोभिड १९’ को गैरकानुनी अनुसन्धान



०२ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित पहिलो नेपाली युवाको रोग पहिचानका लागि लिइएको जीनको नमूना परीक्षणबाट गैरकानुनी रूपमा अनुवांशिक .(जेनेटिक) सिक्वेन्सिङ गरिएको खुलासा भएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को इथिकल रिभ्यू बोर्डबाट अनुमति नलिई विदेशमा सिक्वेन्सिङ गरिएको पाइएको हो । सिक्वेन्सिङ गरिएको अनुसन्धानात्मक रिपोर्ट अमेरिकन सोसाइटी फर माइक्रोबायोलोजीको जर्नलमा प्रकाशित गरिएको छ ।

चीनको वुहानमा अध्ययनरत नेपाली युवाको स्वाब विश्व स्वास्थ्य संगठनको हङकङस्थित प्रयोगशालामा सिक्वेन्सिङ गरिएको हो । ३२ वर्षीय ती नेपाली युवकलाई गत ९ माघमा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

परिषद्को इथिकल रिभ्यु बोर्डका एक सदस्यकाअनुसार रोग पहिचानको लागि लिइएको नमूनालाई ती संक्रमित युवा र परिषद्बाट अनुमति नलिई अनुसन्धान गरिएको हो ।

विदेशी अनुसन्धानकर्ता र नेपाली चिकित्सकको संयुक्त कार्य गैरकानुनी देखिएपछि स्पष्टिकरणका लागि पत्र काटिएको छ । ६ जना नेपाली चिकित्सकको संलग्नता देखिएपछि उनीहरूलाई स्पष्टिकरण सोधिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कार्यरत विशिष्ट श्रेणीका चिकित्सकहरू संलग्न रहेको पाइएकोछ ।

परिषद्को इथिकल रिभ्यु बोर्डका एक पदाधिकारीले भने, ‘हामीबाट अनुमति लिइएको छैन । कसरी, किन र कहाँ पठाइएको हो ? यसबारे केही जानकारी छैन ।’

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्