आशा भित्रको आत्मबिश्वास !



१२ जेठ २०७७, काठमाडौं/समिना न्यौपाने

सबै कुरा थियोे, के थिएन एउटा सुन्दर घर, प्राण भन्दा प्यारि छोरी, पोल्टा भरी अटाइ नअटाइ खुशी दिने, ओठबाट झर्न नपाइ फर्माइस पूरा गरिदिने, आँखामा राखिदिदा नी कहिल्यै नबिझाउने श्रीमान, मान, सम्मान, इज्जत सब चिज थियो । राजतन्त्रको बेलाको जस्तो महारानी थिए त्यस दरबारमा, सबै कुरा ठिकठाक थियोे । तर शरीर भित्रको एउटा अङ्ग भने सधैं मन्द गतिमा, धुमिल पारामा चराइरहन्थ्यो । शुन्यता थियोे केबल !

विवाह बन्धनमा बाधिएको ठ्याक्कै १० बर्ष भैसकेको थियो । एकाध अन्मेल विवाह नसोचेको पनि होइन आफ्नो सम्बन्ध प्रति । विवाह गर्दा ठ्याक्कै १८ बर्ष पूरा गरेको थिए, जीवनको परिभाषा अलि–अलि बुझ्न नपाई पराइ बनाउँदै गर्दा रातो पहिरनमा नाक, कान, घाटी हात सबैतिर चम्किलो सुनरुपी सुनौलो लप्काहरु अनि उपस्थित सम्पूर्णका ध्यानाकर्षण म तिरै हुनाले आफूलाई आफ्नो गाउँ मात्रै होइन जङल जादा भेटेका रामा, ठुलीकान्छी, सानकान्छी भन्दा सुन्दर युवती मै हुँ जस्तो आभाषसँग रमाइरहेको थिए । अहिलेको जस्तो उमेर भएको भए त धेरै कुराको भेउ पाएको हुन्थे । तर उ बेलामा मेलापात, गाइ बाख्रा, बेशी गर्दै किताबको शब्दहरु भैंसी बराबर भए, पण्डितले पनि के के भट्टाए–भट्टाए बिहे गर्दा ती संस्कृतका श्लोक हामीले बोल्ने भाषामा उल्था गरिएको भए ती सबै बुझ्ने पो थिए कि, बेहुलाले मेरो कम्मरमा बाँधेको सेतो लामो कपडामा जनै सुपारी र पैसा राखेर कसेको एक फेर समाउँदै पछाडी हिड्दा बाजेले पढेका संस्कृतका शब्दहरु कानमा मात्र गुन्जिए । सिन्दुर हाल्दा आकाश,आगोमा अनि भुइ तिर तीन पटक छरेर मेरो सिउँदोमा सिन्दुर राख्दाको अर्थ कसले बुझाइदिनु, घरमा बाको कोठामै  ठुलो सानो रङ्गीबिरङ्गी श्राद्ध, नारायण पूजा, बैतर्नीका किताबहरुका बारेमा बाले भाइ लाइ बाहेक मलाई कहिल्यै सुनाउनु त के छुन पनि दिनु भएन । खै के–के हो के–के पुरै १० घन्टा लगाएर गरेको विवाहको मन्त्र नबुझ्नेलाई खुर्पाको बिड जस्तै भयो मलाइ नि, तर घरा आमा, बा, तल्ला घरका काका, काकी, पुछार घरे माहिलो दाइ, भाउजू, कार्कीनी आमैका कुराबाट केही त बुझेको थिए बिहेको बारेमा । सोच्थे तन र मनको मिलन नै बिहे हो तर कहिल्यै नमिल्ने मन अनि रक्सीको मातमा बिरलै मिल्ने तनका साथ जीन्दगीको ठ्याक्कै साढे एक बिशा कहिले छोरीको लागि कहिले जौ, तील र कुशको साथमा शंखबाट झरेको पानीको साथ छोडेर आएको कुलको इज्जतको लागि बिति गयो । न कहिले बिहे, बिहे जस्तो बन्न सक्यो मेरो । फगत सम्झौतामा गासिरहे जिन्दगी अनि रहरहरुलाई । शरीरको त्यो पोलेको अङ्गलाई बेलाबेलामा बिगतका सुख दुःखका यादबाट झरेका आँखाका पानीले मलमको काम गर्दथे । केही दिनको लागि शितल हुन्थ्यो अनि बुझाउँथे आफ्नो मनलाई ह्या के गर्छेस त कान्छी ? तेरा भाग्य नै यस्तो रहेछ । अब पुर्पुरोमा लेखेको मेटिन्छ र बाबै ?

