चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डे : चीनसँगको सम्बन्धलाई अझ बढी पारस्परिक हित र भरपर्दाे बनाउने रणनीतिमा



१४ जेठ २०७७, काठमाडौं

विक्रम सम्बत् २००५ जेठ ६ गते बुधवार तत्कालिन पश्चिम १ नम्बर नुवाकोट  राउलस्वारा हालको लिखु गाउँपालिका–१ मा जन्मनुभएका महेन्द्रबहादुर पाण्डे २०४३ सालदेखि काठमाडौं महानगरपालिका वडा नं. ३२ कोटेश्वरमा बसोवास गरिरहनु भएको छ ।

बुवा फत्त बहादुर पाण्डे र आमा विष्णुमाया पाण्डेका ७ छोरी र ५ छोरा मध्ये माहिलो सन्तान पाण्डे आफैँका परिवारमा भने अहिले त्रिभुवन विश्वविद्यालयबाट सह–प्राध्यापकबाट सेवा निवृत्त हुनुभएकी जीवनसंगिनी भीम कुमारी थापा, छोरी लिवर्टी पाण्डे र छोरा विज्डम पाण्डे छन् । लामो समयदेखि छोरी अमेरिका बसोबास गर्ने भएकोले अहिले पाण्डे छोराको परिवार साथमै बस्नुहुन्छ ।

त्यो बेलाको नेपाली समाजको आम चरित्र झैँ मध्यम बर्गीय किसानी परिवारमा जन्मिई हुर्किनुभएका पाण्डेले विद्यालय भर्ना हुनुअघि ज्योतिष बुवाबाट चण्डी, गीता, रामगीता लगायतका धार्मिक पुस्तकहरु पढ्नु हुन्थ्यो । त्यसको साथसाथै जोड, घटाउ, गुणन, भाग जस्ता सामान्य गणितका कुराहरु सिक्नुभएका पाण्डेले तमसुक, दृष्टि बन्धक, मंजुरीनामा जस्ता कानुनी कुराहरु समेत सिक्नुभएको थियो । १४ वर्षको उमेरमा गाउँमै संचालन भएको प्रौढ कक्षाबाट अंग्रेजी अल्फाबेट सिक्नुभएका पाण्डे त्यहि वर्ष गाउँकै भैरवी मिडिल स्कूलमा कक्षा ४ मा भर्ना हुनुभयो । विद्यालयमा भर्ना हुनुपूर्व नै धार्मिक पुस्तक, प्रा.वि. तहको हिसाबकिताब गर्न सक्ने हुनाले अन्तिम परीक्षामा प्रथम भएपछि डबल प्रमोशन पाएर एकैपटक कक्षा ५ नपढी ६ कक्षामा पढ्ने अवसर पाउनुभयो ।

भागेका तिब्बतीहरुबाट कम्युनिष्ट पार्टीबारे पहिलो जानकारी
तत्कालिन समयमा नुवाकोट चीनको तिब्बतसँग सिमा जोडिएको जिल्ला हो । तिब्बतमा चिनियाँ कम्युनिष्ट पार्टीको शासन लागू गरेपछि त्यहाँका केही नागरिकहरु भागेर नुवाकोट आई सामान्य व्यापार गर्ने र मागेर खाने गर्दथे । बाल्य अवस्थाका पाण्डेले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो,“यी मान्छेहरु किन यहाँ आएका हुन् भनेर उनीहरुको बारेमा जान्ने कौतुहलता जाग्यो । बुझ्दै जाँदा कम्युनिष्ट पार्टीले निजि सम्पत्ति राख्न नदिएको तर गास, बास र कपासको व्यवस्था सरकारले नै गर्ने र शिक्षा, स्वास्थ्यको व्यवस्था पनि सरकारले नै गर्ने भन्ने उनीहरुबाटै बुझेँ । आफ्नै गाउँघरका आफूभन्दा विपन्न मजदुर र किसानहरुको अवस्था हेर्दा उनीहरु समेतको हितको लागि त कम्युनिष्ट पार्टी नै ठिक रहेछ भन्ने लाग्यो । त्यसपछि चिनियाँ कम्युनिष्ट पार्टीका कथा तथा अन्य प्रकाशनहरु अध्ययन गर्न थालेँ ।”

