०६ जेष्ठ २०७७, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले नक्साको विषयमा मात्रै संविधान संशोधन हुने बताएका छन् ।
मंगलबार (आज) सरकारको आव २०७७/७८को नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर जारी गरेको नक्सालाई कानूनी मान्यता दिन संविधान संशोधनको तयारी गरेको छ । प्रधानमन्त्री ओलीकाअनुसार उक्त संशोधन प्रस्ताव छिट्टै संघीय संसदमा दर्ता हुनेछ ।
संविधानको अनुसूची ३ मा नेपालको निशान छाप छ । उक्त निशान छापभित्र नेपालको पुरानो नक्सा अंकित भएकाले त्यसलाई सच्याएर संविधानमा नयाँ नक्शा अंकित निशान छाप राख्नुपर्ने हुन्छ ।
नेमकिपा सांसद प्रेम सुवालले नक्साबारे मात्रै समेटिन्छ कि अन्य विषय पनि समेटिन्छ संशोधनमा ? भनेर सोधेका प्रश्नको जवाफमा ओलीले भने, ‘अरु पनि विषयहरु होलान् । संविधान असंशोधनीय दस्तावेज होइन भनेर उहिलेदेखि म भनिरहेको छु । आवश्यकता अनुसार संशोधन हुन्छ । औचित्यका आधारमा संशोधन हुन्छ ।’
तर हाललाई नक्सासँग सम्बन्धीत विषयलाई मात्रै संशोधन गर्ने उनले प्रष्टीकरण दिए ।
|फाइल तस्वीर|