जननेता मदन भण्डारीसँगको स्मृतिका पानाहरुबाट



०३ जेठ २०७७, काठमाडौं

उहाँ बाहृय रूपमा देखिदा उच्च चौडा छाती भएको, सिर उच्च राखेर बोल्ने, आँखाहरू गर्विलो चेतनाले बलिरहने, ओजिलो व्यक्तित्वको हुन्थ्यो । देख्दै लाग्थ्यो, उहाँभित्र केहि दम छ । उहाँको यो व्यक्तित्वले मलाई एकदमै तान्दथ्यो ।  मलाई मात्रै होइन सबैलाई तान्थ्यो ।

एकदिन ‘देवासुर संग्राम , नारी बन्धन र मुक्तिका’ लेखक मोदनाथ प्रशित पनि  को.के.मा हुनुहुन्छ भन्ने थाहा पाएँ । जानेमानेका धेरै बिद्वानहरू यस पार्टीमा हुनुहुन्छ भन्ने थाहा पाएर खुसी भएँ । त्यस्ता विद्वान संगठित भएको पार्टीमा आफु पनि हुँदा गौरब भयो । ठुला व्यक्ति रहेको पार्टी ठुलो हो, भन्ने लागेर राजनैतिक काममा उत्प्रेरित भएँ । जनता संगठित गर्दा यिनै कुराहरूले उत्प्रेरित गर्थ्यौं।

मदनसँग मेरो औपचारिक सहयात्रा मुक्ति मोर्चा र पूर्वको रातो झण्डा कोअर्डिनेशन केन्द्रमा एकिकरण भएपछी सुरु भयो। यसपछि झन उत्साहित भएर पार्टीको काम गर्न थाले । कामको फराकिलो क्षेत्र रोज्न थालेँ । त्यतिबेला म इलाका कमिटीमा थिएँ । पछि मरो कामको एरिया बड्यो । सुन्दरपुर,दुलारी, इटहरी र हाँसपोसा गरेर ४ पंचायतको काम हेर्न थाले ।

जब मदन को.के.मा आबद्ध भएर नेतृत्व गर्न थाल्नुभयो । धेरै बौद्धिक समुदायलाई पार्टीतिर आकर्षित गर्यो । अझ मोदनाथ प्रश्रित त्यही पार्टीमा हुनुहुन्छ भन्ने थाहा पाएपछि धार्मीक आस्था राख्ने ठुलो समुदाय प्रभाबित भयो ।  पण्डित र पुरोहित पनि प्रकाण्ड विद्वान कम्युनिष्ट पार्टीमा रहेछन् भनेर खुसी भए । त्यतिखेर प्रश्रितको ‘मानब’ महाकाव्य प्रकाशित भईसकेको थियो । त्यस्को प्रभाव धेरैलाई परिसकेको थियो ।

⇒आस्थाको दियो मदनको सम्झनामा (भिडियो सहित)

त्यसबेला झापा संघर्षले सी.पी. मैनाली,  राधाकृष्ण मैनाली, के. पी. ओली लगायतका नेताहरूको चर्चा असाध्यै थियो ।

०३३ सालमा ६५ फुट लामो सुरुङ खनेर नख्खु जेलबाट नेताहरू फरार हुनुभयो । त्यसपछि झन कम्युनिष्ट पार्टी बहादुरहरूको पार्टी भयो । देशभरी  ठुलो चर्चा भयो ।

म एक दिन पार्टीको रिपोर्ट लिएर मदनको घर इटहरा पुगें ।   म त्याँहा गएको बेला किसानको घरमा केहि मान्छे जम्मा गरेर मदनले प्रक्षिशित गरेको देखेँ । त्यो भक्त बहादुर तामाङ दाईको घर थियो ।

करिब ४ घन्टा त्यहाँ रात्रिकालिन प्रशिक्षण चल्यो । तामाङ दाई जस्ता किसान र हली गोठालाहरूलाई कसरी राजनैतिक कुरो बुझाउँनु पर्दोरहेछ भन्ने कुरा त्यो प्रशिक्षणबाट बुझे । मदनबाट प्रशिक्षण सिप पनि सिकें । त्यसदिन म मदनकै घरमा सुतें।

त्यतीखेर मदनको गाउँ इटहरमा नयाँ गतिविधीहरू धेरै भइरहेको महशुस हुन्थ्यो । तर के भइरहेको छ ? लख काट्न मुस्किल हुन्थ्यो ।

एकदिन मलाई दुलारीमा लिला भिनाजुले सोध्नुभयो– ‘के कार्यक्रम छ हौ पार्टीको ?’

अचम्म मान्दै मैले भने– ‘के कार्यक्रम छ र ? मलाई त्यस्तो केहि कुरा थाहा छैन ।’

उँहाले फेरि भन्नुभयो– ‘ मदनले सात पिढीको बजारमा आलु र अरू तरकारीहरू बोराबोरै किनेको देखें । घरकै लागि भए त त्यत्रो एकैचोटि नचाहिनुपर्ने, मदन आफै किन्न पनि नजानु पर्ने, किनाई त बनभोजलाई जस्तो थियो । पक्कै कुनै ठुलो कार्यक्रम हुनुपर्छ । त्यतिखेर भुमिगतकालिन समय थियो । गोपनियताको अनुशाशन कडा थियो ।

डिसेम्बर २६ नजिक आइरहेको थियो । डिसेम्बर २६ मा माओको जन्मदिन पर्थ्यो । जन्मदिन भब्यतापूर्वक मनाउने निर्देशन को.के.ले गरेको थियो । त्यसैअनुरूप हामीले पनिपाँच अन्तर्राष्ट्रिय कम्युनिष्ट नेताहरुको तस्बिर राखेर माआको बिचारमा चर्चा परिचर्चा गर्‍यौं ।

कुरो के रहेछ भने, त्यो दिन अखिल नेपाल क्रान्तिकारी कम्युनिष्ट कोअर्डिनेसन केन्द्र (को.के.)को राष्ट्रिय सम्मेलनको आयोजन गरी नेकपा (माले)को गठन (०३५ पौष ११–१६) माओको जन्मदिन पारेर गरिएको रहेछ ।

२०३५फाल्गुन २१ गते शहिद दिवसको दिन पारेर चार पाने पार्टीको विज्ञप्ती मार्फत नेकपा (माले)को गठन भएको कुरा सार्वजनिक भएपछी हामीले मदनले त्यति धेरै सागसब्जी किन किन्नु भएको भन्ने कुराको बल्ल भेद खुल्यो । किनमेल सम्मेलनमा आएका नेताहरूका लागि रहेछ । त्यसको मुख्य  ब्यवस्थापनको जिम्मामा मदन हुनुहुन्थ्यो ।

विद्यार्थीहरू संगठित भएर विद्यार्थी आन्दोलन गर्न थाले । शिक्षकहरू संगठित भएर शिक्षक आन्दोलन गर्न थाले । किसानहरू संगठित भएर किसान आन्दोलन गर्न थाले । मजदुरहरू संगठित भएर मजदुर आन्दोलन गर्न थाले । महिलाहरू संगठित भएर महिला आन्दोलन गर्न थाले। आप्रवासीहरु संगठित भएर बिदेशमा भएका नेपालीहरु भित्र पार्टीको काम उठाउन  थाले र नेपाल भित्र आन्दोलन बिस्तारमा योगदान गर्न थाले ।

⇒‘मदन–आश्रित’को २७ औं स्मृति दिवसमा २७ दुर्लभ तस्वीरहरु

मदनले ग्रामीण क्षेत्रका किसान आन्दोलनलाई संगठित गर्नका लागि थुप्रै अभ्यासहरु गरिसक्नु भएको थियो । वहाँले ति आन्दोलनहरुको सन्दर्भमा जाँच पड्ताल गरि प्रतिवेदनहरु तयार गर्न हामीलाई लगाउनु हुन्थ्यो ।  आन्दोलन लाई कसरी उठाउन सकिन्छ ? आन्दोलन उठाउने उपायहरूके के हुनसक्छन् ? त्यसको खोजी भइरहेको बेला संघर्षको अभिलेख उहाँको निर्देशनमा हामी तयार पार्थ्यौं । अभिलेखमा संघर्षको बिषय कसरी उठ्यो ? जनताहरू कसरी जुटे ? कसरी प्रशासन लत्रियो ? कसरी जनता टसमस नभई संघर्षमा उत्रिए ?   हामिले पनि भन्ने कुरा अभिलेखमा राख्थ्यौं ।

ति संघर्षहरुको सिकाई हाम्रो लागि उन्नत भयो । त्यो सिकाईहरुलाई सुत्रीकरण गर्ने काम मदनले गर्नुभयो । वास्तबमा आन्दोलनका विधि र उपायप्रति मदन भण्डारी अत्यन्तै सवेदनशिल हुनुहुन्थ्यो । उहाँ आन्दोलनका विषयलाई गहिरोसँग अध्ययन गर्नुहुन्थ्यो ।