आफूले आफूलाई अभागी सम्झे पनि समाजको लागि साहै्र भाग्यमानी थिए म राजधानीको मुटु मै घर थियोे आकर्षक शरीर, अग्ला जिउ, कद मिलेको, खान पाका जस्ता देखिने आफ्नै करोडौंको ब्यापार भएको श्रीमान्, लुगा धुनदेखि घर पुछ्न मान्छे आउने, म भने चार खम्बामा सिमित कोठा अनि भान्सामा मात्र सिमित हुन्थे । बर्षको एक पटक माइतीको आँगन टेक्ने मौका पाए पनि हरेक पल मन उतै घर, आँगन, बेसीमै छरिरहेको हुन्थ्यो । उहाँ प्राय कामको शिलशिलामा अबेर घर आउनुहुन्थ्यो । आएपछि पनि आफ्नो मोबाइलमा ब्यस्त रहनुहुन्थ्यो । मेरो पनि फेसबूक त थियोे भान्जी पर्ने एक जना नानीले बनाइदिनु भाको तर खोइ को सँग बोल्नु माइतीमा आमासँग न फोन थियोे न फेस बूक ? के काम त्यो चिज को जब बोल्ने मान्छे नै छैन भने तर युट्युब निकै लाभदायक भइ दियो मेरो लागि धेरै कुरा पढ्न जानेको थिए ।

उहाँसँग एक महिला कहिलेकाही घर आउथिन, प्राय उसैसँग बोली रहनु हुन्थ्यो । मोबाईलमा पनि प्रिया थियोे उसको नाम । उहाँ बाथरूम जाँदा गुड मर्निङ्ग लेखेको मेसेज देख्ने गरेको थिए । तर छुट्याउनु सकिरहेको थिएन प्रिया नाम हो कि या उहाँकै प्रिया हो भनेर । जे भए पनि मलाई के त जस्तो नलाग्ने कहाँ हो र ! तर के गर्नु बुझ्दैन् थियोे मन । मान्छे न हो बस्दाबस्दै जनावर त आफ्नो हुन्छ भने उहाँ त ……..नबुझेको मन्त्र सहि तर बाजा बजाएर आएकी थिए । उहाँको घर को कुलबधु अनि उहाँकै जीवनको आधी अङ्ग बनेर म । मेरा प्रत्येक प्रहर आधीबाट पुरै अङ्ग बन्नमा केन्द्रित रह्यो तर खोलालाई मुहान मै छेकेपछि पानी तलतिर बग्न बाँध भत्काउने गरि बाढी नै आउनु पर्दो रहेछ । त्यो खाली अनि एक्लो पनमा उहाँको बेवास्ताले मलाई गतिलो झापड हान्थ्यो । तैपनि मैले मेरो आशा भित्रको आत्मबिश्वास कसिलो थियो । कि एक्दिन म त्यो बाँध भत्काएर छोडछु भन्नी । हिन्दीमा एउटा भनाइ छ नि आदत से मजबुर भने झैं ।

समय आफ्नै गतिमा अघि बढिरहेको थियोे । संसार नै उथल पुथल भएपनि के त समय रोकिन्न रहेछ । भँुईचालो गएको ठ्याक्कै २ महिना भैसकेको थियो, कैयौं मानिस घरबार बिहिन बनेका थिए । कतिले आफ्नो प्रिय ब्यक्ति गुमाउनुको पिडामा जलिरहेका थिए । फूल स्याहार्ने दाइ बिना मेरो बगैंचा पनि प्राण बिहिन भएको थियोे । घर बनाउने भनेर जानू भएको उहाँ २ महिनापछि आउन नपाउने कुरा गर्दै फोन गर्नुभयो । तर उहाँको बदलामा एक जनालाई भनेको छु आउँछु भनेर फोन राख्नुभयो । खै कस्ता मान्छे हुन, उहाँ त सारै भरपर्दो हुनुहुन्थ्यो । आफैँसँग गुनगुनाउन थाले । त्यही प्रकृति नै मेरो साथी थियो, मेरो जिउने आधार थियोे । त्यस्को हेरबिचार मेरो लागि असाध्यै प्यारो लाग्थ्यो । जस्तो पाए त्यस्तै माली सम्भव थिएन । मेरो बगैँचाको मालिक म उनी उ मेरो माली बन्न । उत्सुकताको साथ अर्को मालीलाई कुरेर बसेको थिए । त्यो दिन माली आउनु भएन भोलिपल्टको बेलुकाको ठिक ६ः१५ बजे आयो । अनि सुनायो १ महिना सम्म हप्ताको २ दिन मात्र आउछु अर्को घरमा पनि जानू छ अलि ब्यस्त छु भनेर । श्रीमानको जीवनमा मेरो कुनै लगाम नभए पनि घरको जिम्मा भने कसैले मबाट लिन चाहन्न थियोे । सम्पूर्ण बगैँचादेखि अन्य बस्तुमा मेरो निर्णय हुन्थ्यो । त्यो मालीलाई भो न आउ भनौकी जस्तो लागेको थियो । फेरि खै किन रोक्यो यो मनले आ होस् १ महिना त हो जस्तो लागेर केही भनिन्, उ पहिलेको माली भन्दा फरक लाग्यो । मलाई पनि मेरो नामको पछाडी जि राखेर बोलायो र मलाई पनि उसकै नामले बोलाउन आग्रह गर्थ्यो ।

