-बसन्त बागचन्द
माओले चिनियाँ क्रान्तिको सफल अवतरणपछि “पार्टी मुख्यालयमा बम बर्साऊ” भन्नुभयो । नेपालमा पनि नजयुद्धको शान्तिपूर्ण अवतरणपछि माओवादी केन्द्रका तत्कालीन दोश्रो वरियताका नेता डा.बाबुराम भट्टराइले पनि “माओवादी पार्टी विगठन गरौं” भन्नुभयो । यो भनाई महान युद्धपछिको विविध कारणले एउटा प्रक्रियातग काम थियो । तर क्रान्तिका नायक क.प्रचण्ड भने नेपाली क्रान्तिबाट प्राप्त भएका उपलब्धीहरुलाई संस्थागत गरी ती उपलब्धीहरुलाई ठीक ढंगले कार्यान्वयन गर्न र क्रान्तिका अधुरा काम सम्पन्न गर्न पार्टीलाई भंग गर्ने होइन, सम्पूर्ण परिवर्तनकारी शक्तिलाई गोलबन्ध गरी कम्युनिष्ट केन्द्र स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादमा जाने भन्ने क्रान्तिको लामो यात्रा [Long march] को अठोटले निर्देशित हुनुहुन्थ्यो ।
यही लामो यात्राको मार्गमा तत्काल संसदीय अभ्यासको अनुभवी पार्टी एमालेसँग एकता गर्न क.प्रचण्डले उचित सम्झनुभयो । यस सन्दर्भमा, उता एमालेको अन्तस्करणमा पनि “क्रान्ति पछि भुत्ते भइसकेको माओवादी केन्द्रसँग एकता गर्दा आफूलाई घाटा नहुने र आफ्नो वर्चस्व र शक्तिमा अभिवृद्धि नै हुने” भन्ने लागेको बुझिन्छ । अतः यी दुई भिन्न ध्येयबाट उत्पन्न आवश्यकताको समिश्रण गर्न ६०% र ४०% को भागवण्डा तय भयो । सोही अनुसार एमाले र माओवादी केन्द्रको एकताबाट वर्तमान नेकपाको उदय भयो । तर, आजसम्म पनि यस ऐतिहासिक एकीकरणको कार्य पूरा हुन पनि सकिरहेको छैन । र सारमा, एमाले र माओवादी केन्द्रको मन मिलिसकेको पनि देखिएन ।
जस्तो कि, दुई पार्टीबीच भएको संझौता अनुसार महाधिवेशनसम्म नेकपामा दुई अध्यक्ष रहने व्यवस्था गरियो । साथै, पार्टीका अन्य तहमा एमालेबाट ६०% र माओवादी केन्द्रबाट ४०% को मापदण्डमा केही तहमा एकता प्रक्रियाका कामहरु प्नि भए । अर्कोतर्फ, एकताका बाँकी काम पूरा नहुँदै अर्का अध्यक्षको कार्यकारिताको सम्बन्धमा धमिलोपन देखिन थाल्यो । त्यसैले अब यहाँनेर एकीकरण विधिको बनावटको सम्बन्धमा स्पष्ट हुन जरुरी देखिन्छ । जो यसप्रकार छः
स्थानीय निर्वाचनको मत परिणामका आधारमा गणितीय सुत्रको निर्माण भएको देखिन्छ । त्यो के हो भने, स्थानीय निर्वाचनमा एमालेले विजय प्राप्त गरेको गाउँपालिका र नगरपालिकाको संख्या सबैभन्दा बढी थियो । त्यहीअनुसार उसलाई ६०% को स्पेस दिइयो र माओवादी केन्द्रलाई ४०% मा राखेको बुझिन्छ । यो प्रक्रियाले पार्टीको तत्कालको भौतिक उपस्थितिलाई नै समायोजनको गणित बनाएको स्पष्ट छ । यस गणितको बारेमा अब यहाँ केही यक्ष सैद्धान्तिक पक्षलाई कोट्याउनुपर्ने हुन्छ ।
जबकि, पार्टीको एकीकरणमा एमाले र माओवादी केन्द्र, दुवै पार्टी विगठन भएर मात्र “नेकपा” भएकोले स्थानीय निकायमा कसले कति जित्यो भन्ने प्रश्नले नै महत्व राख्दैन र ६०%/४०% भन्ने केवल समझदारी मात्र बन्न सक्दछ । समानताको व्यवहार चाहिँ होइन । किनकि, समान हैसियतका दुई पार्टीको मिसन एउटै थियो । ‘एकीकरण’ । पार्टी विगठनपछि कोही पनि सानो वा ठूलो रहने । दुवै पार्टी विगठन भएर नै नयाँ पार्टी बनेको हो । कुनै चुनाव जितेको र हारेको आधारमा कतिपय पार्टीहरुको आकारलाई ६०%/४०% को गणनाका आधारमा निश्चित साइजमा परिभाषित गर्नु न्यायोचित हुन सक्दैन । .