त्यसपछि मदनले आफ्नो नयाँ कार्यक्षेत्र विराटनगरको मिल्स एरियालाई बनाउनुभयो । मिल्स एरियामा  धेरै मजदुरबीच काम गर्नु भयो । त्यस क्षेत्रमा सेल्टर बनाउने, उनीहरूसँग बसेर राजनैतिक गतिविधीहरू बढाउने काम गर्नुभयो ।

मोरङ सुगर मिलभित्रको क्वार्टरमा एकजना कर्मचारी हुनुहुन्थ्यो । उहाँको नाम नवराज गौतम थियो ।

पहिले मदनले मिल्स एरियामा गहीरो विश्लेषण गरेर मजदुरहरूलाइ वर्गिय चेतना दिनुभयो । आन्दोलन बलियो बनाउन राजनैतिक चेतनाको बिस्तार गर्ने काम गर्नुभयो ।

सचेत मजदुरहरूलाई संगठित बनाउनु भयो । संगठित मजदुरहरूलाई आन्दोलित गराउनु भयो । आन्दोलनका बिभिन्न रुप, तरिका र उपाय बताएर मजदुरलाई आन्दोलित गर्ने उहाँको विशेषता थियो । आन्दोलन देख्दा लाग्थ्यो मजदुरहरु सडकमा ओर्लिएर आफै आगो ओकल्दैछन् । बिद्रोहको भित्री सुत्रधार मदन हुनुहुन्थ्यो । मदनले मजदुर आन्दोलनमा ठुलो योगदान गर्नुभयो ।

मदनको सक्रियताले मिल्स एरियामा राजनैतिक जागरणको पुनर्उदय भएको थियो ।

⇒‘राष्ट्रिय हित र प्रजातान्त्रिक अधिकारको संरक्षणको निम्ति कुनैपनि धम्की वा प्रलोभनबाट तर्सिन हुँदैन’ : मदन भण्डारी

मदनले ०७ साल अगाडि र पछाडीका मजदुर गतिविधीहरूको अध्ययन गर्नुभयो । तुलसीलाल आमात्यले बिस्तार गरेको मजदुर संगठन र मनमोहन अधिकारीले केमिष्ट भएर त्यहाँ गरेको कामको इतिहास पनि मदनले बाहिर ल्याउनुभयो । यस इतिहासलाई मदनले आलेखका रूपमा तयार गरेर स्वतन्त्र मजदुर  युनियन को मुखपत्र  मजदुर सन्देश लगायत बिभिन्न पत्रिकामा प्रकाशन गर्नु भयो । मजदुर आन्दोलनलाई बाटो देखाउने लेखहरू तयार गरेर पार्टी प्रकाशन र मजदुरहरुका प्रकाशन मार्फतमा छपाउनु भयो ।

मदनले विचार संगठन र आन्दोलन मार्फत  प्राप्ति उपलब्धी कै कामको आधार नै मजदुर क्षेत्रलाई पार्टी कामको आधारकिल्लाबनाउनु भयो ।

म त्यतिखेर ग्रामीण क्षेत्रमा बसेर संगठनको काम गर्थे । गाउँ र शहरका राजनैतिक गतिविधीहरूलाई कसरी जोड्ने भन्ने धाउन्नमा थिए ।

म किसानका समस्याहरू लिएर मदन काहाँ जान्थे । मदनले चलाएका गतिविधीसँग अपडेट हुन्थे । किसानहरूका समस्या समाधानको छलफलमा भाग लिएर फर्किन्थे ।

मजदुर आन्दोलन पछि मदन विद्यार्थी आन्दोलन तर्फ लाग्नुभयो । उहाँले विराटनगरको विद्यार्थी आन्दोलनलाई नजिकबाट हेर्नुभयो । देशभरीकै विद्यार्थी आन्दोलनलाई चासो भित्र राख्नुभयो । विद्यार्थी आन्दोलनका एजेण्डाहरू के के हुन सक्छन् भनेर औल्याउनु भयो ।

०४०सालको कुरा हो, अप्रवासन समस्याको मुद्दामा एउटा राष्ट्रिय कार्यशाला गोष्ठी गर्ने सुझाब दिनुभयो । अखिल पक्षधर विद्यार्थी फोरमलाई मदन आयोजक बनाउन चाहानुहुन्थ्यो । स्वतन्त्र विद्यार्थी युनियनलाई सक्रिय बनाउने उहाँको आन्तरिक योजना थियो । त्यतिखेर महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति भरतराज पोखरेल हुनुहुन्थ्यो ।मदन भण्डारीको सुझाब अनुरूप राष्ट्रियस्तरको  ३ दिने कार्यशाला गोष्ठी भयो । गोष्ठीको प्रमुख अथिति पूर्व प्रधानमन्त्री टंक प्रसाद आर्चाय हुनुहुन्थ्यो । अथितिवक्ता अर्थशास्त्री गोबिन्द लोहनी र मानब अधिकारबादी नेता शुशिल प्याकुरेल हुनुहुन्थ्यो ।

त्यस गोष्टीमा बिभिन्न ठाउँबाट आउने राजनैतिक विद्वानहरूले आ–आफ्ना कुराहरू राख्नु भयो । विद्यार्थी आन्दोलनको ब्यानरमा विद्यार्थीहरू कस्ता कस्ता मुद्दाहरू उठाउन सक्छन् ? नेपालमा अप्रवासन  समस्या समधानका उपायहरु के के हुनसक्छन ? पार्टीले कस्तो निति लिने ? भन्ने ठोस सिकाई त्यस कार्यशाला गोष्टीबाट भयो । मदनले पनि अनुसन्धानात्मक सुझाबआन्तरिक रुपबाट त्यस गोष्टीमा दिनुभयो । यसरी मदनले कुनै पनि मुद्दाको सार्वजनिक परीक्षण गरेर विचारहरु बनाउने गर्नु हुन्थ्यो ।

विद्यार्थी नेताहरूको बिचमा मदन ‘सागर’का नामले धेरै लोकप्रिय हुनुभयो । जस्ले सागरलाई चिन्दथ्यो त्यसले ‘हेडसर’को खोजि गरिरहन्थ्यो ।

विद्यार्थी नेताहरूका बिचमा ‘सागर’ हेडसरको नामले धेरै चिनिनुहुँन्थ्यो । हेडसरको उपस्थितिले विद्यार्थीहरू उत्साही हुन्थे । क्रियाशिल हुन्थे । ‘हेडसर’को दिक्षाबाट दिक्षित भएर सक्रियता पूर्वक काम गर्थे ।

विराटनगरमा विद्यार्थीहरू बिच लोकप्रिय भएका हेडसरलाई बिस्तारै सबै राजनैतिक क्षेत्रका मान्छेहरूले मनपराउन थालेँ । हेडसरलाई सबैले खोज्न थालेँ । ‘हेडसर’ उपनामले मदन लोकप्रिय हुनुभयो ।

के मजदुर, के विद्यार्थी, के बुद्धिजिवी, के अन्य कार्यकर्ता सबैले उहाँको भुमिगत नाम सागर हुँदाहुँदै पनि हेडसर भन्न थाले । हेडसर काहाँ हुनुन्छ ? काहाँ जानु भएको छ ? कहिले आउनु हुन्छ भनेर सोध्न थाले । हेडसर अर्थात मदन भण्डारी सबैका मनमा स्थापित हुनुहुन्थ्यो ।

जस्ले उहाँको प्रक्षिक्षण एकपटक पाउथे, उनीहरू भन्ने गर्थे– ‘अब हामीलाई ६ महिनाका लागि खुराक पुग्यो । ६ महिनाको लागि सागरलले बाटो देखाईदिनुभयो । अब हामी काम गर्न सक्छौँ ।’

प्रशिक्षणपछि सबै क्षेत्रका कार्यकर्ताहरू आत्माविश्वास बोकेर कर्म स्थलतिर फर्कन्थे ।

मदनको दृष्टिकोण आवधिक र अस्थाई नभएर दिर्घकालिन  हुन्थ्यो । पार्टीको तत्कालिन रणनितिका विषय, कार्यनितिक योजनाका विषय र तत्कालिन कार्यक्रमहरूको विषयमा प्रष्ट व्याख्या गर्नुहुन्थ्यो ।

झापाका मान्छेहरू विराटनगर नै ठोकिन्थे, मोरङ, सुनसरी, इलाम, ताप्लेजुङ, तेह्रथुम, भोजपुर, संखुवासभा सबैतिरका मान्छेहरू पनि त्यहीँ ठोकिन्थे । राजनैतिक कामले ठोकिने ठाउँ विराटनगर हुन्थ्यो । विराटनगर पार्टीको पूर्वि हेडक्र्वाटर जस्तै थियो ।

मदन मोरङ र सुनसरीका धेरै भागहरूमा सेल्टरको प्रयोग गर्दै हिँड्नुहुन्थ्यो । यसक्रममा बिभिन्न ठाउँका कार्यकर्तालाई दिक्षित गर्ने र राजनैतिक कार्यक्रमलाई  अघि बढाउन दिशा निर्देशन गर्नु हुन्थ्यो । भुमिगत भए पनि अरू भन्दा खुल्ला रूपले काम गर्नुहुन्थ्यो । मदन सबैबिच लोकप्रिय हुनुहुँन्थ्यो ।

