१२ जेठ २०७७, काठमाडौं
नेपालमा बन्दाबन्दी सुरु भएको ६३औं दिन पुगेको छ । चीनको उहान प्रदेशबाट १७ नोभेम्बर २०१९ मा कोरोना भाइरस देखा पर्यो। चीनको ५५ वर्षीय पुरुषमा पहिलोपटक देखिएको कोरोना भाइरसको बारेमा स्पष्ट जानकारी राख्ने ६० बर्षीय डा.लियाङ उडोङ थिए । कोरोना भाइरसको सम्बन्धमा विशेष ज्ञान हासिल गरेका भनिएका डा .उडाेङको त्यही भाइरसकै कारण दु:खद निधन भयो । चीनपछि थाइल्यान्ड हुँदै कोरोनाको असर सुरु भएको इरान (19 Feb.,2020), इटली (31st Jan.2020), साउथ कोरिया (20 Jan.2020), स्पेन (32 Jan.2020), टर्की (11 Mar.,2020), फ्रान्स (24 Jan.2020) र अमेरिका (19 Jan.2020, पहिलो मृत्यु 29 Feb.2020,पचास वर्ष जतिको पुरुष ) हुँदै बिश्वका दुईसय पन्ध्र (२१५) देशमा कोरोनाको प्रभाव पर्न गएको छ । अझै यस्को प्रभाव कति देशमा हुने हो अनुमान गर्न गार्हो बन्दैछ ।
कोरोना भाइरस (Covid-19) ले विश्वभरमा अकल्पनीय मानवीय क्षति गराउने निश्चित छ । हालसम्म बिश्वभर कोरोना सङ्क्रमित ५५ लाख, कोरोनाको कारण मृत्यु हुनेहरुको सङ्ख्या ३ लाख ४६ हजार र निको भएर घर फिर्ता हुनेको जम्मा सङ्ख्या २३ लाख १ हजार रहेको स्थिति देखिन्छ । जन्मेको तीस घन्टाभित्र मृत्यु हुने चीनका नवजात शिशुदेखि अमेरिकी देशको मेरिल्यान्ड प्रान्तको ११२ बर्षीय महिलाको समेत कोरोनाको कारण निधन भएको तथ्यले जुनसुकै उमेरकामा पनि कोरोनाको प्रभाव पर्न सक्ने आशङ्का उत्पन्न गरेको छ । प्रकृतिको भरपुर उपयोग गर्दै आफ्नो शक्ति, प्रभाव र विद्धता बिश्वभर पस्केर मानव जातिलाई सर्वोच्च बनाउन सफल मानव जाति निरीह बनेको छ । मानव जातिको विगतको छवि माथि गम्भीर प्रश्न उब्जिएको छ । संसारलाई नै प्रत्यक्ष /अप्रत्यक्ष रुपमा आफ्नो शक्तिको वरपर घुमाउँदै स्वार्थ पूरा गर्ने शक्तिशाली राष्ट्र पनि आफ्नो नागरिकको सुरक्षामा अल्मलिएको अवस्था छ । कोरोना सामु शक्ति र सम्पन्न राष्ट्र अमेरिका पनि कमजोर साबित भएको स्थिति छ । सन २००१ मा पेन्टागनमा इस्लामिक टेरोरिस्टले आक्रमण गरेर २,९९६ अमेरिकी जनताको ज्यान लिदा संसारभर शक्तिको उन्माद पोखेर नथाक्ने तत्कालीन अमेरिकी सरकार आज ९९००० भन्दा बढी अमेरिकी जनताहरुले कोरोनाको कारण ज्यान गुमाउनु पीडायुक्त अवस्थामा छ। आफूभन्दा निम्न देशको नागरिकको मानवीय कमजोरीप्रति ज्यादै कठोर बन्ने अमेरिकी सरकार कोरोना भाइरसको यो कहालीलाग्दो अवस्थामा एकदमै झस्किएको छ । अव्यक्त त्रासरुपी ज्वालाको रापले अमेरिकी