०३ जेठ २०७७, काठमाडौं
भोग्ने बर्ष हजार लाख दुनियाँ यो विश्वले भोग्दछन् ।
सर्वोत्कृष्ट विराज किन्तु नरमा स्रष्टा सुधा पर्दछन् ।।
ओजस्वीहरु बाघका कुसुम झैँ फक्रेर हाँस्छन् सधैँ ।
तिन्कै देश हिमाल माथ जसरी झुक्दैन सामू कसै ।।
यस्तै गौरव सिर्जना जबजका सिद्धान्त नौलो दिने ।
धर्ती नायक योग्य धीर जननेता विश्व हल्लाउने ।।
अर्को मार्क्स उदाउँदै मदनको भन्थे नि नेपालमा ।
उन्कै भव्य विचारको र खदिँलो चर्चा थियो विश्वमा ।।
मोर्चामा जहिले, सधैँ हरघडी पैलो उनी सर्दथे ।
संसद् मा पनि फेरि धेर विजयी बन्ने उनी पर्दथे ।।
काम्थ्यो थर्थर संसदै पनि अहो ! गर्जन्छ बोली जहाँ ।
वर्षाथ्यो नि उपाधिको कति लिने छोड्ने कि राख्ने उहाँ ।।
क्वै गर्थे कति द्वैष डाह तिनको गन्तव्य नेतृत्वमा ।
चाहन्थे विष ती समर्थन गरुन् आफ्नै खराबी महाँ ।।
ठान्नेले त लियो नियोजित गरी ज्यानै लियो देशको ।
देखायो नवरङ्ग दुष्ट जसले त्यो चित्र हो दैत्यको ।।
घुम्छन् वाज अनेक राग पिउँदै बोकेर हिंसा यहाँ ।
मर्छन् भौतिक डुब्छ शोक दुनियाँ, मर्दैन निष्ठा यहाँ ।।
यस्तो वाज अदृश्य दैत्य सरिका रित्याउने आँगन ।
सोही काल रहेछ जान्नु कसरी, मास्ने कला जीवन ।।
जेठै तीन गते नविर्स धरणी देशै रोएको दिन ।
कस्तो साल पचास संवत अरे ! कुण्ठा रहेछौ किन ?
थोरै हाँस्न दिने र खेल्न नदिने, के चाल हो लोकको ।
कस्तो निष्ठुर आत्म हो मनुजको ज्यानै लिने देशको ।।
मोती वा हलिदाइ सागर कुनै संग्राम जे जे थियो ।
भेट्दैनौं अब लोक सुन्दर कुना खोजेर संसारको ।।
मान्छे निष्ठुर हुन्छ देख्न नसकी अर्को चढेको सिंढी ।
त्यस्ताले अब बाँच्न दिन्न कहिल्यै बढ्दैन नौलो पिढी ।।
सौहार्दीपनका कुवेर मनका हस्ती थिए राष्ट्रका ।
पाइन्छन् न त मिल्छ नै मदन झैँ श्रदेय संसारका ।।
चालिस् एक उमेर अल्प वयको ती द्वीप छैनन् यहाँ ।
खाली घाउ त फुट्छ वक्षस्थलमा आनन्द वैल्यो यहाँ ।।
ढुङ्गा दास महा अपर्झट परे नेता दुई छालमा ।
खायो दुश्मनले डुबे खबर भो एक्कासि संचारमा ।।
चाहेनन् जसले कुशाग्र मतिको त्यो शौर्य नेतृत्व हा !
यौटा सुन्दर सिर्जना झरिगयो त्यो दास ढुङ्गा महाँ ।।
सन्ध्याको मुखमा डुबे मदन साथी गण्डकी भेलमा ।
धर्ती नै रनभुल्लमा परिगयो भो देश अन्योलमा ।।
सुन्दा यो परिवार इष्ट सबमा पीडा झनै बर्षियो ।
सन्नाटा अनि शोकमग्न धरती आकूल व्याकूल भो ।।
चेली दाजु सबै र भाइ तिनका होसै हरायो अरे ।
ती वाला टुहुरा सपत्नी सबले सुन्दै त मुर्छा परे ।।
डुब्दा भर्खर नै नदी तिर थियो बोलेर डाकेसरी ।
सुन्दै गो घटना बिछट्ट मन भो चट्याङ्ग बज्रेसरी ।।
त्यो रातैभर देशको नयनमा बाढी चल्यो हर्हर ।
निस्केनन् तिनमा दुईजन मरे भन्थे सबै घर्घर ।।
फुट्यो द्वार धरा नदी जलभरी बज्रै खसेको सरी ।।
धर्तीको सहकाल नै झरिगयो बिच्कन्छ छाती घरी ।
आयो पाँच गते र आठ समयै बत्तीस नापै परै ।
त्यो गाँजीपुरमा छ लास भनियो, सारा डुबे शोकमै ।।
जेठै आठ गते चिता मदनको, थ्यो आर्यघाटै महाँ ।
दोस्रो अग्नि तयार बन्न सुरु भो आश्रितको लासमा ।।
बत्ती दाग मुहार राख्न नसकी मुर्छा बिछट्टै परी ।
पत्नीको अवरुद्ध कोमल गला बाँच्नै नसक्ने गरी ।।
बाढी चल्दछ शोकको धुनसँगै मूर्छा पर्यो देश यो ।
आत्तिन्थे जनता विभत्स शव त्यो देखेर ती ज्योतिको ।।
आगो बल्न नपाउँदै विरहले ढाक्यो धूवाँ भै सबै ।
भक्कानो मुटुका फुटे, पटपटी कैलाश भर्दै अझै ।।
डुब्यो हृदय विश्व नै धरधरी रुन्थे विदेशीजन ।
माटो भैकन मिस्सियो नि क्षणमा यो राष्ट्रको जीवन ।।
बोल्दैथ्यो तब आर्यघाट नजिकै त्यो बाग्मती साथमा ।
बोक्छौ देश बनाउने जबजको सिद्धान्त यी माथमा ।।
तिम्रो लक्ष्य सधैँ रहन्छ जगमा फुल्ने र फल्नेगरी ।
गर्ज्यो आखिर घाटबाट दुनियाँ मर्दैन आस्था भनी ।।
(भिडियो तथा फोटोमा प्रयोग भएका तस्वीरहरु मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल, उर्लाबारी मोरङद्वारा प्रकाशित तस्वीरमा मदन भण्डारी पुस्तकबाट साभार गरिएको हो ।)