देशमा घटीरहेका समसामयीक राष्ट्रिय राजनीतिक  मुद्दाहरु  महंगी  कालाबजारी तस्करी लगयात पन्चे मण्डले को भण्डाफोर गर्ने जुलुसको तयारी एकहप्ता देखि हुन्थ्यो । नारा झण्डा, नेम प्लेट, ब्यानर अति उत्साहले बनाउथ्यौं । तयारीकासाथ जुलुस अघि बड्थ्यो । दाहिनेबाट जुलुसको छेउमा हामी मदन हिँडिरहेको देख्थ्यौँ । इसाराले एकअर्कालाई भन्थ्यौँ– ‘उ,हेडसर हामीसँग हिँडिरहनु भएको छ । हाम्रो काम हेरिरहनु भएको छ ।’

जुलुस महेन्द्रचोक, ट्राफिक चोक हुँदै जलजला मोड पुग्थ्यो । जलजला मोडबाट कोशी अञ्चल अस्पताल हुँदै शहिद मैदान पुग्थ्यो ।

हामीले निकालेको जुलुस कहिले शहिद मैदानमा त कहिले आदर्श स्कूलको चौरीमा पुगेर कोण सभामा परिणत हुन्थ्यो । कहिले साना चोकहरूमै गएर बिर्सन हुन्थ्यो ।

शहिद मैदानमा सभा सुरू भएपछि नजिकैको बाजेको पुस्तक  पसलमा बसेर बक्ताले मञ्चबाट बोलेका कुरा सुन्नु हुन्थ्यो । पत्रपत्रिका पढ्ने निहुँले उहाँ पुरै कार्यक्रमको बारेमा जानकारी हासील गर्नु हुन्थ्यो ।

दिउँसो बक्ताहरूले बोलेका कुराहरूमा तुरून्तै बेलुका समिक्षा हुन्थ्यो । समिक्षामा उहाँ भन्नुहुन्थ्यो– “ तपार्इँहरूले दिएको निर्देशन अनुसार कुरा किन राख्न सक्नुभएन ? व्याख्या गर्नु पर्ने ठाउँमा किन कमजोरी गर्नुभयो ?”

त्यस समिक्षाको बैठकमा विद्यार्थी नेता खग्रेन्द्र चुडाल, सिताराम पोखरेल, बिद्या पाण्डे, केशब चौलागाई, काशी दाहाल, नरेश पोखरेल, महेश रेग्मी,बिनोद ढकाल,  धुव्र सुबेदी जस्ता सक्रिय विद्यार्थीहरू राख्नुहुन्थ्यो । बक्ताहरू खार्न महत्वपूर्ण सुझाब दिनुहुन्थ्यो ।

म पार्टीको सांगठानिक गतिविधीमा विराटनगर आउने जाने गर्थे ।  समिक्षात्मक बैठकमा सहभागी हुन्थे । मदनले गर्ने त्यस्ता बैठकबाट ठुलो सिकाई हुन्थ्यो ।

कुरा कसरी उठाउने ? जनतालाई कसरी कुरा बुझाउने ? साथीहरूलाई भाषणको अभ्यास गराउनुहुन्थ्यो । त्यसैको प्रतिफल हाम्रा साथीहरू मञ्चमा जँगीजँगी भाषण गर्नुहुन्थ्यो । पञ्च सरकारको मुटु थरर्र थर्काउनु हुन्थ्यो । त्यो विद्रोहको बास्तबिक  नाइके मदन हुनुहुन्थ्यो ।

मदन त्यतिखेर भुमिगत भएकाले आफनो बिचाहरू पेसागत नेताहरू मार्फत, विद्यार्थी नेताहरू मार्फत, मजदुर नेताहरू मार्फत, अनेमसंघका नेत्रीहरू मार्फत, किसान नेताहरू मार्फत सार्वजनिक गर्नुहुन्थ्यो । त्यस्को प्रभाव कस्तो परिरहेको छ ?  पत्रपत्रिकामा आएको लेख, आलेख, समाचार र टिप्पणी आलोचना बिरोधबाट पत्ता लगाउनु हुन्थ्यो ।

सत्ता पक्षले विरोध कसरी गर्यो ? कांग्रेस पक्षका पत्रपत्रिकाले कुरा के लेख्यो?  समर्थन गर्ने पत्रपत्रिकाले कुरा कसरी लेख्यो  ? सबै अध्ययन गर्नु हुन्थ्यो । मसिना कुराहरू केलाउनु हुन्थ्यो र अगामि योजना बनाउनु हुन्थ्यो ।

मदन नेपाली भाषा र ब्याकरणको प्रकाण्ड विद्वान हुनुहुन्थ्यो । अंग्रेजी भाषाको स्तर बढाउन उहाँ प्रयासरत हुनुहुन्थ्यो । यो मैले अनुभव गरेको कुरा हो ।

मलाई मदन अध्ययनका लागि ‘बेजिङ्क रिभ्यु’ किन्न पठाउनु हुन्थ्यो । म किनेर ल्याइदिन्थे ।त्यतिखेर बेजिंग रिम्पू  बाजेको र सगरमाथा पुस्तक पसलमा मात्र किन्न पाइन्थ्यो । ति दुई पसलमा प्रगतिशिल पुस्तक, मार्क्सबादी पुस्तक, चिनियाँ र रूसी तथा साहित्य पुस्तकहरू पाइन्थ्यो  । त्यहाँ माक्स्बादी दर्शनिक पुस्तकहरू पनि पाइँन्थ्यो ।

म पुस्तकहरू लुकाएर लगिदिन्थेँ । ति पुस्तकहरूको अध्ययन मदन गर्नुहुन्थ्यो ।

एक दिन मदनले मलाई अंग्रेजी डिस्नेरी पनि किन्न लगाउनु भयो । मैले किनेर दिएँ । उहाँले वेजिङ्क रिभ्युमा नबुझिएका राजनैतिक अंग्रेजी शब्दको अर्थ त्यही डिस्नेरीमा हेर्नुहुन्थ्यो । उहाँले अंग्रेजी भाषाको बुझाईलाई दिनदिनै बढाएर लानु भयो ।

हामी पनि त्यतिखेर चिनियाँ साहित्य, बाल साहित्य, क्रान्तीकारी साहित्य पढेर प्रभाबित हुन्थ्यौँ ।

चम्किलो तारा हामी कम्युनिष्ट कार्यकर्ताका लाागि खुराकिलो किताब थियो । त्यो किताब पढेपछि धेरै मान्छेहरू कम्युनिष्ट पार्टीमा लाग्थे ।

मैले त्यो पुस्तक तिनचोटी पढे । पुस्तकबाट धेरै कुरा बुझे ।

त्यतिबेला हामी माओतेसुङ्कका रचनाहरू पढ्ने र अरू साथीहरूलाई पढाउने कुरामा बढि जोर दिन्थ्यौँ । प्रगतिशिल पुस्तकहरू गाउँमा थोरै भेटिन्थे । हामी गोठाला जादा शिलाधान खोजेर बेचेको पैसाले पनि पत्रपत्रिका किनेर पढ्थ्यौँ ।  मार्क्सबादी पुस्तक पनि किनेर पढ्थ्यौँ । पछि हामीले भुमिगत लाईव्रेरीको व्यवस्था पनि गर्यौँ । घुमाई घुमाई सबैलाई राम्रा किताबहरू पढायौँ ।

भुमिगत कालमा मदन भण्डारीको आफ्नै पुस्ताकालय थियो । त्यो पुस्ताकालय सुरूमा डाक्टर मिनराज ढकालको घरमा राख्नु भयो । त्यसमा थुप्रै दार्शनिक पुस्तकहरू थिए । लाईव्रेरीका सबै पुस्तक उहाँ पढ्नु हुन्थ्यो । मदन भण्डारीले पढेका ति पुस्तकहरू अहिले मदन भण्डारी संग्रहालयमा सुरक्षित छन् ।

मदन दार्शनिक विषयको अध्ययन गर्नुहुन्थ्यो । अन्तर्राष्ट्रिय विषयहरू माथि चासो राख्नुहुन्थ्यो । हरेक दिन वि.वी.सी., बेजिङ्क र अलइण्डिया रेडियोका सबै समाचारहरू सुन्नुहुन्थ्यो । त्यतिखेर उहाँको साथी रेडियोनै थियो ।

मदन रेडियो मात्र होइन प्रत्येक दिनको अखबार मन लगाएर पढ्नुहुन्थ्यो । बरू चिया पिउनु हुन्नथ्यो तर पत्रिका किनेर पढ्नुहुन्थ्यो ।  आफूलाई सिरियस लागेका र घत लागेका कुराहरूको कटिङ्क गरेर संग्रह पनि गर्नुहुन्थ्यो ।