राष्ट्रपति ट्रम्प अमेरिकी नागरिकहरुलाई कहिले नमस्कार गर्नुपर्छ भन्दै, कहिले आफैं ॐ शान्ति पढ्दै र कहिले मास्क लगाउन प्रेरित गर्दैछन । संसारभर महाशक्ति मानिएको अमेरिकी सरकार पनि कोरोनाको डरलाग्दो असरदेखि त्रसित बनेको अवस्था छ । कोरोनाको कारण बेलायतमा ३६,६७५, इटलीमा ३२,७३५,स्पेनमा २८,७५२, फ्रान्समा २८,३६७,बेलायतमा ३६०००, ब्राजिलमा २२,१६५ भारतमा ४०२४, पाकिस्तानमा १,१० १जना मानिसहरुले जीवनको अन्तिम मार्ग पछ्याइसकेका छन । संसारका २१३ देशहरूले यो समस्याको सामना गरिरहेका छन् ।कोरोना भाइरसको प्रभाव
विश्वका अरु देशमा पनि निरन्तर-निरन्तर छ । मानिसले मानिसहरुका सामु शक्ति प्रदर्शन गर्न र आफ्नो स्वार्थ र सुरक्षाको निम्ति तयार गरेका सामरिक विषय पनि आज अर्थहीन भएको छ । आजसम्म प्राप्त वैज्ञानिक सफलताले यो मानवीय संकटको समाधान नहुने निश्चित नै छ । खरबौ-खरब डलर खर्च गरी युद्धको सामग्री भन्डार गर्दै, आणविक भट्टि स्थापनामा ध्यान दिदै अनि म मात्र शक्तिको श्रोत हुनुपर्छ भन्ने भ्रममा अल्झिने शक्तिशाली मुलुकको वास्तविकता विगतमा घामझै छर्लङ्ग थिए । खोइ ! मानव जातिको जीवन रक्षा ? विश्व स्वास्थ्य सङ्गठन (WHO) लाई सबैले साथ र भरोसा दिनमा मन सानो किन पारेको ? भोलि देखिने विविध समस्याको समाधानका बारेमा बहस गर्दै हतियारमा भन्दा मानव जातिको रक्षाका निम्ति विश्वको ध्यान जानू पर्ने होइन र ? अदृश्य भाइरसरुपी शत्रुले एकपक्षीय रुपमा मानवमाथि निरन्तर आक्रमण गरिरहदा मानिसका सामु सहनु बाहेक अर्को विकल्प तयार भएको छैन । मानिसबाहेक प्रकृतिका सबै पक्ष चलायमान छन । विना रोकावट नदी, जनावर, जङ्गल, वायु, घाम, कीट, पन्छी, इन्द्रेणी आदिले संसारभर सदाझै आफ्नो गतिमा सक्रियता देखाइरहदा पनि बुद्धिमान् मान्छे मान्छेदेखि डराएर लुक्नुपर्ने अवस्थामा पुगेको स्थिति छ । भविष्यप्रतिको कमजोर हेराइका कारणले नै मानिस यो अवस्थामा आइपुगेको हो ।यसरी प्रकृति प्रेम, दुरदर्शिता, निस्वार्थता र स्पष्टताका अभावमा बिश्वले यो महामारीको सामना गर्नु परेको हो । अब समस्या समाधानसगै आगामी सुरक्षामा सचेत हुनका लागि बुद्धिजीवी र विविध क्षेत्रमा सक्रिय सक्षम बौद्धिक जनशक्तिका माध्यमबाट विश्व जनमतलाई मार्ग हस्तान्तरण गर्ने चीन्तनका साथमा एउटा साझा सङकल्पमा जुट्नु अति जरुरी देखिन्छ । मानवीय क्षति, आर्थिक नोक्सानी र मानसिक असन्तुष्टिले आगामी यात्रा कष्टकर हुने सम्भावना अत्याधिक बढाएकोले नयाँ तर सारा विश्वको सुरक्षा हुने गरी बहस गर्नुपर्ने जिम्मेवारी सबै मानवमा आएकोछ ।
