०४ जेष्ठ २०७७, काठमाडौं
प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले विदेशमा अलपत्र परेका नेपालीलाई खान बस्न तथा स्वास्थ्योपचारको व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।
आइतबार (आज) बसेको समितिको बैठकले आफ्नै खर्चमा स्वदेश फर्किन चाहने नेपालीहरू तथा बेखर्ची भई अलपत्र परेका नेपालीहरूको विवरण संकलन गरी कार्ययोजना बनाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिले परराष्ट्र मन्त्रालय र श्रम मन्त्रालयको समन्वयमा नेपालीहरू रहेका विभिन्न देशका सरकारसँग वार्ता गरी त्यहाँ रहेका नेपालीहरूका सम्बन्धमा नेपालको ठोस प्रस्ताव पठाउने र सोहीअनुरूप गर्न सम्बन्धित देश हेर्ने नेपालका कुटनीतिक नियोगलाई निर्देशन दिन भनिएको छ।
यस्तै नेपाल भारत सीमा क्षेत्रमा आइसकेकाहरूको सीमा प्रवेश विन्दुहरूमा विशेष स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरेर स्वास्थ्य परीक्षण गर्दै तत्काल देशभित्र ल्याउन पनि समितिले भनेको छ ।
|फाइल तस्वीर|