मदन अनुसन्धान र खोज अभाव, गरिबी, संकट र व्यस्तता बीच पनि गर्नुहुन्थ्यो । यो स्वभाव जोकोहीमा हुँदैन । मदनको अध्ययनशिल स्वभावलाई मैले नजिकबाट देखेको छु । अध्ययन शैलीको गहिरो प्रभाव मलाई पनि परेको थियो ।

मदन जहाँ संघर्ष भयो त्यहाँ सानो ठुलो नभनी पुगी हाल्नुहुन्थ्यो । सानासाना आन्दोलनहरूलाई  पनि चासो दिएर बुझ्नु हुन्थ्यो । स्याबास र थप सुझाब दिनुहुन्थ्यो । त्यसलाई निर्णायक तहमा पुर्याउन मदत गर्नु हुन्थ्यो । त्यसको प्रभावलाई सबैतिर फैल्याउनु हुन्थ्यो । स–साना आन्दोलनका झिल्काले ठुलो आन्दोलनको आगो सल्काउने तयारी गर्नुहुन्थ्यो ।

हामीलाई पहिले मदनले प्रशिक्षित गर्नु हुन्थ्यो । प्रशिक्षित गरेर लडाइँको मोर्चामा पठाउनु हुन्थ्यो । लडाईको गतिविधीको रिर्पोट माग्नुहुन्थ्यो । त्यहीबसेर समिक्षा गर्नुहुन्थ्यो । संघर्षको अध्ययन र विश्लेषण गर्नुहुन्थ्यो । हामीलाई चाहिने थप दिक्षा दिनुहुन्थ्यो ।

⇒जननेता मदन भण्डारीको लोकतान्त्रिक छवि

मदनले गर्ने कामको शैली देख्दा लाग्थ्यो, यो शैली माओत्सेतुङ्गसँग मिल्छ ।

त्यस्तै अर्को एउटा घटना भयो । धनकुटाको छिनातङ्कमा जमिन्दारहरूको थिचोमिचो अत्यन्तै थियो । खोकु छिङ्कताङ्क सुर्य बहादुर  थापाहरूको राजनैतिक दबदबा र शोषणले आक्रान्त थियो । त्यसको विरूधमा संघर्षको झिल्को उठ्यो । त्यहाँका किसानहरू आन्दोलित भए । जमिन्दारको भकारी खोसेर बाँडी खाँए ।

त्यसका विरूधमा सूर्यबहादुर थापाले धेरै पञ्चहरू उतारे । पञ्चहरू मात्र हैन दमनमा सेना र प्रहरीकै प्रयोग गरे ।

खोकु छिताङ्कमा अत्यन्तै ठुलो दमन भयो । त्यस दमनमा १६/१७ जना मान्छे मारिए । दर्जनौ जेल परे । लामो समय जेल बस्न बाध्य भए ।

खोकु छिताङ्गको स्थलगत गएर कम्युनिष्ट पार्टी अस्तव्यस्त भएको थियो । त्यो अवस्थामा त्यहाँ राजनेताहरू जाने,सम्पूर्ण स्थितिको मूल्याङ्कन र विश्लेषण गर्ने कुराको चुनौती पूर्ण थियो ।

त्यस बेला ठुला नदीहरू तर्ने गतिला पुलहरू थिएन ।तमोरखोलामा  मूलघाटको पुल बनिसकेको थिएन । त्यहाँ सानो झोलुङ्गेपुल थियो । त्यही झोलुङ्गे पुल तरेर हामी धनकुटा जाने आउने गथ्र्यौँ । त्यहाँ सेना र पुलिसको दह्रो निगरानी हुन्थ्यो । धेरै सुराकीहरू पनि पुलमा बस्ने गर्थे । उनीहरूलाई कम्युनिष्टहरूका नेता र गतिविधीहरू त्यही पूलबाट वारपार हुन्छन् भन्ने थाहा थियो ।

त्यतिखेर राजा विरेन्द्रको धनकुटा सवारी हुँदै थियो । स्वागतको भब्य तयारीमा पञ्च प्रशासन लागेको थियो । त्यतिनै बेला मदन खोकु छिताङ्गको दमन अध्ययन र अवलोकन गर्न धनकुटा हिँड्नुभयो ।

धनकुटा जाने क्रममा मदन मूलघाटको झोलुङ्गे पूल पुग्नु भयो । त्यतिबेला प्रहरी अरुको जिउ खानतलासी गर्दै थियो । धेरै कुरा सोधीखोजी गर्दै थियो । मदन पक्राउ पर्न सक्नु हुन्थ्यो । त्यस्तो अवस्थामा प्रहरीले मदनलाई उल्टै सलाम ठोकेर पठायो ।

मदनले शिरमा चट्टपारेर कालो भादगाउँले टोपी लगाउनु भएको थियो । आखाँमा चस्मा र शरीरमा सुहाउँदिलो सर्टपेन्ट लगाउँनु भएको थियो । हातमा कालो छालाको ब्याग थियो । हेर्दा मदन ठुलै हाकिम जस्तो देखिनु हुन्थ्यो । मदनको खाईलाग्दो ब्यक्तित्वसँग झुकिएर प्रहरी र सेनाले चेकजाँच नगरी छाडेका थिए । मदनलाई राजाकै सवारीसँग सम्बन्धित  हाकिम भन्ने ठानेर कसैले छाती तानेरै सलुट गरे ।

मदन सग  यस्ता रमाईला घटनाहरू धेरै घट्थे ।

मदन भाषणकलामा, वौद्धिक कलामा, नेतृत्व कलामा ,शत्रुबाट जोगिने कलामा उत्तिकै  निपूर्ण हुनुहुन्थ्यो ।

उहाँ सबै आन्दोलनमा सहभागी हुनुहुन्थ्यो तर बचेर सहभागी हुनुहुन्थ्यो । पार्टीले गरेका गतिविधीको आरम्भ र समापनमा त्यही पुग्नु हुन्थ्यो । खुल्ला हुनु हुन्नथियो र पनि हामीसँग हुनुहुन्थ्यो । भुमिगत हुनुहुन्थ्यो र पनि खुल्ला हुनुहुन्थ्यो । उहाँको समकालिन राजनैतिक साथीहरू प्रक्राउ खान्थे । उहाँ कहिल्यै प्रक्राउ खानुहुन्नथ्यो । नेतृत्वमा यो उहाँको फरक विशेषता थियो । उहाँको यो विशेषता अविस्मरणीय छ ।

हामी सबै त्यतिखेर क्रान्तिको सपना बुन्दै थियौँ ।  मैले एउटा चिठ्ठी कमरेड सागरलाई दिनु थियो । म त्यही चिठ्ठी दिन विराटनगर गएँ ।

विराटनगरमा उहाँको बसाँइ काहाँ हुन्छ ? उहाँलाई काहाँ भेटिन्छ भन्ने कुरा कसैलाई थाहा हुँदैन थियो । सिमित मान्छेहरूलाई थाहा हुन्थ्यो । सोझै कोहि उहाँ बसेको ठाउँमा पुग्न सक्दैन्थ्यो । मदनसँगको सम्पर्क विन्दु विराटनगरको ट्राफिक चोकको कोशी पुस्तक पसल  थियो ।

हामी मदनसँग भेट्न वा पार्टीको अन्य कामले जाँदा पहिले ट्राफिक चोकको कोशी पुस्तक पसल जान्थ्यौँ । पसलको ब्यवस्थापक  धृत न्यौपाने हुनुहुन्थ्यो । उहाँ त्यसै पसलमा भेटिनुहुन्थ्यो । उहाँ पार्टीको सम्पर्क सुत्र हुन्थ्यो । धृतजीलाई ईसारा गरेपछि उहाँले कोहि मान्छे ईसाराले बोलाउनु हुन्थ्यो । त्यो मान्छे आउँथ्यो र ईसारामै गन्तब्य तिर लैजान्थ्यो ।

रमाइलो कुरो के थियो भने, पसल नजिकै ट्राफिक प्रहरीको कार्यालय थियो । प्रहरीको निगरानीमा पसल थियो । ‘हाम्रै आँखा अगाडि बाम पन्थीहरूले केहि गतिविधी गर्दैनन् ,नक्सलबादीहरू प्रहरीछेउ आउदैनन्’ भन्ने विश्वास प्रहरीहरूलाई थियो । त्यही विश्वासको फाईदा हामीले उठाएका थियौँ । उनीहरू बाम पन्थीलाई पर गएर  खोज्थेँ । हामी वरपर आएर काम गथ्र्यौँ । पुस्तक पसललाई सम्पर्क केन्द्र बनाउँदा हामी सुरक्षित थियौँ ।

म त्यसदिन धृतजीले दिनु भएको साथीसँग मोरङ क्याम्पसको दक्षिण पट्टीरहेको पिपल छेउमा पुगेँ । त्यहाँ टालीको छाना भएको भुइँ घर थियो । त्यही भुइँ घरमा मदन हुनुहुन्थ्यो । उहाँसँग भेट भयो ।