विश्वभर देखिएको कोरोना भाइरस (Covid -19) को प्रभाव नेपाल र नेपाली जनसमुदायमा परिसकेको छ ।हालसम्म कोरोना सङ्क्रमित हुने नेपालीहरुको सङ्ख्या ६०३ पुगेको छ । तीनजना नेपाली २ पुरुष र १ महिला) नागरिकहरुको दु:खद निधन भएको छ । कोरोनाको असर दिनदिनै बढदो छ । अझ भोलिको दिन कस्तो आउने हो ? अनुत्तरित प्रश्नहरु यथावत नै छन् ।सरकार जनताको संरक्षकको भूमिकामा रही दिनरात नभनी काम गर्न तयार रहनु पर्ने हो । प्रयास पुगेको अनुभुति जनतातहमा कम सुन्न पाइन्छ । जनताले पनि सरकारलाई दिएको साथ र सहयोगमा निरन्तरता जरुरी हुन्छ । सबै सरकारको काम होइन ।जनताको क्षेत्रबाट पनि प्रशस्त काम गर्ने विषयहरु हुन्छन् । राज्यको ध्यान अन्त लगाएको मौकामा गलत काम गर्ने अपराधी चीन्तन बोक्ने तस्करतर्फ पनि राज्य चनाखो हुनुपर्छ । आन्तरिक र बाह्य दुवैतर्फ सचेतता अपनाउँदै परदेशमा रहेका आफ्ना नागरिकहरुलाई स्वदेश फिर्ताको तयारी सरकारले गर्नुपर्छ । सिमानामा रहेका नेपालीहरुलाई सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै आफ्नो देश आउने कार्यमा साथ दिनुपर्छ । विदेशबाट स्वदेश आएका नेपालीहरुले पनि सरकारको कोरोना नियन्त्रणको कार्यमा इमान्दारिताका साथ सहयोग पुर्याउनु पर्ने नै हुन्छ । त्यस्तै कोरोना नियन्त्रणमा रातदिन नभनी सक्रियता देखाउने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार, अति आवश्यक सामग्री बोक्ने सवारी चालक र सरसफाइ क्षेत्रका राष्ट्रप्रेमी नायकहरु प्रति उच्च मम्मान गर्दै उनीहरूको मनोबल उठाउनु पर्दछ । यसैमा सबैको ध्यान जानुपर्छ ।
बन्दाबन्दीको कारण बालबालिकाको मनस्थितिमा नराम्रो प्रभाव पर्न सक्छ । सुरक्षा अभावका कारण विद्यालय बन्द हुनाले ती कोमल , अपरिपक्व र चञ्चल बालबालिकाहरुले अनौठो अनुभव गरिरहेको होलान् । विद्यालयको पोशाक धारण गरि विद्यालय जान नपाएकाले कतै लुकिछिपी पोशाकसहित खेल खेल्न थालेका होलान् ।
समयमा नै विद्यालय जाने, पढ्ने, लेख्ने र साथीभाइसित खेल्ने ती रमाइला दिनहरु सिनेमामा मात्र देखिन थालेको अवस्थामा बालहृदय बेचैनीले युक्त हुन सक्लान् । समाचार, समाज र समयले बालहृदयमा नराम्रो चोट पुर्याउन सक्लान् ।