त्यति बेलाको नुवाकोट जिल्लाको एकमात्र माध्यमिक विद्यालय त्रिभुवन त्रिशुली हाइ स्कूल त्रिशुलीमा कक्षा ८ भर्ना हुनुभएका पाण्डे १७ वर्षकै उमेरमा कक्षा ८ मा पढ्दै निर्विरोध रुपमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को उपसभापति बन्नुभयो । चिनियाँ कम्युनिष्ट पार्टीबाट प्रभावित पाण्डे त्योबेला आफूमा कम्युनिष्ट चेनता विकास भई रहेको बताउने पाण्डे पढाई सँगसँगै राजनीतिमा सक्रिय भई दोश्रोवर्ष चुनावी प्रतिष्पर्धाबाटै स्ववियु सभापति बन्नुभयो ।

स्कुले जीवनमै पंचायत विरुद्धको आन्दोलनमा सहभागी
२०२१ सालदेखि नै पंचायत विरुद्ध होमिनुभएका पाण्डे क्याम्पस पढ्न काठमाडौं आएपछि तत्कालिन कम्युनिष्ट पार्टीका नेता कृष्ण दासको सम्पर्कमा पुग्नुभयो । २०१९ सालमा कम्युनिष्ट पार्टीको महासचिव तुल्सीलाल अमात्य भएपछि कम्युनिष्ट पार्टीमा औपचारिक फुटको शुरुवात भएको बताउँने पाण्डे तत्कालिन कम्युनिष्ट नेताहरु मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको समूहमा आवद्ध हुनुभएन ।

कम्युनिष्ट नेताहरु भएपनि भारत परस्त र दरबार परस्तको आरोप एक अर्कामा लगाईरहेका दुवै नेतालाई छोडेर युवा उमेरका पाण्डेले दुवै समूहबाट टाढा रहेका कृष्ण दासलाई महासचिव बनाएर २०२५ सालमा नेपाल कम्युनिष्ट पार्टी (माओविचारधारा) स्थापनामा सहभागी बन्नुभयो ।

पाण्डे सहितको नेकपा माओ विचारधारामा देशका विभिन्न भू–भाग समेटेर ११ जनाको केन्द्रिय कमिटी गठन गरेको बताउनुभयो । आफ्नो पार्टीले स्थापनाको छोटो समयमा मुखपत्रको रुपमा “क्रान्तिदूत” नामक पत्रिका प्रकाशन गरी त्यसैमार्फत पार्टी गतिविधि र पार्टीका विचारहरु सम्प्रेषण गर्ने गरिएको बताउनुभयो । पाण्डे समेतको पार्टीले माओ विचारधारा अङ्गीकार गरेको भएपनि तत्कालिन अवस्थामा झापाली कम्युनिष्ट आन्दोलनप्रति आफ्नो पार्टीको समर्थन नभएको अनुभव सुनाउनुभयो । पार्टीले झापा आन्दोलनलाई “वर्ग संघर्ष प्रतिको स्प्रीट र जुझारु भावना राम्रो भएपनि तत्कालिन अवस्थाको बर्ग शत्रु खत्तमको क्रियाकलापलाई अपरिपक्क अवस्थाको अपरिपक्क काम”को संज्ञा दिएको थियो । माओको क्रान्तिकारी विचार बोकेर पनि किन झापा आन्दोलनको समर्थन गर्नुभएन भन्ने प्रश्नमा पाण्डे भन्नुहुन्छ, “क्रान्तिको परिस्थिति परिपक्व नहुँदै र राम्रो तयारी बिनै हिंसात्मक आन्दोलन थाल्ने हो भने पंचायतले सबै क्रान्तिकारीहरु सक्छ भन्ने हाम्रो धारणा थियो ।”