उहाँले गाउँघरको कुरा सोध्नुभयो । त्यहाँका गतिविधीका विषयमा सोध्नुभयो । सोध्नु भएको कुराको स–बिस्तार उत्तर दिए । त्यसपछि उहाँले राष्ट्रिय आन्दोलनमा के भईरहेको छ ? विद्यार्थी आन्दोलनमा के भईरहेको छ ? शिक्षक आन्दोलनमा के भईरहेको छ ? बौद्धिक क्षेत्रमा पार्टी कसरी बिस्तार हुँदै छ ? भन्ने विषयमा निर्देसनात्मक विचार  दिन भयो । अबका हाम्रा नाराहरू के के हुनसक्छन् भन्ने बारेमा पनि उहाँले चर्चा गर्नुभयो ।

त्यसबेला हामी शिक्षक आन्दोलनको तयारीमा थियौँ । तयारी पहिलो चरणमा थियो । म शिक्षक आन्दोलनका लागि गर्नुपर्ने आवश्यक तयारी गर्दैथिए । म आफै पनि शिक्षक पेशामा थिएँ । त्यही बिचमा मदनले पूर्वमा जनसंगठनको अत्यन्तै राम्रो ईन्जिनिरिङ्क गर्नुभयो ।

कुनकुन मोर्चाबाट काम गर्नुपर्छ ? कसरी मोर्चाको कामलाई अगाडि बढाउनु पर्छ ? कामलाई कसरी फैल्याउनु पर्छ भन्ने विषयमा उहाँले स–बिस्तार चर्चा गर्नुभयो । ‘भुमिगत राजनैतिको आन्दोलनलाई सफल जनवर्गीय संगठनको सक्रियताले बनाउँछ ।’ त्यो ठम्याईलाई मदनले राम्रोसँग समाउनु भएको थियो ।  त्यसदिन उहाँसँग गरेको चर्चाले मलाई राम्रो बैचारिक खुराक दियो ।

मदन जहिले पनि धेरै मान्छेलाई एकै ठाउँ भेला गरेर कुरा बुझाउन मन पराउनु हुन्थ्यो । धेरैमा कुरा राखे पार्टीको बिचार एकैचोटी धेरै ठाउँमा पुग्छ र नतिजा छिट्टै आउँछ भन्ने उहाँको बिश्वास थियो । उहाँ कोठे मिटिङ्क भन्दा ठुलो भेला, ठुलो प्रशिक्षण गर्ने कुरामा जोड दिनुहुन्थ्यो । हामीलाई पनि ठुलो भेला गर्न उत्पे्ररित गर्नु हुन्थ्यो । हामी त्यसै गथ्र्यौँ । उहाँको तथ्यगत र बुँदागत कुराले प्रभावित हुन्थ्यौँ ।

हामी मदनको ठुलो भेला गरेर कार्यकर्तालाई प्रशिक्षण गर्ने इच्छा भिन्न तरिकाबाट पुरा गथ्र्यौँ । पार्टीको आवश्यकता हेरेर बर्षमा २/३ वटा बनभोज  आयोजना गथ्र्यौँ । बनभोज त नाम मात्रै हुन्थ्यो । बनभोजको नाममा मदनलाई अथितिको रूपमा बोलाएर प्रशिक्षित गर्न लगाउथ्यौँ । प्रशासनले यस्को भेउनै पाउँदैन थियो ।

विराटनगरमा राम प्रसाद ढकालकोमा उहाँ एक अवधि बस्नु भयो ।उहाँकी श्रीमती दुर्गा  ढकालले मदनको सुरक्षामा बिशेष ख्याल राख्नु भयो । मदनलाई जोगाउनु पर्छ भन्ने चेत त्यो सेरोफेरोका सबै कार्यकर्ताहरूमा थियो । हामी पनि त्यस कुरालाई ख्याल गरेर बिशेष कार्यक्रमको आयोजना गथ्र्यौँ ।

मदन जनआन्दोलनको तयारीमा आफ्नो अर्जुन दृष्टि लगाउनु हुन्थ्यो । उहाँले हानेको बैचारिक तिर खेरै जादैन थियो ।

विराटनगरको एउटा दृष्टान्तलेनै यो कुरा पुष्टि हुन्छ ।

मधुमाराको धृत न्यौपानेको घरमा मदनले मान्छेहरु भेला गर्नुहुन्थ्यो । ठुला विद्यार्थी, बुद्धिजिबि र अरू बौद्धिक वृतका डाक्टर, इन्जिनियर, साहित्यकार, सास्कृतिक कर्मीसँग उहाँको भेटघाट हुन्थ्यो । एकै पटक उहाँलाई राखेर दिक्षित गर्नुहुन्थ्यो । दिक्षाको आधार हुन्थ्यो, कसरी जन आधारित भएर जन सरोकारका मुद्दाहरू अघि ल्याउने ? राजनैतिक विषयलाई जन मुद्दाले कसरी लेपन गर्ने ?बिषय सशक्त गर्ने विभिन्न काइदाहरू मदन भण्डारी खोज्नु हुन्थ्यो । उहाँको खोजाइँ प्रशिक्षिणको स्तरमा देखिन्थ्यो ।

कार्यकर्ताहरूलाई अनुशाशित कसरी बनाउनु पर्छ ? अल्पकालिन र पूर्वकालिन कार्यकर्ताहरूको दिन कसरी बितिरहेको छ ? यि कुरामा पनि मदन शुष्म दृष्टि लगाउनु हुन्थ्यो ।

२०४२ सालतिरको कुरा हो ।  मोरङको रमितेमा पार्टी केन्द्रिय कमिटिको वैठक बस्यो । वैठकमा केन्द्रिय स्तरका कडा भूमिगत भएका,टाउकाको मुल्य तोकेका, जेलब्रेक गरेर हिडेका नेताहरूको उपस्थिति थियो । त्यही वैठकले पञ्चायत माथि जनपक्षिय् हस्तक्षेपको निति अवलम्बन गर्ने निणर्य गर्यो । बैठकमा मदन भण्डारी पनि हुनुहुन्थ्यो । त्यस बैठकमा मदनभण्डारीले आफ्ना विचार र तर्कहरु मार्फत पार्टी केन्द्रिय कमिटिको ध्यान खिच्नु भयो ।

पार्टीको सो निर्णयलाई कार्यान्वयन गर्न वहाँ तुरुन्तै मैदानमा उत्रनु भयो । त्यसै मोरङको उर्लाबारी स्थित सुनझोडाको पश्चिम पट्टि को जंगलमा हामीले जिल्ला भरीका सांस्कृतिक समुहहरूको एउटा विशेष भेला आयोजना गर्यौँ । भेला मोरङ फूलबारी साँस्कृतिक समूहको नामबाट आयोजना भएको थियो । त्यो आयोजनाको उद्देश्य राजनैतिक थियो। त्यस भेलामा वृहत सांस्कृतिक प्रस्तुती भएका थिए । त्यस कार्यक्रममा मोरङ्गका सुन्दरपुर, हरैचा, वेलबारी, नक्सालबारी, फडाँनी, वयरबन, टाँडी, उर्लाबारी, इटहरा, झोराहाट र विराटनगर रानी लगायतका सांस्कृतिक समूहहरुले कार्यक्रममा भाग लिएका थिए । सबै समूहले आफ्ना– आफ्ना  विधामा राम्रो प्रस्तुति गरे ।

त्यो भेला सांस्कृतिक उदेश्यले मात्र गरिएको थिएन । राजनैतिक, सामाजिक र प्रगतिशिल जागरण गर्ने उदेश्यले गरिएको थियो । त्याहाँ गीत, नृत्य, नाट्य र साहित्यको प्रस्तुति  भयो । तर त्यसभित्र अर्को कार्यक्रम पनि राखिएको थियो । पार्टीले लिएको जनपक्षिय हस्तक्षेप निति अन्तर्गत राष्ट्रिय पंचायतमा उम्मेद्वार  उठाउने निर्णय भएको  थियो । उम्मेद्वार बमबहादुर खड्का लाई त्यहाँ बोलाईएको थियो । मोरङ्का जिल्ला भरिका पार्टी नेता र कार्यकर्ताहरू पनि उपस्थित थिए ।

मजदुर नेताबमबहादुर खड्का रघुपती जुट मिल्स रानी विराटनगरकोमजदुर हुनु हुन्थियो । उहाँ रघुपती जुट मिल्सको सुधार  र मजदुर कल्याणका विषयमा ३१ दिन ६ घण्टा आमरण अनसन बसेको मान्छे हुनुहुन्थियो। आमरण अनसनको इतिहासमा यो नै नेपालको लामो अनसन हो ।

लामो समय अनसनमा बसेको बेला उहाँको भित्री हाँड बाहिरै देखिन्थ्यो । अनुहारको छाला सबै गिङ्ग्रिङ्ग परेको थियो । आँखा पुरै गाडिएको थियो ।झट्ट हेर्दा उहाँलाई चिन्न नै गाह्रो हुन्थियो ।

