३३ लाख बजेटमा ३ वर्षदेखि नेपालभारत सीमामा ५ किमि काँडेतार लगाउँदै पर्सा ठोरी ३ का वडाध्यक्ष तामाङ



०२ जेठ २०७७, काठमाडौं

पर्सा जिल्लाको ठोरी गाउँपालिका वडा नम्बर–३ का वडाध्यक्ष सूर्यबहादुर तामाङले आफ्नो वडा क्षेत्रभित्र पर्ने साढे पाँच किलोमिटर भारतीय सीमा छोएको क्षेत्रमा २०७४ साल मंसिरदेखि शुरु गरेर अहिलेसम्म साँढे ४ किलोमिटर तारबार लगाईसकेका छन् ।

“पटक–पटक भारतीयहरुको नेपालीहरुलाई गरेको दुर्व्यवहार, नेपालीहरुको जग्गा मिच्ने र नेपाली सीमा नजिक रहेको भारतीय जङ्गलका जङ्गली जनावरले नेपालतर्फ खेती लगाएका बेला नेपालीहरुले लगायतका बाली नष्ट गरिदिन्छन् । यी दुवै समस्याको समाधानका लागि स्थानीय जनताको माग अनुसार सीमा क्षेत्रमा काँडेतार लगाउने निधो गरेको हुँ ।” उनले परिवर्तन खबरसँग भनेका छन् ।

अन्तर्राष्ट्रिय सीमा नियम अनुसार दशगजा क्षेत्रको दुरी (साढे २९ फिट) छोडेर लगाएको तारबार २०७७ सालमा आएर रोकेकोमा आक्रोश पोखे ।

२०७४ सालको बजेटमा पन्ध्र लाख, २०७५ सालमा दश लाख र २०७६ सालको बजेटमा आठ लाख विनियोजन गरी शुरु गरिएको काँडेतारबारको कामलाई यहि आर्थिक वर्षभित्रमै सक्ने योजना रहेको समेत वडाध्यक्ष तामाङले बताए ।

दशगजाभन्दा ३०० मिटर नेपाली भूमीमा पसेर भारतीयले खोलामा बाँध बनाएकाले नेपाल सरकारद्वारा करिब ६ करोड लागतमा निर्मित पुल समेत प्रयोग हुन सकेको छैन ।

गाउँपालिका प्रमुखसँगको सल्लाह, नेपाली सुरक्षा निकायको साथै भारतीय सुरक्षा निकाय समेतको सल्लाहमा अहिले लकडाउनका बेला लगाईरहेको काँडेतार लगाउने काम २० दिन अघि भारतीय बन अधिकारी र सुरक्षाकर्मीले अवरोध गरेपछि काम रोकिएको वडाध्यक्ष तामाङले परिवर्तन खबरलाई बताए ।

तत्कालिन नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित तामाङले तत्काल भारतीय दवावमा काम रोकिएको भएपनि एक ईञ्च नेपाली भूमि भारतीयलाई मिच्न नदिने समेत बताए ।

(ठोरी–३ का वडाध्यक्ष सूर्यबहादुर तामाङले सम्पादक ध्रुवप्रसाद घिमिरेसँग गरेको टेलिफोन कुराकानीको आधारमा)

प्रतिक्रिया दिनुहोस्