पार्टीको केन्द्रिय सदस्य हुँदै प्राध्यापनमा संलग्न
नेपाल कम्युनिष्ट पार्टी (माओविचारधारा) को केन्द्रिय कमिटी सदस्य हुँदै २०२९ सालदेखि लैनचौर स्कूलमा पढाउने गर्नुभएका पाण्डेले २०३० सालमा लोकसेवा आयोगमा अधिकृतको लिखित परीक्षामा नाम निकाल्नुभयो । नाम निस्किएपछि २ घण्टा लामो अन्तरवार्ता फेस गर्नुभएका पाण्डेले एक हप्तापछि बाटोमा अन्तरवार्ता लिने विशेषज्ञ हेमचन्द्र श्रेष्ठसँग भेट हुँदा प्रहरी रिपोर्ट राम्रो नभएकोले रिजल्ट आफ्नो पक्षमा नआउने बताएपछि आफ्नै गाउँको प्रहरी अधिकृतलाई भेटेर कफी गफ गर्दा उनले भने,“भर्खरै राजा भएका युवा राजाको नेतृत्वमा पंचायती व्यवस्था र राजालाई मान्दै राष्ट्रिय उन्नतीमा लाग्छु भन्ने व्यहोराको निवेदन गृह मन्त्रालयमा बुझाउनुपर्छ । त्यसबारे जाँचबुझ गर्ने गृह मन्त्रालयमा एउटा समिति छ, त्यसले जिल्ला प्रहरीलाई चिठ्ठी पठाउँछ र त्यसपछि मात्र प्रहरी रिपोर्ट सच्चिने जानकारी पाएँ ।”

पाण्डे भन्नुहुन्छ,“बेलुका कोठामा आएर सोचे एउटा शाखा अधिकृतको जागिर खान राजा मान्छु, पंचायती व्यवस्था मान्छु भन्ने दुनियाँमा कहिँ हुन्छ भन्दै सरकारीे जागिर खाने विचार छोडिदिएँ ।”

प्राध्यापन पेशाको संलग्नताबारे सोधिएको प्रश्नमा पाण्डेले सुनाउनु भयो,“आफ्नै गाउँको कट्टर राजावादी पञ्च गृह सहायक मन्त्री भएपछि विभिन्न बहानामा मलाई निकै दु:ख दिन थाले । धेरै दु:ख दिएपछि साथीहरुले कुनै न कुनै निकायभित्र घुस्नुपर्ने सुझाव दिनुभयो र म २०३१ सालदेखि त्रिभुवन विश्वविद्यालयमा पढाउन थालेँ । बढीमा २÷४ वर्ष जागिर खाने सोचले त्रिभुवन विश्वविद्यालय छिरेको आखिर २० वर्ष जागिर खाईयो ।”

नेतृत्वप्रति सन्तुष्ट नभएर २०३३ सालमा नेकपा माओवादी विचारधारा छोड्नुभएका पाण्डे त्यसपछि नेकपा मालेमा जोडिनुभयो । विश्वविद्यालयमा प्राध्यापन गर्दै पार्टीको बुद्धिजिवी विभागमा बसेर काम गर्नुभयो । ०४२ सालमा सह–प्राध्यापकको लागि दिएको निवेदनको अन्तरवार्तामा दिल्ली र पंजाव विश्वविद्यालयबाट आएका २ प्राध्यापक समेत सहभागी विशेषज्ञ टिमले अन्तरवार्ता लिएकोले आफू २०४७ सालमा सह–प्राध्यापकमा छानिनुभयो । अन्यथा त्योबेला पनि पंचायत विरोधी प्राध्यापक भनेर छानिने अवस्था नरहेको बताउनुभयो ।

विश्वविद्यालयमा प्राध्यापनको अलावा के गर्नुभयो भन्ने प्रश्नमा,“२०१९ सालमा स्थापना भएको नेपाल प्राध्यापक संघ २०३६ सालको विद्यार्थी आन्दोलन सँगै प्रगतिशील प्राध्यापकको कब्जामा ल्यायौँ । प्राध्यापकहरुले खुलेर कम्युनिष्ट राजनीति गर्न नमिल्ने भएकोले हामीले प्राध्यापकहरुले गोप्य संरचना ‘न्युक्लियस’ गठन गरेका थियौँ । न्युक्लियसमा विभिन्न कम्युनिष्ट घटकमा आस्थावान म सहितका प्राध्यापकहरुको ७ सदस्यीय कमिटी थियो । जसले प्राध्यापकहरुको चुनावमा घोषणापत्र बनाउने, आफ्ना उम्मेद्वारहरुलाई जिताउने र कम्युनिष्ट पार्टीको पक्षमा प्राध्यापकहरुको समर्थन रहेको देखाउने काम गथ्र्याे र निरकुंश पञ्चायती व्यवस्थाको अन्त्य नगरी प्राज्ञिक स्वतन्त्रता समेत नहुने भएकोले प्राज्ञिक जगतलाई पञ्चायतको विरुद्धमा लाग्ने, लगाउने र आम जनतामा यसको प्रभाव पुर्‍याउने काममा क्रियाशील भयौं । यसका साथै युवा विद्यार्थीहरुलाई मार्क्सवादको बैचारिक खुराक प्रदान गर्ने र संगठनात्मक काममा लगाउने, सक्रिय बनाउने र पञ्चायत विरुद्ध सचेत जनमत तयार गर्ने काममा सशक्त रुपमै लागियो ।”