त्यस्तो त्याग र समर्पण भएको मजदुर नेता पनि त्यो कार्यक्रममा उपस्थिति हुनुहुन्थियो ।

मदनले त्यसदिन मोरङका लागि राष्ट्रिय पञ्चायतको चुनावमा जनपक्षिय उम्मेद्वार उहाँनै भएको कुरा भन्नु भयो । हामी धेरै खुसी भयौँ । बमबहादुर खड्काले पनि पार्टीले दिएको जिम्मेवारीपुरा गर्ने प्रतिबद्दता जनाउनु भयो ।

मोरङ फूलबारी सांस्कृतिक समूहले गरेको सो भेलामा मदनले सबै सांस्कृतिक एंव राजनैतिक कर्मीहरूलाई भब्य तरिकाले प्रशिक्षित गर्नु भयो । आवश्यक दिशानिर्देश गर्नु भयो ।

जनपक्षिय हस्तक्षेप भनेको के हो ?जनपक्षिय हस्तक्षेप गर्न किन जरुरी छ ? यस्लाई कसरी बुझ्नु पर्छ ? यसका राजनैतिक मुद्दाहरू के के हुन् ? हस्तक्षेपको अभियान देशब्यापी रूपमा कसरी चल्ने छ ? यो समग्र कुराहरूको रणनितिक भाषण मदनलेत्यस कार्यक्रममा गर्नु भयो । उहाँको त्यो प्रशिक्षणले हामीलाई जनपक्षिय धारणा बुझ्न सजिलो भयो ।

त्यसदिन उर्लाबारीको सुनझोडा जंगलको बिचमा रुखको मुढा जोरेर आगो बालेका थियौँ । जंगलको धेरै क्षेत्रफल भेलाले ढाकेको थियो ।यो विशेष कार्यक्रम मैनटोलको उज्यालोमा गरिएको थियो ।

जनपक्षीय अभियानले मोरङ्गमा राम्रो प्रभाव पार्यो । पंचायती व्यवस्थाका विरुद्धराजनितिक रुपले बम बार्डिङ्ग गर्न सफल भएको थियो । उहाँको प्रतिद्वन्दी पूर्व प्रधानमन्त्री मातृका प्रसाद कोइराला हुनुहुन्थ्यो ।उक्त निवार्चनले अत्यन्त राम्रो जनआधार पैदा गर्यो । संगठानात्मक शक्तिको विकास गर्यो । पार्टीको भूमिगत गतिविधि गर्न सकिने सेल्टरहरू विस्तारित भयो ।

कार्यकर्ताहरूले आफूलाई खुल्ला वातवरणमा उभ्याउँन के के कुराको तयारी गर्नु पर्छ । भुमिगत हुनु भनेको के हो ? खुल्ला राजनितिक तथा नागरिक स्वतन्त्रताका कुराहरू के-के हुन् ? त्यसको विभेद कसरी छुट्याउँने ? जनता र राष्ट्रको साझा सरोकारको मुद्दामा जनअभियान कसरी सञ्चालन गर्ने भन्ने कुरामा मदन भण्डारीको वृहतप्रशिक्षण सहित जनपक्षिय हस्तक्षेपको चुनावी अभियानसंचालन भयो ।यो अभियान देशका विभिन्न ठाउँहरुमा संचालित भएका थिए ।

काठमाण्डौँबाट पद्मरत्न तुलाधर, चितवनबाट जागृत प्रसाद भेट्वाल, कास्कीबाट सोमनाथ प्यासी, झापाबाट द्रोण प्रसाद आचार्य (क्षेत्री) र इलाममा नोबेल केमी राईले जनपक्षिय उम्मेद्वार रुपमा जित्नु भयो । यो खुसीको कुरा थियो । जनपक्षिय अभियान बाट प्राप्त उपलव्धिमा मदन भण्डारीको महत्वपूर्ण योगदान रहेको थियो ।

जनपक्षिय आन्दोलनलाई कसरी चलाउनुपर्छ भन्ने मदनको सुझावले नै जनपक्षिय अभियान ठिक तरिकाले चल्न सक्यो  ।

त्यतिखेर पञ्चायत विरूद्ध स्थानिय गाँउ तथा नगर पंचायतमा पनि   जनपक्षिय उम्मेद्वार उठाउने तयारी भयो ।  कोशी, मेची र सगरमाथा अन्चलमा पार्टीको तर्फबाट नेतृत्व मदनले नै गर्नु भयो ।

विभिन्न ठाउँबाट उम्मेद्वार छनौट भयो । छनौट भएका उम्मेद्वारलाई कसरी  राजनैतिक हस्तक्षेप गर्नुपर्छ ? कसरी विचारहरू उठाउँनुपर्छ ? कसरी निर्वाचनमा जनपरिचालन गर्नुपर्छ ? भन्ने विषय जनपक्षिय उम्मेद्वारलाई ज्ञानदिनु जरुरी थियो ।

उठाईएका उम्मेद्वारहरू विभिन्न पृष्ठभुमिका थिएँ । विभिन्न राजनैतिक चेतनाका थिएँ । कोहि शिक्षाको पृष्ठभुमिबाट , कोहि किसानको पृष्ठभुमिबाट, कोहि पार्टी कार्यकर्ताको पृष्ठभुमिबाट आएका थिए ।

सबैलाई एकैठाउँ राखेर दिक्षित गर्न फेरि हामीले पथरीको जंगलमा वनभोजका रुपमा प्रशिक्षणको आयोजना गर्यौँ ।

मोरङ्गको पथरी बजार देखि  उत्तरपट्टी जंगलको बिचमा अलिकति खुल्ला भाग थियो । त्यही चौरीमा हामीगोप्य रुपमा चारैतिरबाट सहभागी भेला भयौँ । भेलामा खानेकुरा पकाउँने बन्दोवस्त थियो । झ्वाट्ट हेर्दा पिकनिक जस्तो देखिन्थ्यो ।

खाजा खाईसकेपछि प्रशिक्षणमा बस्ने तयारी  भयो । ठिक त्यतिबेला मदन कमरेडले आफ्नो झोलाबाट एउटा रातो तुल निकाल्नु भयो । मदनले तुल काँटी ठोकेर ठुलो सखुवा रुखमा टाङ्गन लगाउँनु भयो । तुलमा लेखिएको थियो– ‘पञ्चपकार’ ।

पञ्चपकारको अर्थ थियो पञ्चहरूको उपकार ।

केहि गरेर त्यस भेलामा प्रहरी प्रशासन आई गएँ , पिकनिक भनेर अलमलिने नाटकिय प्रबन्ध थियो । बडि केहि भए  पञ्चहरूको उपकार कार्यक्रम रहेछ भनेर झुक्किउन् भन्ने थियो ।

त्यसपछि मदनले राजनैतिक हस्तक्षेपका लागी पार्टीको तर्फबाट उठाईएका उम्मेद्वारहरूलाई प्रशिक्षित गर्नु भयो । वनभोजमा धेरै जनपक्षिय उम्मेद्वार र अगुवा राजनैतिक कार्यकर्ता उपस्थित थिएँ ।

कसरी जनताको बिचमा जाने? कसरी भोट माग्ने ? कसरी राजनैतिक विषय उठाउँने ? पार्टीले अगाडि सारेका राजनैतिक मुद्दाहरू के के हुन् ? ति मुद्दाहरूलाई कसरी बोकेर हिँड्ने ? मुद्दामा कसरी वहश गर्ने ? आफ्नो बिचारलाई मञ्चबाट कसरी राख्ने? आफ्नो विचारले कसरी जनताको ध्यान खिच्ने ?  मदनले दिनभर लगाएर जनपक्षिय हस्तक्षेपको राजनितिक चुरो बुझाउँनु भयो ।

त्यो प्रशिक्षणले भेला भएका जनपक्षिय उम्मेद्वारलाई ठुलो राजनितिक खुराक दियो । आफ्नो उत्तरदायित्व पुरा गर्न प्रेरित गर्यो ।

गंगा डाँगी इटहराबाट, धनजित तामाङ्क लेटाङ्गबाट, चन्द्रबहादुर गुरुङ्ग इन्द्रपुरबाट, चन्द्रविर गुरुङ्ग केराबारीबाट, घनश्याम खतिवडा लेटाङ्गबाट, डिल्ली अधिकारी सिंहदेवीबाट, माधव खतिवडा हसनदहबाट, मित्रलाल सुवेदी बयरबनबाट, राजकुमार बस्नेत डाँगीहाटबाट, कृष्ण दाहाल सुन्दरपुरबाट, धुव्रनारायण श्रेष्ठ विराटनगरबाट उठाईएको थियो । उठाईएका सबै उम्मेद्धवारलाई त्यस प्रशिक्षणमा सामेल गरिएको थियो ।

त्यस प्रशिक्षणलाई हामीले ‘पञ्च पकार’ नाम दियौँ । धेरै समय बिते  पनि त्यो बनभोज र प्रशिक्षण हामीले बिर्सिएका छैनौँ ।