सधै उस्तै रहने दिन अनि रात कति छिटो बितेको पत्तै नहुनी । मालिजी घरमा हप्ताको २ दिन आउन थालेको १ महिना बितेर आजबाट नियमित आउने भैसकेको थियो । उस्ले काम गरेको सँगसँगै बसेर हेर्थे म पनि, म अलि कम नै बोल्थे उ भने धेरै नै बोल्थ्यो । उ मलाई आफ्नो गाउँघर अनि संघर्षका कथा सुनाउथ्यो । बेलाबेलामा बाउसे गर्न जाँदा कसरी खाल्डो बनाएर रोपारेलाइ लडाउँथ्यो भनेर सम्झिन्थ्यो । उस्को सम्झनासँगै म आफ्ना दौतरीसँग मेलापातको पैसाबाट बजारमा फिलिम हेर्न गएको सम्झन्थे । सँगै उसको मजाकहरुमा रमाइरहेको थिए । तर मलाइ पत्तै थिएन म अलिअलि उसँग नजीकिदै थे भन्नी । यसैगरी ९ महिना बितिसकेको थियो । त्यस अन्तरालमा उ र म साथी भयौं । उमेर सँगसँगै थियो । सबैभन्दा ठूलो कुरा उस्को र मेरो मन मिल्यो । फेसबुक चलाउनी भएको थिए म पनि । घण्टौं बित्न थाल्यो मेरो समय पनि सामाजिक संजालमा । चुम्बकीय शक्ति नै पो छ कि जस्तो लाग्न थाल्यो मलाई पनि । थुप्रै जाँच लिए मैले उस्को कि उ मेरो साथी बन्न लायक छ कि छैन भनेर । फेसबुक मार्फत, सायद उस्ले पनि लिएको थियो होला मेरो जाँच । उ करोडौंमा एक बनिरहेको थियोे मेरो त्यसैले उसँग धेरैबेर बिताउन थाले फेसबुकमा च्याट गरेर ।

उचित र गुणस्तरीय शिक्षा भनेर छोरीलाई श्रीमानले बूढानीलकण्ठ स्कूलमा होस्टलमा राखी दिनुभयो त्यसपछी हामी श्रीमान श्रीमती बिच भाषाको आदानप्रदान खानाको टेबुलमा मात्र हुन्थ्यो । उहाँ आफ्नो जीन्दगीमा म आफ्नो जीन्दगीमा आफ्नै तरिकाले बाँच्दै थियौं । नयाँ पनको आभास थियो मनमा, खाली महशुस हुने त्यो शरीरको अङ्ग कताकता चलमलाएझैं हुन थालेको थियो, मालिजिको आगमनमा अनि उस्को फेसबुकको भित्तामा एक्टिभ नाउँ देखाउँदामा पनि । एक्टिभ नाउँको हरियो थोप्लोले उसलाई देखाउँदा जति फुरुङ हुन्थ्यो मन त्यो भन्दा बढी उसको मायाले उडन थाल्यो मायाको नगरीमा त्यो खाली शरीरको एक अङ्ग । सब हद बिर्सेर माया लाग्न थाल्यो उस्को ।