त्रिविको प्राध्यापक हुँदै संसदीय निर्वाचनमा उम्मेद्वारी
२०४७ सालको संविधानमा प्राध्यापकले चुनाव लड्नै नपाउने कुनै व्यवस्था समावेश भएको थिएन । तर निर्वाचन ऐन बनाउनेले निर्वाचन लड्न प्राध्यापकले पनि राजीनामा दिनुपर्ने व्यवस्था गर्‍यो । यो कानुनी व्यवस्था विरुद्ध रिट हालेर अन्तरिम आदेश सहित २०४८ सालको  निर्वाचन लड्नु भएको थियो । त्यो मुद्दा छिनिदा विश्वनाथ उपाध्यायको नेतृत्वको विशेष बेञ्चले प्रतिनिधि सभाको निर्वाचन लड्न राजीनामा दिनुपर्ने तर राष्ट्रिय सभाको निर्वाचन लड्न भने प्राध्यापक भएर नै लड्न पाउने संविधान विरोधी फैसला गर्‍यो । त्यसपछिको २०५१ सालको निर्वाचनमा भने राजीनामा दिएर नै लड्नु भएको थियो । चुनावमा थोरै मतले पराजित हुनुभएका पाण्डेलाई तत्कालिन नेकपा एमालेको ९ महिने सरकारमा ९ महिनै समाज कल्याण परिषद्को सदस्य–सचिव बन्ने अवसर समेत मिल्यो । त्यसबेला उहाँ पूर्णकालीन राजनीतिमा सक्रिय हुनुभएको थियो ।

पार्टी विभाजनपछि जिल्लाको राजनीतिमा
नेकपा एमालेको केन्द्रिय बुद्धिजिवी र शिक्षा विभागमा लामो समय क्रियाशील रहनुभएका पाण्डे २०५४ सालमा तत्कालिन नेकपा एमाले विभाजन भएपछि जिल्ला पार्टी राजनीतिमा सक्रिय हुनुभयो । पार्टी विभाजनले बागमती अञ्चलको नुवाकोट जिल्ला पार्टीलाई ठूलो धक्का लाग्यो । एमालेबाट निर्वाचित १ सांसद सहित जिल्ला पार्टी सचिव नै फुटेको मालेमा लागेपछि काठमाडौंका सबै जिम्मेवारी छोडेर नुवाकोट गई नेकपा एमालेको जिल्ला पार्टी सचिवको जिम्मेवारी लिनुपर्‍यो ।

२ वर्ष पार्टीमा निकै मेहनत गरेर काम गर्नुभएका पाण्डे २०५६ सालको निर्वाचनमा आफू क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनभयो भने अर्को १ नम्बर क्षेत्रमा समेत एमाले उम्मेद्वारलाई जिताउन सफल हुनुभयो । क्षतविक्षत भएको पार्टी जिल्लाबाट २ सांसद जिताउन सफल पाण्डेलाई त्यहि कार्यकालमा पार्टीले संसदमा मुख्य सचेतकको जिम्मेवारी दियो ।

पार्टीको छैटौ महाधिवेशनबाट पार्टीको बैकल्पिक केन्द्रिय सदस्य हुँदै केन्द्रिय कमिटी सदस्य चुनिनुभएका पाण्डे नेकपा एमालेको आठौं महाधिवेशनदेखि पोलिटब्युरो सदस्य बन्नुभयो । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणपछि पोलिटब्युरो गठन हुन बाँकी रहेकोले अहिले पाण्डे पार्टी केन्द्रिय सदस्यको जिम्मेवारीमा मात्र रहनुभएको छ ।