मदन भण्डारी राजनैतिक वहशमा पनि धेरै जागरुक हुनुहुँन्थ्यो ।

माघ महिनाको  मध्यतिर  एकदिन बेलुका सुन्दरपुरको हाम्रै घरमा मदन आएर उच्चस्तरीय नेताहरुको वैठक हुने संकेत गर्नुभयो । तर कहिले र कति जना आउनुहुन्छ ? बताउनु भएन । हाम्रो घरको वातावरण वेलुकै निरिक्षण गर्नु भयो । त्यसको एक हप्ता पछि बिहान ३ बजेतिर मदन र २ जना नेता  आउनुभयो । उहाँहरू पुरै हिलाम्ये हुनुहुँन्थ्यो । हामीलाई उहाँहरू आउने कुरा थाहा थियो । तर को को आउने भन्ने कुरा थाहा थिएन । हामी पर्खिरहेका थियौँ । उहाँहरू साइकलमा आउनु भयो ।

आएपछि आदरपूर्वक अभिवादन गर्यौँ ।र वहाँहरुलाई बुइकलमा लगेर बसायौं । विहान नभई सकेकोले उहाँहरूलाई एकछिन निदाउन भन्यौँ । त्यतिखेर हाम्रो घर भरपर्दो सेल्टरनै थियो । घरमा आमा लगायतका सबै भूमिगत वैठक व्यवस्थापन गर्न अभ्यस्त थियौं ।

नेताहरू बुइकलमा बसेर अर्को दिन राती अवेर सम्म छलफल गरिरहनु भयो । भोलिपल्ट पनि छलफल नै गर्नुभयो ।

सुरूमा मदनसँग आउने नेताहरू को को हुनुहुँन्थ्यो ? परिवारका कसैले चिनेनौँ । खाना खाइसेपछि उहाँहरूले बेलुकी अँगेनो वरीपरि बसेर आगो ताप्दै आमासँग आत्मिय गफ गर्नुभयो । आमासँग उहाँहरूले गरेको ब्यवहार देखेर म नमस्तक भए ।

घरमा आएका पाहुनाहरुलाई आमाले स्नेहपूर्वक भन्नुभयो– “बाबु हो, तिमीहरू सुकुमार छौ । सुकिला पनि छौ, हेर्दा पढेलेखेका हुनेखाने घरका जस्ता पनि देखिन्छौँ । राति राति किन हिँडेका ?’

आमाले फेरि भन्नु भयो — ‘तिमीहरू कहाँबाट आयौँ ? तिमीहरूले सोँचेको कुरा कहिले पुरा हुन्छ ? तिमीहरूले कहिलेसम्म लुकेर बस्नु पर्छ ? अचानक पुलिस आयो भने तिमीहरूलाई कसरी बचाउँनु ?”

पाहुना आउनु भएका नेताहरूले पालैपालो आमाका प्रश्नहरूको उत्तर दिनुभयो । त्यस उत्तरले घरका सबैलाई अप्रत्यक्ष रुपले प्रशिक्षित गर्यो ।

चेतना र भौगोलिक बनौटका हिसाबले हाम्रो घर सुरक्षित थियो । त्यसैले बैठक हाम्रो घरमा राखिएको थियो ।

कुराकानीकै क्रममा मैले निहालेर आउने नेताहरूलाई हेरें । त्यतिखेरका चर्चित  नेताहरूनै होलान् भन्ने लाग्यो । ति मध्येका मदनलाई चिने । अरू नेताहरूलाई मैले चिनेको थिइन । तर पार्टीका सिनियर नेता हुन् भन्ने अन्दाज गरें ।

मेरो अन्दाजले १ जना चाही सि.पी. मैनाली होलान् भन्यो । तपाईं सि.पी. कमरेड हो ? मनले प्रश्न गरौँ जस्तो लाग्यो । तर पार्टी अनुशासनले सोँध्न मिल्दैन थियो । मेरो अनुमान उहाँ सार्वजनिक भएपछि ठ्याक्कै मिल्यो ।

तेस्रो दिन उहाँहरूले मलाई मोटो पुलिन्दा दिँदै भन्नुभयो– ‘ यो पुलिन्दा लिएर धरान जानुहोस् ।’

लिएर म धरान गएँ । उहाँले दिएको पुलिन्दा निकै गह्रौँ थियो ।

हिँड्ने बेलामा उहाँहरूले भन्नुभयो– “मनोहर कुटीभित्र हामीले दिइएको हुलियासंग ठ्याक्कै मिल्ने मान्छे हुनुहुन्छ,  वहाँलाई भेटेपछि यो पुलिन्दा दिनू ।”

मैले त्यसै गरे ।  धरानमा मनोहर कुटीमा लानु भनेकाले त्यो पुलिन्दा त्यहि पु¥याएँ ।

मनोहरकुटी कुन्ता शर्माको माइती घर हो । उहाँको माइतीमा मन्जुल आएर बस्नुहुन्छ भन्ने थाहा थियो ।  लगेको पुलिन्दा जिम्मा लगाएँ ।

पछि मलाई थाहा भयो, हाम्रो घरमा मदनसँगै आउने नेताहरूले पार्टीको मुखपत्र ‘वर्ग संघर्ष प्रकाशनको’ सामाग्री तयार गर्नु भएको रहेछ । त्यो वर्गसंघर्ष पछि प्रकाशणमा आयो । चिनिया कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटिलाई पठाउने सुभकामना पत्र पनि त्यहि तयार गरिएको रहेछ ।

मदन भण्डारी दस्तावेज तयार गर्ने कुरामा मेहेनतपूर्वक लाग्नु हुन्थ्यो । बहु आयममा काम गर्न सक्ने उहाँको चमत्कारीक ब्यक्तित्वले जोकोहीलाई छक्क पार्थ्यो ।

त्यतिखेर पार्टी  सि.पी. मैनालीको नेतृत्वमा थियो । उहाँसँगै बसेर मदनले दस्तावेज तयार गर्नुभयो ।

स्थानीय पार्टीलाई आवश्यक परेको बेला एकै ठाउँमा बसेरमदन भण्डारीलेबहस गर्ने, दस्तावेजहरुलाई परिस्कृत गर्ने, सकारात्मक राजनैतिक सन्देशको संप्रेषण गर्ने र पार्टी भित्र रहेका विकृति विसँगतिलाई औल्याउने काममा शिर्ष नेताहरू तल्ला तहका कार्यकर्ताहरूसँग बसेर छलफल गर्ने राम्रो चलन थियो ।

मदनले आफूभन्दा सिनियर नेताहरूसँग सहकार्य गरेको, दस्तावेजजिकरणमा अध्ययन र लेखनमा विशेष योगदान गर्ने गर्नुहुन्थ्यो ।

मदन ब्यवहारिक नेता हुनुहुँन्थ्यो । उहाँ पार्टीको अति विश्वसायिन नेता हुनुहुन्थ्यो ।

०३१ सालतिर नेपाली कांग्रेसले ससस्त्र युद्धको तयारी गर्दैथियो । फारवेसगञ्जमा मान्छेहरू भर्ती गरेर तालिम दियो । जम्मा गरिएको हतियार भर्ती भएका फौजीलाई दिएर लडाइँको मोर्चामा पठायो ।

त्यस मध्येका एक फौजी लडाइँमा जानु अघि घरमा बालवच्चा भेट्न गएछन । ६ राउण्ड गोली पड्कने सिक्सआर पेस्तोल र गोली झोलामा रहेछ । त्यो झोला घरको बिच खाबोमा  झुण्ड्याएछन । उनी बाहिर गएको बेला घरका केटाकेटीहरूले बुबाले झोलामा के ल्याएउनु भएको रहेछ ? पक्कै खानेकुरा होला भनेर हेरेछन । खोलेर हेर्दा पेस्तोल रहेछ । पेस्तोल देखेपछि आमालाई वोलाएछन ।

श्रीमान घर आएपछि श्रीमतिले सोधीछन्– ‘यो काहाँबाट आयो ? किन आयो ?’

केरकार गरेपछि श्रीमतीले लडाइँमा जान आँटेको कुरा थाहा पाइछन । लडाइँमा जान रोकेपछि पेस्तोल प्लाष्टिकमा पोको पारेर ढुङ्का खोपेर लुकाँएछन ।  ओखलढुङ्काको विद्रोहलाई त्यही हापी दिएछन् ।

पछि पार्टी कामले लेटाङ्गको खेरूवा पुग्यौँ । त्यहाँ जयबहादुर राईको घर थियो । उहाँबाट थाहा पायौँ, त्यो पेस्तोल उनी पार्टीलाई दिन चाहान्छन ।

⇒दासढुङ्गा दुर्घटना काण्डका एकमात्र साक्षी अमर लामाको हत्या यसरी भएको थियो !