उदाहरणको लागि, अहिलेको प्रतिपक्ष दल नेपाली कांग्रेसको हैसियतलाई यतिखेरको निर्वाचन परिणामलाई हेरेर स्थानीय र संसदमा भएको प्रतिनिधित्वको आधारमा उसलाई सानो पार्टी भनी आँक्न मिल्छ ? के कांग्रेसको साइज जे देखिएको छ, त्यही हो त ? त्यस्तै माओवादी पार्टी पनि कुनै समय सबैभन्दा ठूलो थिएन ? निर्वाचनले त कुनै बेला कसैलाई ठूलो बनाउँछ त कुनै बेला सानो । यसप्रकारको पार्टीको साइज मापनको विधिले सही किसिमको नतिजा आउन सक्दैन नै । समायोजनका सन्दर्भमा एमाले र माओवादी पार्टी एकीकरण हुँदा त्यो मापनद्वारा केवल [Nominal evaluation ] हुन गयो । गुणात्मक हुन सकेन । जबकि, पार्टी एकीकरणको दीर्घकालीन उद्देश्य, अन्तरर्राष्ट्रिय परिवेश, तत्कालीन आवश्यकता र महत्वलाई आधार मान्ने हो भने माओवादी केन्द्र नेपाली राजनीतिक मञ्च र समकालीन परिदृश्यमा कुनै कम महत्व राख्ने पार्टी थिएन । मूल्याकंन विधिमा तत्कालीन माओवादी केन्द्र, उसको क्रान्तिको बिरासत उसले स्थानीय निकायमा प्राप्त गरेको नतिजा, बराबर (=) त्यस्तैगरी तत्कालीन एमाले, उसको संसदीय अनुभव उसले स्थानीय निकायमा प्राप्त गरेको नतिजा आपसमा तवुलना गर्दा गर्दा बराबरनै हुन्छ भन्ने तथ्यलाई नजरअन्दाज गरिएको देखिन्छ ।
अब, यहाँ तत्कालीन माओवादी केन्द्रको सम्बन्धमा समीक्षा गर्ने हो भने उसको ऐतिहासिक राज्यसत्ताको पृष्ठभूमि छैन । साथै संसदीय व्यवस्थामा खाइखेलेको स्थापित पार्टी पनि होइन । तर, आमूल परिवर्तनको लागि गरिएको महान् क्रान्ति र त्यसबाट प्राप्त अहिलेको उपलब्धी नै उसको समष्टि हो । उभिने जमीन हो र उसको गुङ्गो वजन हो । सामन्ती शासन प्रणाली भएको देश नेपालमा कसैले कल्पना समेत नगरेको सशस्त्र क्रान्ति र त्यसबाट प्राप्त भएको गणतान्त्रिक शासन व्यवस्था तथा उसका मुद्दाहरु नै उसको बलिदानी पहिचान हो । सामन्ती शासन प्रणालीविरुद्ध विश्व क्रान्तिहरुको झझल्को दिने गरी उसले गरेको १० वर्षे सशस्त्र जनयुद्ध नै विश्व राजनीतिमा उसको गौरवपूर्ण इतिहास हो ।
उदाहरणको लागि जनयुद्धलगत्तै विसं २०६४ सालको निर्वाचनमा सबैभन्दा ठूलो पार्टीको रुपमा जनताले स्थापित गराएको इतिहास नै जिउँदै छ । त्यही नै उसको निर्वाचनले दिएको पार्टीको स्थापित साइज हो । संसदीय भासमा फसेपछि ऊ पछि परेको मात्र हो । जनताका अधिकारका लागि उसले उठाएका संविधान सभाको मुद्दा संविधानसभाद्वारा संविधानको निमार्ण हुन, धेरैजसो मुद्दाहरु संविधानमा समाहित हुन र विश्वमा नेपाल लोकलान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था भएको देश भनेर चिनिने जस्ता आधारमा माओवादीलाई मूल्याकंन गरिनुपर्ने हो । यसप्रकार उसको वास्तविक मूल्याकंन हुन पर्दथ्यो । तर त्यस्तो भएन ।