चैत्र मासको उराँठ लाग्दो मौसम, बेला न कुबेला आउने हुरि सुख्खा खडेरी, वसन्त ऋतु पनि शरद ऋतु जस्तो लाग्न थाल्यो । हरेक दिन २ घन्टा काम गरेर फर्किन्थ्यो । अनि बाँकी भएको ८ घन्टा च्याटमा हुन्थ्यौं । पहिलो पटक मायाको बगैँचामा पाहिला टेकेको थिए । म भित्रका रहर, उमंग, अनि भरोसाका रंगीचंगी पुतलीहरु सलबलाउन थाले, उसका हाँसोको काउकुती लाग्न थाल्यो, उस्को घायल नजरमा अलिकति लाज लाग्थ्यो । हर प्रहर बादल लागेको जस्तो कालो धुम्म बिचको कस्मकसमा प्रताडित त्यो अङ्ग आशासँगै जागृत हुँदै थियो । हामीबिच बिस्तारै माया प्रेमका कुरा हुन थाल्यो । थाहै नपाई उ मेरो खाली अङ्गमा बिराजमान भैसकेको रहेछ मेरो मुटु बनेर, उसकै लागि धड्कनथ्यो । मुटु त पहिले पनि थियो तर बेजान थियो । मैले फेर्ने हरेक सासमा उस्को गन्ध हुन्थ्यो । हातका औंलाले फेसबुकमा हरिया थोप्लो छ कि छैन भनेर पहिले खोजी सकेको हुन्थ्यो । ३ मिटर पर पनि उ हुनुको आभास गर्थ्यो मनले । उसको सुगन्ध चिन्थ्यो नाकले । म मात्र रहिन आदि उसकै भैसकेको थिए । उ मेरो बगैंचाको मात्र नभई मेरो सिङ्गो जीवनको माली बन्यो । मन त उहिले मिलेको थियोे अब तन मिल्न बाँकी थियोे । माया गर्ने मान्छे पाएपछि रहरहरु बढ्दा रहेछन् । साँच्चै उ मेरो भाग्यमा थियो । त्यसैले त मन मिलायो जीवनको उतराद्र्धमा नत्र कसैको जीवनको पुरै अङ्ग बन्ने आशामा चलेको जिन्दगी भाग्य नामको जन्तुले नै अन्तै मोडिदियो । कुनैदिन आफ्नो भाग्य सम्झेर दुःखको आँशु झार्ने म आज त्यही आँखाबाट खुशीको आँसु झार्दै छु फेरि आफ्नो भाग्य सम्झेर, कति महत्व रहेछ यो आँशुको बल्ल महत्व बुझे, हरेक मुल्यवान बस्तुले नै मुल्यवान हुनुको मुल्य सिकाउँदो रहेछ ।

दुई वटा मिति जीन्दगीमा कहिल्यै भुल्दिन म एउटा आमा भएको दिन अनि अर्को मेरो बुझाईमा वास्तविक बिहे भएको दिन । बैशाख महिना  मेरो जीन्दगीको अध्यायमा सुनौलो पाना थपिएको दिन, मरेर गए पनि जहिले अविस्मरणीय रहने छ त्यो मिति आत्मामा । मन र तन दुबै मिलेको दिन कसरी भुलुला र म । त्यो दिनबाट माली जि मेरो जीवनको पुर्ण माली बन्थ्यो, म उसकी पुरा अङ्ग हुँ जस्तो हुन थाल्यो, उ मेरो जीवनको बगैंचाको यस्तो फुल बन्थ्यो जस्लाइ म हरदिन रोप्न चाहन्थे आफैं सङ्ग ।

म बाँचेको समाजले कहाँ सजिलै गरी स्विकाथ्र्याे र मेरो मनको विवाहलाई पातकी, मातेकी आइमाईलाई  सुख कहाँ पच्थ्यो र त्यति ज्ञानी बुझ्ने श्रीमान हुँदा नि नपुगेर आफ्नो घरमा काम गर्ने छ्या त्यस्ताको नाम लिदा पनि पाप लाग्छ, राम–राम कलियुग कस्तो हुँदोरहेछ देखियो । यस्तै शब्द सुन्नु पथ्र्याे । नारीले पुरुष त जे गरे पनि सँधै चोखो चाहे गल्ती उसको पनि बराबर किन नहोस् । उ कम नै आसक्त थियोे मेरो मायामा तर म उसको मायामा पागल भएको थिए । त्यसैले उसको मायामा बदनाम हुन पनि तयार थिए । आइमाईको जातै यस्तो हो माया गरेसी बेपरवाह गर्छन् नत्र कहिल्यै गर्दैनन् । उ हाम्रो मायालाई ब्राण्ड बनाउन चाहन्थ्यो । उसलाइ लाग्यो महँगो चिज लामो समय सम्म टिक्छ, त्यसैले म उस्को लागी हिलो नै सरि तर हिलोको शोभा कमल फूल अनि भीरमा फुल्ने लालीगुँरास बन्न तयार भए । जुन एकचोटी फुलेपछी लामो समयसम्म पनि सुगन्ध फैलाइ रहन्छ । बाटाघाटा फुल्ने घडी फूल बनेर छिनमै उदाउने छिनमै अस्ताउने बनिन म पनि । उस्ले मेरो बगैंचाको स्याहार गर्न छोडेर गयो आफ्नो बाँकी भएको अन्य काम पूरा गर्न । उ बिदा माग्न आयो एकदिन । उस्ले मेरो हाँसोको पछाडी लुकेको मेरो आशुँ आँखाबाट नखसाल्दा पनि बुझ्यो । मनकोको इसारानै काफी रह्यो । सन्नाटा बीच उसको र मेरो  फेसबुक च्याट कम हुन थाल्यो । उसलाई हरियो थोप्लोले एक्टिभ देखाउँदा कहिलेकाही हेलो लेख्न छोडिन् मैले तर उस्को जवाफ एक दिनपछि आउथ्यो । कहिलेकाहीँ आउँदैन थियो । यस्ले अलिकति पिडा दिन्थ्यो मुटुमा तर पनि त्यो पीडा साह्रै आत्मीय लाग्थ्यो । प्रेम नै यस्तो चिज हो जहाँ पिडाले नै आनन्द अनुभूत गराउँथ्यो । उ मेरो अन्तस्करणमा चम्किने त्यस्तो हिरा हो जुन गैंडाको खाग भन्दानी अमूल्य रहनेछ अनन्त सम्म मेरो जीवनमा । उस्को परिवर्तनसँग मलाई कहिले गुनासो रहेन् । किनकी मैले जे पाएको थिए उ बाट ती सब अविस्मरणीय थियो ।