२१ महिने परराष्ट्र मन्त्री
आन्दोलनको बलमा २०७० सालमा सांसद बन्नुभएका पाण्डे नेपालको परराष्ट्र मन्त्री बन्नुभयो । आफ्नो २१ महिने कार्यकालमा गरेको मुख्य कामबारे बताउँदै पाण्डे भन्नुहुन्छ,“परराष्ट्र मन्त्रीको हैसियतले पहिलो पटक म्यानमारले आयोजना गरेको बिमिस्टेक सम्मेलनमा सहभागी भएँ ।

पराराष्ट्र मन्त्रालय भित्रकै चीन र भारतसँग वार्ता गर्ने मन्त्रीस्तरीय संयन्त्र छ, उक्त संयन्त्र मार्फत भारतसँग वार्ता नभएको २३ वर्ष भएको रहेछ । मैले भारतीय विदेशमन्त्रीलाई काठमाडौं आमन्त्रण गरी दुईदेश बिचका धेरै बिषयमा छलफल गरी मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाई दिन सफल भएको थिए । त्यहि छलफलबाट भारतसँग सीमा लगायतको विविध विषयमा समस्या टुङ्ग्याउने निर्णय गर्‍यौं । त्यो बेलामा भारत पाकिस्तानको सम्बन्ध राम्रो थिएन । १ वर्ष ढिला भईसकेको सार्क सम्मेलन काठमाडौंमा सफलतापूर्वक सम्पन्न गराएँ । सम्मेलनको उपलब्धि भन्दापनि त्यो बेला भारत–पाकिस्तानका प्रधानमन्त्रीले हात मिलाउनु नै उपलब्धिमूलक जस्तो भयो । जसले भारत–पाकिस्तानको सम्बन्ध राम्रो हुन भूमिका खेल्यो । त्यसैगरी असंलग्न राष्ट्रको सम्मेलन ग्रुप अफ ७७ चीन, महिला सशक्तिकरण एवम् महिला हिंसा अन्त्य लगायत थुप्रै अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको सहभागीता मात्र होइन सशक्त भूमिका खेलेर सकारात्मक योगदान गर्न र नेपालको शिर उचो राख्न सफल भएँ ।”

मन्त्री भएपछि मात्र चीनको भ्रमण
चीन भ्रमणबारे सोधिएको प्रश्नमा पाण्डेले आफ्नो अनुभव सुनाउँदै भन्नुभयो, “नेपाल सरकारको परराष्ट्रमन्त्री भएपछि भेट्न आएका चिनियाँ राजदूतले कतिपटक चीन घुम्नुभयो भन्ने प्रश्न गर्नुभयो । मैले जवाफ दिएँ–तपाईहरु वा नेपाली तर्फबाट कसैलाई चीन घुमाईदिनु पर्‍यो भन्नुपर्ने रहेछ, मेरो स्वभाव त्यस्तो नभएकोले मैले आजसम्म चीनको माटो टेकेको छैन । काम नपरी घुम्ने बानी नभएकोले काम परे कुनैदिन घुमौंला भन्ने जवाफ दिएँ ।” मन्त्री भएको समयमै द्विपक्षीय वार्ताको लागि म बेईजिङ्ग गएँ । अहिलेकै परराष्ट्रमन्त्री त्यो बेलापनि पराराष्ट्रमन्त्री हुनुहुन्थ्यो । उहाँलाई पनि द्विपक्षीय वार्ताकै लागि काठमाडौं निमन्त्रणा गरेको र काठमाडौंमा सो द्वपक्षीय वार्ता सम्पन्न गरेको थिएँ–पाण्डेले बताउनुभयो ।

काम नपरी विदेश भ्रमण नगर्ने स्वभावका पाण्डे परराष्ट्र मन्त्रीको कार्यकालपछि काम विशेषले एकपटक चीन पुग्नुभयो । नेतालाई भनेर विदेश घुम्ने स्वभाव छैन अब राजदूत भएपछि केहि ठाउँहरु घुम्नुपर्ला भन्दै हाँसेर जवाफ दिनुभयो ।