संसारभर कोरोनाले मानिसहरु मर्नेको सङ्ख्या दिनदिनै बढेको खबरले उनीहरूको मन अशान्त बन्ने स्थिति हुन्छ । मैदानमा खेल्न जान बन्देज गरिएको छ । साथीहरु कहिल्यै भेट्न् नसकिने गरी टाढिएका छन् । गुरु र गुरुआमाको निर्देशनको अभावमा कापी र कलमको सम्बन्धमा बिछोडको अवस्था देखिन्छ । न साथमा पुस्तक छन् न मन भुलाउने अन्य साधनहरु नै । अक्षर राम्रो लेख्दा पाइने स्यावासी, कक्षामा ध्यान दिएर सुन्दा गुरुहरुबाट मिल्ने हौसला र विभिन्न प्रतियोगितामा स्पष्ट वक्ता बनेर राखिने भाषणकला पनि रोकिएको स्थितिले बालबालिका औधी नै कष्टका साथ समय बिताउन बाध्य होलान् । तर बालबालिकाका वास्तविक समस्याको पहिचान गर्ने अभिभावकहरुले भने विविध उपाय लगाई समस्या समाधानमा साथ दिन सकिने हुन्छ नै । अभिभावकको साथमा धैरै दिनदेखि बसिरहेका बालबालिकाहरुलाई बिहानीको नित्य कर्म पछि नै दैनिकीरुपमा गरिने कार्यक्रमको तालिकामा चल्न सिकाउनुपर्छ । उनीहरुको भावना अनुसार घरभित्रको खेल, चित्रकला, हस्तकला, गीत /सङ्गीत, सिलाई/बुनाई, पाक कला, योग, नृत्य कला, भाषण कला, हाजिर जवाफका प्रश्न तयारी, सिनेमा अवलोकन, विविध पुस्तकहरुको अध्ययन र आफ्ना सन्ततिहरुको इतिहासको बारेमा पनि जान्न र सिक्न लगाउन सकिन्छ । गाली, तिरस्कार र अपमान गरेर उनीहरुलाई दुःखित तुल्याउने काम गर्नु हुँदैन । गल्ती गरे भने पनि सुधारको लागि प्रेरित गर्नुपर्छ । समुहमा बसेर आफ्नो कुरा स्पष्ट राख्ने कला पनि सिकाउनु पर्छ । पुस्तक मात्र ज्ञानको मुहान होइन । दैनिकी जीवनमा गरिने अनेक गतिविधिबाट बालबालिकाले शिक्षा प्राप्त गर्न सक्ने हुनाले उचित वातावरण तयार गर्नका लागि अभिभावक र परिवारका अन्य सदस्यहरुको सकारात्मक भूमिकाको आवश्यकता निरन्तर रहन्छ नै ।
कोरोना भाइरस (Covid -19) बाट नागरिक सुरक्षाको लागि सरकारले जारी गरेको बन्दाबन्दी (Lockdown) को असर विश्वभर निरन्तर जारी रहेको अवस्थामा हामी सबै सचेत बन्दै भोलिको आशालाग्दो, वास्तविकरुपमा उत्रन सक्ने सक्षम जनशक्ति नै आजका बालबालिका नै हुन् भन्ने बुझ्नु पर्ने हुन्छ । बालबालिकामा आज पर्ने नकारात्मक प्रभावले भोलिको हाम्रो समाज भरपर्दो नबन्ने निश्चित हुन्छ । तसर्थ जस्तोसुकै कठिन चुनौतीपुर्ण अवस्था देखिए पनि बालबालिकाको हृदयमा पर्न सक्ने नकारात्मक प्रभाव हटाउन सबै सचेत बनौं । हाम्रो आगत बलियो बनाउने काममा इमानदारिताका साथ सोच्ने बेला आएको छ । कोरोनारुपी भाइरसलाई परास्त गर्न सचेत बनौं । हाम्रा बालबालिका बुद्ध हुन्, तारा र जून हुन् अनि भविष्यका अनगिन्ती सम्भावनाका मुहान हुन् ।
गणेशकुमार मिश्र
(प्राचार्य )
त्रि -ज्योति मा .बि .बुनपा-१२ ।