माओवादी केन्द्रको गौरबमय विरासतको मुख्य अंगलाई सिङ्गो पार्टीबाट अलग गरियो । त्यति मात्र गरिएन, जनयुद्धको पनि ऋणात्मक मुल्याकंन पनि गरियो । जसले गर्दा माओवादी केन्द्रको साइज सानो मानियो । यसको ऐतिहासिक कारण के हो त भने– पूर्व एमालले जनवादी क्रान्तिलाई (जनयुद्ध) हमेशा घृणा गर्दै आएको तथ्य अहिले पनि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाबाट प्रायः व्यक्त भइरहने अभिव्यक्तिले पनि सिङ्गो दृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ । जसको प्रभावले क. प्रचण्डको साइजलाई सानो बनाइयो । फलस्वरुप, अध्यक्षद्वयमध्ये एउटा–प्रधानमन्त्री र पार्टीको अध्यक्ष साथै पार्टीको शक्ति केन्द्र पनि, अर्को अध्यक्ष डिपेन्डेबल हैसियतमा हुनबाट नै पावर शेरिङ्ग शून्य रह्यो भन्ने हो । जय होस् ।
अन्त्यमा,
नेकपामा समाजवाद हुँदै साम्यवादसम्म पुग्ने लामो दौडको यात्रामा हिँड्ने बाचा गरिएको छ, त्यसको लागि निःशंसय, केन्द्रदेखि तल्लोतहसम्ममा भावनात्मक एकता हुन अत्यावश्यक हुन्छ । नेकपालाई अबका दिनमा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा मानवता विश्वकै कोभिड १९ जस्ता विविध खाले चुनौती र देशभित्र आर्थिक समृद्धिको मुद्दाको सामना गर्नुपर्ने अवस्था आएको छ । जनतासँग कबुल गरेका बाचाहरु पूरा गर्नु छ । साथै हजारौं शहीदहरुको बलिदानीलाई निरर्थक हुन नदिन एकीकरणका अधुरा कार्य तत्काल पूरा गरी पार्टीलाई एक ढिक्का बनाउन र कम्युनिष्ट विधि पद्धतिअनुरुप कार्यकर्तालाई प्रशिक्षित गरी संगठन विस्तारमा उनीहरुलाई आवद्ध गर्नुछ ।
नेता र कार्यकर्तालाई जनमुखी अनुशासित र इमान्दार बनाइ विश्वास प्राप्त गर्नसक्ने वातावरण निर्माण गर्नको लागि प्रयास हुन जरुरी देखिएको छ । यी सबै कार्य एउटै व्यक्तिमा अधिकार थुपारेर सम्भव देखिँदैन । तसर्थः सरकारको भूमिका र पार्टीको जिम्मेवारीलाई अलग अलग दायित्वमा हस्तान्तरण गरी विश्वासको वातावरण बनाउन सबैको मेहनतको आवश्यकता छ । तब मात्रै नेता र कार्यकर्ताबीच एकता र विश्वासको वातावरण बन्ने छ । यसरी मात्र पार्टी एकीकरण सार्थक हुने र समाजवादी क्रान्ति अघि बढ्न सक्दछ भन्ने यो आलेखको निष्कर्ष हो ।
संक्षेप:
क्रान्तिका नायक क.प्रचण्ड भने नेपाली क्रान्तिबाट प्राप्त भएका उपलब्धीहरुलाई संस्थागत गरी ती उपलब्धीहरुलाई ठीक ढंगले कार्यान्वयन गर्न र क्रान्तिका अधुरा काम सम्पन्न गर्न पार्टीलाई भंग गर्ने होइन, सम्पूर्ण परिवर्तनकारी शक्तिलाई गोलबन्ध गरी कम्युनिष्ट केन्द्र स्थापना गर्ने र समाजवाद हुँदै साम्यवादमा जाने भन्ने क्रान्तिको लामो यात्रा [Long march] को अठोटले निर्देशित हुनुहुन्थ्यो ।
लेखक गरिबी निवारण कोषका पूर्वसञ्चालक सदस्य हुन् ।
प्रकाशित : ०८ जेष्ठ २०७७, काठमाडौं