औपचारिक शिक्षा
पाण्डेले औपचारिक शिक्षामा त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक (एल एल बि.) र शिक्षा विषयको अंग्रेजीमा स्नातकोत्तर (एम एड) गर्नुभएको छ । २०५८ सालमा तत्कालिन प्रधानमन्त्रीको सिफारिसमा राजाले संसद भंग गरेको समयमै बेलायती सरकारले प्रदान गर्ने चिभ्निङ्ग छात्रवृत्तिमा नाम निकालेर पाण्डेले बेलायतमा द्वन्द व्यवस्थापन विषयमा ३ महिना समेत पढ्ने अवसर पाएको बताउनुभयो ।

शिक्षामा संस्थागत योगदान

आफू जन्मे हुर्केको रावलस्वारा गाउँमा वहाँकै पहलमा विद्या निकेतन प्रावि २०३२ सालमा स्थापना गर्नुभयो । २०३८ सालमा दोलखाको गौरीशंकर बहुमुखी क्याम्पसको संस्थापक क्याम्पस प्रमुख हुनुभयो र सो क्याम्पस स्थापनामा योगदान पुर्‍याउनुभयो । २०४७ सालमा काठमाडौंको कोटेश्वरमा कोटेश्वर बहुमुखी क्याम्पस स्थापना गर्न सक्रिय रही नि:शुल्क प्राध्यापन सहित झण्डै डेढ दशक त्यस क्याम्पसको व्यवस्थापनमा नेतृत्व गर्नुभयो । हाल सो क्याम्पसको आफ्नै जग्गा र भवन सहित निर्माण सम्पन्न भएको  र झण्डै चार हजार विद्यार्थी अध्ययनरत रहेको पाईन्छ ।

हाल गठन आदेशबाट कार्य अगाडि बढीरहेको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनार्थ पनि उहाँको विशेष योगदान रहेको देखिन्छ । यसरी विद्यालय, क्याम्पस, विश्वविद्यालय स्थापना र संचालन मात्र नभएर शिक्षाको गुणात्मक विकास गर्नुपर्छ भन्ने अभियानमा समेत सक्रियतापूर्वक लागिरहनु भएको छ । यसबाहेक देशका धेरै क्याम्पसहरु स्थापनामा समेत उहाँको योगदान रहेको बुझिन्छ ।

पाण्डे भर्खरै ७३ वर्ष लाग्नु भएको छ । वास्तविक उमेरभन्दा युवा देखिने पाण्डे राजबारे हाम्रो प्रश्नमा,“म चुरोट, बिडी, रक्सी, बियर, गुट्का, सुपारी केहि खान्न । घरमा हुँदा सधैभरि खाजामा भुटेको मकै, भट्मास र बदाम खान्छु । जंक फुट केहि खान्न ।” त्यसैले होला नि !

कोरोना राजनीतिबारे पाण्डेको धारणा
माक्र्सवादी वा कम्युनिष्टहरु विज्ञानमा विश्वास गर्दछन् । त्यसैले कोरोनाको उत्पति र निराकरणबारेको खोज गर्ने जिम्मा बैज्ञानिक वा अनुसन्धान निकायले गर्ने काम हो । कोरोना भाइरसको उत्पत्तिबारे अमेरिकाले दावी गरेजस्तो जैविक प्रयोगशालाको उपज होईन् । यो प्राकृतिक रुपमा उत्पति भएको भाईरस हो र यसको निर्मूल गर्न बैज्ञानिकहरु छिट्टै सफल हुनेमा म विश्वस्त छु । कोरोना भाईरस चिनियाँ भू–भागबाट शुरु भएपनि चिनियाँ सरकारको बुद्धिमत्तापूर्ण शाहसिक कदमले चीनमा तत्काल नियन्त्रण भएको र पश्चिमाहरुले मानवअधिकारको हौवा दिएर व्यक्तिगत स्वतन्त्रताको कुरा गर्नाले हजारौँको जीवन खरानी बनाएको समेत दावी गर्नुभयो ।  कोरोना रोकथाम र नियन्त्रणको लागि चिनियाँ सरकारले गरेका प्रयत्न र सफलताहरु प्रशंसनीय भएकोले त्यसबाट बाँकी विश्वले सिक्न जरुरी रहेको समेत पाण्डेको बुझाई छ ।