एकदिन साझपख सुन्दरपुरबाट पेस्तोल लिन म निस्किएँ । साइकलमा थिए ।  साइकल कुदाएर कानेपोखरी हुदैँ कच्चीबाटो खेरूवा पुगेँ ।

०४२ सालतिरको कुरा हो, सानो समारोहको आयोजना गरेर जय बहादुरले पाँच गोलि सहितको हतियार जिम्मा लगाउनु भयो । हतियार लिएर खुसी हुँदै झिसमिसेमै साइकल कुदाएर विहान कानेपोखरी आइपुगेँ । पेस्तोल पछाडी  भ्यागुते झोलामा बोकेको थिए । सितले लछप्पै  पेन्ट भिजेको थियो । कानेपोखरी मा मुढा जोतेर चिया पकाई रहेको दोकानको आगो को भुग्रो छेउ बसेँ । आगो ताप्ने वहानामा पेन्ट सुकाएँ । विहान ८ बजे तिर घर पुगे । हतियारलाई प्लासटिकले बेरेर घरको छानामा सिउरिएँ ।

हतियार प्राप्त गरेको खबर मदनलाई पठाए । उहाँ समय मिलाएर आउनु भयो । घरमा क्षेत्रिय कमिटिको मिटिङ्ग पनि राखिएको थियो । त्यही मिटिङ्गमा  हतियार जिम्मा लगाए ।

मदनले  हतियार हेर्नुभयो तर केहि मतलब गर्नु भएन ।

मैले त्यत्रो दुःख गरेर, जतन गरेर, माया गरेर ल्याएको हतियारलाई मदनले मतलबनै दिनु भएन । सामान्य हिसावले भन्नुभयो– ‘ल अहिले राख्दै गर्नु ।’

म अचम्ममा परे । मनमा ठुलो औडाहा भयो । मदनले किन हतियारलाई वास्ता गर्नु भएन ? एकै चोटीमा छ राउण्ड पड्किने पेस्तोल पाउदा किन खुसी हुनुभएन ?

एकदिन मैले मदनलाई सोधे– ‘कुनैदिन हामीले प्रयोग गर्नुपर्ने हतियारलाई किन चासो दिनुभएन कमरेड ? जनताले दिएको पेस्तोल हामीले माया गर्नुपर्छ होइन र ?

जवाफमा मदनले भन्नुभयो– ‘यतै कतै तपाइँ नै राख्नुस् न ?’

फेरि पनि उहाँले पेस्तोलको वास्ता गर्नु भएन । घरको बुइकल माथि खरको छानामा लुकाइरहेँ ।

३/४ महिना पछाडि फेरि मैले मदनलाई भने– ‘त्यो पेस्तोललाई के गर्ने होला ? के काममा लाउने होला कमरेड ?’

त्यो वेला उहाँले भन्नुभयो– ‘यतिखेर बन्दुकले मान्छेको मन जित्ने होइन, विचारले मन जित्नु पर्छ । पेस्तोल जाहाँ छ त्यहि राखीरहनुहोस् । हामी जनपक्षिय नीतिले जनताको मन जित्नु पर्छ ।’

पेस्तोलको घटनाबाट मैले बुझेँ, मदन शान्तीपूर्ण जनआन्दोलनको  इन्जिनिरियरिङ्गमा अडिक हुनुहुन्छ ।

एक समय ‘पार्टी स्वतन्त्रता कि राजनैतिक स्वतन्त्रा’ भन्ने वहश राष्ट्रिय राजनितिमा चल्यो । पार्टीमा यो बहस गहिरिएर गयो । पार्टी स्वतन्त्रताको पक्षमा सि.पी. मैनाली हुनुहुन्थ्यो । राजनैतिक स्वतन्त्रताको पक्षमा मदन भण्डारी हुनुहुन्थ्यो ।

⇒मार्क्सवादको सिर्जनात्मक प्रयोग नेपाली सन्दर्भसहित

‘राजनैतिक स्वतन्त्रताको एउटा अंश वा एउटा पक्ष पार्टी स्तन्त्रता हो’ भन्ने भनाई मदनको थियो । पार्टी स्वतन्त्रता भन्दा माथि उठेरनै हामीले राजनैतिक स्वतन्त्रलाई राजनैतिक आन्दोलनको मूल कार्यदिशा बनाउनु पर्छ भन्ने उहाँको तर्क थियो । बिश्लेषणको त्यहीँ सेरोफेरोमा विद्यार्थीहरू पनि संगठित हुँदै थिए । राजनैतिक विचार र आन्दोलनलाई एक आपसमा जोडेर राजनीतिक वहस सवल हुँदै थियो ।राजनैतिक स्वतन्त्रताको विचारलाई सवलिकरण गर्ने कुरामा मदनको निर्णायक भुमिका थियो ।

सि.पि. मैनाली र मदनको विचार एकआपसमा ठोक्किरहेका थिए । विचारहरू राजनैतिक सिमालाई तोडेर बाहिर आएँ । को को पार्टी स्वतन्त्रताको पक्षमा ? को को राजनैतिक स्वतन्त्रताको पक्षमा भनेर पार्टी भित्र दुई विचार छुट्टियो । विचारमा लाग्नेहरू पनि दुई समुहमा छुट्टिए ।

त्यतिखेर मदनले भन्नुभयो  –‘पार्टी स्वतन्त्रता राजनैतिक स्वतन्त्रताको एउटा अंश हो । पार्टी स्वतन्त्रता राजनैतिक स्वतन्त्रताको अधिनस्त हुन्छ ।’

यो विषयलाई विवेचनात्मक लेख र आलेखबाट मदनले व्यापक रूपमा उठाउनु भयो । पत्रपत्रिकाका अन्तरवार्ताहरूमार्फत विचार अगाडी ल्याउनु भयो । सागर, वरवरिक, स्वेत सार्दुल आदी भुमिगत उपनामहरुबाट आफ्नो दृष्टिकोण सार्बजनिक सम्प्रेसन गर्नु भयो ।

यो बहस वौद्धिक क्षेत्रलाइ पनि ततायो ।सिंगो पार्टीको नेतादेखि कार्यकर्तासम्म यो बहसमा आन्तरिक रुपमा सामेल भए । मदनले यस बहसलाई जिताएरै छाड्नु भयो । त्यो विचार पार्टी भित्र स्थापित भयो ।

०४६ साल भदौ ९ गते चौथो महाधिवेशन लागि प्रतिनिधी भएर पुगेँ । सिराहाको विष्णुपुर कट्टी सर्रेअम्वास राईरैनी भन्ने ठाउँमा महाधिवेशन गरिएको थियो । महाधिवेशन १४ गते सम्म चल्यो ।

त्यस माहाधिवेशनमा धेरै तिरबाट नेताहरू आउनुभएको थियो । माहाधिवेशन हुने घर सुरक्षित थियो । घर बलबहादु सुनुवारको थियो । पार्टी कार्यकर्ताको  मद्धतले महिनौ दिन लगाएर महाधिवेशनकै लागि बनाइएको थियो । हिराबाहादुर सुनुवार र हरि पोखरेलको टिमले गरेको ब्यबस्थापन प्रशंशा योग्य थियो ।

त्यस माहाधिवेशनमा धेरै राजनैतिक र वैचारिक वहशहरू भए । मदनले आफ्ना तर्फबाट  ‘बहुदलिय जनवादको अवधारणा प्रस्तुत गर्नु भयो । त्यतिखेर उहाँको भुमिगत नाम ‘वर्वरिक’ थियो । अवधारणाको दस्तावेज वर्वरिककै नामबाट प्रस्तुत गर्नु भयो । मदनले दस्तावेज पार्टी जिम्मेवारी सम्हाल्ने क्रममा प्राप्त राजनितिकि अभ्यासका निचोडहरु निकालेरअन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन र समकालिन विश्व राजनितिको अध्ययन गरेर तयार  गर्नुभयो । अर्को अर्थमा त्यो दस्तावेज राजनितिक कार्यमुलक अनुसन्धानको सार थियो । त्यसको सार संग्रहलाई दस्ताबेजिकरण बिराटनगरमै तयार पार्नुभयो ।

त्यतिखेर सि.पि. मैनाली र झलनाथ खनालले फरक धारणाहरू राख्नु भएको थियो ।व्यापक बहसपछी मदनको राजनैतिक विचार ‘बहुदलिय जनवाद’ पार्टीले पारित गर्यो  र  ‘जस्को निति त्यसकै नेतृत्व’भन्ने मान्यतामा आधारित भएरमदनलाई त्यसै माहाधिवेशनले पार्टीको माहासचिवमा निर्वाचित गर्यो ।

त्यसपछि उहाँको तुरून्तै राजधानी सरुवा भयो ।काठमाडौँ गएर २०४६ को संयुक्त राष्ट्रीय आन्दोलन तैयारी का लागि तत्काल काम थाल्नु भयो। हामीले कमरेड मदनलाई विराटनगरबाट विदाई सम्म गर्न पाएनौँ ।

गुरु बराल
अध्यक्ष, मदन भण्डारी स्मृति प्रतिष्ठान नेपाल
सह इन्चार्ज, राजकीय मामला तथा सुशासन विभाग, नेपाल कम्युनिष्ट पार्टी

प्रतिक्रिया दिनुहोस्