मान्छे मारेउकी मानवता !
-प्रकाशचन्द्र परियार
अजित मिजार मारेउ,
पीडितहरु झिनो स्वरमा मात्र बोलिरहे !
कसैले सुनेनन्, सुन्नेले उडाए
किनकी यो उनीहरुको राज्य थिएन, उनीहरुले ‘मान्छे’को प्रमाणपत्रनै पाएका थिएनन् !
शिवशंकर दास मारेउ, मारेको चाल पनि काठमाडौंले ११ दिनमा मात्रै पायो,
किनकी काठमाडौं हत्तपत्त सुन्न चाहँदैन
संगीता परियार मारेउ, पीडितहरुले झिनो स्वरमा पनि बोल्न सकेनन्,
सुन्ने कुरै भएन त्यसै सेलायो
अस्मिता तोलांगी मारेउ
गाँउमै गुपचुप मिलायौ
नवराज विश्वकर्मा, टिकाराम सुनारहरु मारेउ
राज्यले सुन्ला कि जस्तो लागेको थियो
शासकनार्दन शर्माहरुले राजनीतिकरण गरेर
दोषीलाई उम्काउने खेल रचिसकेछन्
हामी मारेको त पर जाओस् मरेको पनि मन पराउँदैनौं
पशुपतिको सबैभन्दा बूढो हनुमान नामक बाँदर मर्दा
कान्तिपुरको एङ्कर न्यूज पढेर होइन
पशुपति अमालकोटमा शोक सभा हुँदा मैले आँसु चुहाएको थिइनँ, झरिसकेको थियो
मलाई प्राणी मरेको पनि मन पर्दैन !
तर मेरो राज्य हत्यामा ‘हर्ष बढाई’ गर्छ
किनकी जसको हत्या भयो उसँग मान्छेको प्रमाणपत्र छैन !
फगत उसँग मध्ययुगीन जात मात्रै छ ! जन्मजात !
|प्रकाशति मितीः १३ जेष्ठ २०७७, काठमाडौं|