कोरोना भाइरसबारे पूँजीवादीहरु प्रति कडा देखिनुभएका पाण्डेले भन्नुभयो, “पूँजीवादी देशहरुको अरुलाई गाली गरेर मानव जीवनसँग आर्थिक उपार्जन साट्ने मानवअधिकार भन्दा मानव जीवन बचाउँन चिनियाँ सरकारले अपनाईएको बन्दाबन्दी बढी प्रभावकारी देखिएको बताउँदै पहिले मान्छे बचाउनुपर्छ र त्यसपछि मात्र अरु अधिकारको विषय आउनुपर्छ । कोरोना भाईरसमा राजनीति गर्नु उपयुक्त होईन् ।”

सीमा विवादबारे
चीन र नेपालबिच सीमा विवाद नहुनुमा चीनतर्फ नेपाली भू–भाग सिमांकन भएको कारणले पनि हो । अर्को भनेको चिनियाँ नीति अहिले शान्ति र मित्रतामा आधारित छ र नेपालको नीति समेत शान्ति, मित्रता र समृद्धि भएकोले हामी बिचमा समानता छ ।

नेपाल सरकारले जारी गरेको नयाँ नक्सामा भारतले ओगेटेको भूमी समेट्न अघिल्ला सरकारले पहल गर्नुपर्नेमा त्यसो नगरेको कारणले अहिले गर्नुपरेको हो । नयाँ नक्साको बिषयमा नेपाल–भारत बसेर छलफलको माध्यामले भारतले कब्जा गरेको नेपाली भूमी फिर्ता ल्याउनुपर्छ । सीमाको एउटा भागमा त्रिदेशीय सीमा समेत पर्ने भएकोले त्यो बेलामा नेपाल भारतको कुरा मिलेपछि चीन सहित भएर त्रिदेशीय ढंगले समेत बस्नुपर्ने हुन्छ । यसबारे चिनियाँ धारणा बारे म अहिले बोल्न सक्दिन, म चीन गएर चिनियाँ साथीहरुसँग तथ्य र प्रमाणको आधारमा छलफल गरेपछि मात्र चिनियाँ धारणा भन्न सक्छु । तर चीनले हामीसँग र हामीले चीनसँग आशंका गर्नुपर्ने कुनै ठाउँ नभएको पाण्डेको बुझाई छ ।

चिनियाँ राजदूतको रुपमा आफ्नो भूमिका
चीनका लागि नेपालको राजदूतको रुपमा तपाईको भूमिका के हुन्छ भन्ने प्रश्नमा,“ नेपाल र चीन दुवै सार्वभौमसत्ता सम्पन्न मुलुकहरु हुन् । अहिले नेपाल र चीनको सम्बन्ध अत्यन्तै सुमधुर छ । मेरो भूमिका अहिलेको सम्बन्धलाई अरु बलियो बनाउने, अरु विश्वास योग्य र भरपर्दो बनाउने हो । यसको साथसाथै कतिपय अन्तराष्ट्रिय मुद्दाहरुमा सँगसँगै जाने र बोल्न सक्नेतर्फ पनि हामीले सोच्नुपर्ने भएको छ । चीन बिस्तारै पहिलो अर्थतन्त्र हुने बाटोमा गएको छ । एक्काइसौं शताब्दी चाहिँ एशियाली शताब्दी भन्छन् त्यसको लिड गर्ने मुलुक भनेको चीन नै हो । त्यसैले चीनको विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्य र विकास निर्माणका कुराहरुबाट हामीले सिक्नुपर्छ । शक्तिशाली बन्दै गएको चीनले नेपालको विकास निर्माणमा सघाउनु सामान्य होला तर सँधै हामीले हात थापी रहने होईन् । हामीले चिनियाँ प्रविधि, ज्ञान र अनुभवलाई शेयर गर्ने हो । हामीपनि स्वतन्त्र राष्ट्रको रुपमा काम गर्दै चीन, भारत र अमेरिकालाई पनि सहयोग गर्ने हिसाबले आफूलाई विकास गर्ने परिवेश निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ ।”

(यो आलेख परिवर्तन खबर र एसिया प्यासिफिक डेलीको सहकार्यमा तयार पारिएको हो ।)

प्रतिक्रिया दिनुहोस्