उ फूलहरुको बिज्ञ बन्दै थियोे, उसको आफ्नो सामाजिक छवी बन्दै थियो । म पनि उसको लायक बन्न उस्ले सिकाएका पद चाँप पछ्याउदै थिए कृष्णको भक्तिनी मिरा जस्तै बनेर । उसलाई पाप लागेपनी मलाई जहिले हाम्रो माया धर्मनै लाग्यो । धर्म यानी धारण गर्न लायक । भोकाएको पेटले न चर्च हेर्छ न मन्दिर । अतृप्ततालाई तृप्तता प्रदान गर्न सक्नु नै घर्म हो । मेरो मन पूर्ण तृप्त रह्यो मालीको मायामा !

उसको नाम, दामसँग मेरो कुनै सरोकार नै थिएन । निस्वार्थ गर्थे म उसलाई माया, संसारमा त्यस्तो तराजु बन्थ्यो जस्ले माया जोख्न सक्थ्यो भने देखाइदिन्थ्यो उसलाई मेरो मायाको तौल जुन उसको स्वर्गवास हुनुभएको आमाको भन्दा कमी नभएको । उसको मायाको दुर्व्यसनीमा यसरी फसे कि उसको मायाको पूर्नस्थापना केन्द्रमा मात्र म निको हुन्थे । कुनै पनि कार्य लगातार गर्न नसक्ने म उस्को यादमा डुब्ने काम भने लगातार रोक्नै सकिन । अवस्था पनि यस्तो भईदियो कि उसलाई नसुनी नदेखी महिनै बिताउनु पर्ने उ सायद आफ्नै काममा ब्यस्त थियोे त्यसैले मेरो बेलाबेलाको मेसेजको टुङटुङ आवाज उसलाई कर कर लाग्न थाल्यो, सायद मैले जति उसलाई कस्ले बुझेको थियो होला र त्यो मेसेज त उसको र मेरो दुरी नबढोस् भन्ने चाहना मात्र थियोे अक्सर मनको दुरीले सम्बन्ध रितिएको मैले बाहेक कसैले देखेको थिएन, उसलाई जिन्दगीभर खुशी देख्नु नै मेरो जीवनको लक्ष्य बन्थ्यो, उसको कायरता म देख्न सक्दिनथे । त्यसैले उसँग टाढा भए, उसैको बाध्यताको कारण म भागे जीवनबाट तर कति पनि गुनासो रहेनन् उसको बेवास्ता प्रती, न कुनै पश्चताप उ प्रतिको साँचो मायामा ।

उ प्रति सधैं आभारी नै रहे म । उसँग बिताएका ५ वर्ष स्वर्ण युग रह्यो मेरो स्मरणमा । कर्म त मैले पूरा गरेकै थिए, जुनसुकै सम्बन्धमा जुनसुकै परिस्थितिमा तर फेरि हारे म आफ्नै भाग्यसँग अनि विलीन भयो जीवन माटोमा तर एउटा निस्वार्थ माया गर्ने आत्माको अन्त्य भएन । सुरुवात भयो अर्को कहानीमा अर्को भाग्य बनेर । फरक पत्रताको बिचमा, माया कहाँ मर्छ र….

प्रतिक्रिया दिनुहोस्